सहकारीको आवरणमा सर्वसाधरणबाट डेढ करोड ठगी गरेर टिफर किन्ने धादिङका कँडेल जेल चलान !

दियो पोस्ट  

काठमाडौं । नयाँबजारस्थित मिनि बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा प्रबन्धक समुन्द्र सागर कँडेल जेल चलान भएका छन् । बचतकर्ताको डेढ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको थियो ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमल प्रसाद ज्ञवालीको इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ घर भएका कँडेल गत गत चैत्र १४ गते गजुरीबाटै पक्राउ परेका थिए । ईलाका प्रहरी कार्यालय गजुरीले उनलाई पक्राउ गरि काठमाडौं पठाएको थियो । उनीसहितका सहकारी संचालकहरुले सर्वसाधरणको एक करोड ६० लाख ५२ हजार २ सय ५९ रुपैयाँ ६७ पैसा ठगी गरेको आरोपसहितको अभियोग पत्र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा पेश गरेको थियो ।

सहकारीका अध्यक्ष पदमा कार्यरत ३६ वर्षिय राममणी त्रिपाठी लगायत अन्य पदाधिकारी फरार छन् । फरार हुनेहरुमा धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६ घर भएका सचिव पदमा कार्यरत प्रमोद सिलवाल, वडा नम्बर ७ भर भएका कोषाध्यक्ष प्रविन सिलवाल, गल्छी गाउँपालिका २ भर भएकी सदस्य प्रमिला अधिकारी, बेनिघाट ३ घर भएकी सदस्य सुलोचना सिलवाल र धादिङकै सिद्धलेक गाउँपालिका वडा नम्बर ६ घर भई सहकारीको सदस्य पदमा कार्यरत प्रकाश पन्त रहेका छन् । उनीहरु विरुद्ध प्रहरीले ठगी मुद्दा दर्ता गरि पक्राउ पूर्जी जारी गरेको भएपनि पक्राउ भने प्रबन्धक पदमा रहेका कँडेल मात्रै परेका छन् ।
अभियुक्तहरु विरुद्ध एक सय २७ जना पीडितहरुले जाहेरी दिएका छन् ।

पीडित मध्येका दिपक त्रिपाठी र बाबुराम कार्कीले प्रहरीमा दिएको बयान अनुसार सहकारीका प्रबन्धक तथा उपाध्यक्ष कँडेलले ठगी गरेर आफ्नो नाममा प्रदेश ३–०३–००१ ख ५९३ र ५९४ नम्बरको ट्रिफर समेत खरिद गरेका थिए ।