काठमाडौं । पूर्वमाओवादीहरु मिल्नुपर्ने र मिल्न सकिने अभिव्यक्तिहरु सार्वजनिक भइरहेकै बेला माओवादी जनयुद्धकालीन तीन शीर्ष नेताहरु बुधबार पोखराको एउटै मञ्चमा देखिएका छन् । १० वर्षे जनयुद्धको क्रममा सेनाबाट बेपत्ता पारिएका पूर्ण पौडेलको ‘स्मरण तथा प्रतिष्ठान गठन’ को लागि आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका महासचिव देव गुरुङ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ एउटै मञ्चमा देखिएका हुन् ।
कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलतालाई जनता र युवाको असन्तुष्टिको रुपमा अथ्र्याए । उनले असन्तुष्टि संवोधन नभए देश अराजकतामा फस्ने जिकिर पनि गरे । ‘देशमा चरम असन्तुष्टि छ । केही समय यताका परिघटनाहरु हेर्नुहोस् वा उपनिर्वाचनलाई हेर्नुस् । जुन प्रकारका असन्तुष्टिहरु व्यक्त भइराखेका छन् । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने, ‘यो केही पनि होइन भनेर टाल्ने प्रयत्न गर्नुहुँदैन। यो गम्भीर प्रकारको ज्वालामुखी विष्फोटको संकेत हो । बेलैमा हामी कहाँ–कहाँ सच्चिनुपर्छ सच्चिऔं ।’
उनले अहिले देखिएको असन्तुष्टि सुविचारित नभएकोले यसको गन्तब्य कहाँ हो भन्ने स्पष्ट नभएको पनि बताए। जनताले सुशासन र समृद्धि चाहेको र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । उनले क्रान्तिकारीहरुलाई अहिलेको भीडले आतंककारी र दलाल भन्दै बदनाम गर्न खोजेको जिकिर पनि गरे ।
‘क्रान्तिकारीलाई हत्यारा र आतंककारी, दलाल भनेर बदनाम गर्ने काम भइरहेको छ यो सही होइन,’ उनले अमेरिकालगायतका देशका क्रान्तिको उदाहरण दिँदै भने, ‘अन्य देशमा क्रान्ति गर्दा महान नेता हुने अनि हाम्रो देशमा क्रान्ति गर्ने चाहिँ हत्यारा, दलाल र आतंककारी हुने ? यो हुनसक्दैन ।’ आफू प्रधानमन्त्री हुँदा सत्य निरुपण, मेलमिलाप तथा बेपत्ता छानविन आयोग बनाएर द्वन्द्वकालीन मुद्दा हल गर्ने प्रयत्न गरे पनि सफल नभएको बताउँदै अहिले भएको सहमतिले संक्रमणकालीन न्यायसम्बन्धी विवाद समाधान हुने विश्वास व्यक्त गरे । विधेयक पारित गर्दै दुई वर्षभित्र सबै काम सक्नुपर्नेमा उनको जोड थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले देशमा एकाधिकारवादी पूँजीवाद हाबी भएकाले समस्या निम्तिएको बताए । ‘नेपालमा राजनीतिक सामन्तवाद मात्र अन्त्य भएकोहो, आर्थिक–सामाजिक सामन्तवाद बाँकी नै छ,’ उनले भने। उनले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि नेपालका कम्युनिष्ट र गैरकम्युनिष्टबीच सहकार्य जरुरी रहेको बताउँदै नेपाल शक्तिराष्ट्रको भुमरीमा नपरोस् भन्नेमा सचेत हुनुपर्ने पनि बताए।
‘परिस्थितिको ठीक ढंगले विश्षेण गर्न सकिएन भने राष्ट्रिय अस्मितालाई ध्वस्त पार्ने खतरा रहन सक्छ। जसले राष्ट्रिय अस्मितालाई खण्डन गर्दिन सक्छ,’ उनले भने, ‘ राष्ट्र नै अप्ठ्यारो परेको अवस्थामा सत्ता र प्रतिपक्षको नामा तानातान र मारामार गरेर अस्थिरता मच्चाउन थाल्ने हो भने देशको राष्ट्रिय अस्मितालाई नै खण्डित पारिदिन सक्छ ।’ कम्युनिष्टहरुबीच तत्कालको लागि समाजवादी मोर्चा बनाएर सहकार्य अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपालमा संसदीय व्यवस्था असफल भइसकेको र नेतारकार्यकर्ता सबै पैसाको पछि लागेको जिकिर गरे । ‘पैसाबाट किनिएको भोट छ, पैसाबाट किनिएको नेता छ, पार्टी छ, महिना, दुई महिनामा सरकार परिवर्तन भइरहन्छ, अस्थिरता छ,’ उनले भने, ‘यसो हुनुको कारण भनेको संसदीय असफलता हो । यसले नेपाल नचाहेर पनि युक्रेन बन्ने खतरा छ।’
संसदीय व्यवस्था असफल हुनुको कारण प्रगतिशील विचारधाराको कमी रहेको उनको भनाइ थियो । उनले माओवादी विचारधारा भने असफल नभएको जिकिर पनि गरे । ‘अहिले केहिले माओवादी असफल भयो भन्छन्’, उनले भने, ‘तर माओवादी असफल भएको होइन, संसदीय व्यवस्था असफल भएको हो ।’ नत्र माओवादीलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दिएर हेर्नुहोस्, असफल हुन्छ कि सफल ?,’ उनले थपे।
सरकार कुन चाहिँ माओवादीले चलाउने भन्नेबारे भने उनी प्रष्ट भएनन्। बरु उनले समाजवादी यात्रा तय गर्नुपर्ने र कस्तो समाजवाद भन्नेबारे बहस चल्नुपर्ने बताए ।
एकै मञ्चमा देखिएका बाबुराम, विप्लव र देव गुरुङ माओवादीले तत्कालीन समयमा गरेको जनयुद्ध सही भएको मात्र बताएनन्, सत्य निरुपण, मेलमिलाप तथा बेपत्ता छानविन आयोगमार्फत् द्वन्द्वकालीन मुद्दा टुंग्याउनुपर्नेमा सहमत देखिए । २०५९ वैशाख १३ गते बेलुका सुरक्षाकर्मीद्वारा काठमाडौंको कालिमाटीबाट गिरफ्तार गरिएका पूर्ण पौडेलको अवस्था अज्ञात छ। उनी तत्कालीन नेकपा (माओवादी) को भातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रीय महासचिव थिए ।