काठमाडौं । घुस सहित कर्मचारी पक्राउ परेपछि उद्योग विभागका उच्च अधिकारी नै तनावमा परेका छन् । उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत र कार्यालय सहयोगी घुससहित पक्राउ थिए । शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापालाई ४९ हजार ५ सय रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो ।
ट्रेडमार्क दिने क्रममा सेवाग्राहीबाट घुस लिएको उनीहरुमाथि आरोप छ । तर, घुस लिने कर्मचारीको कार्यालय प्रमुखसम्म सेटिङ भएपनि उनीमाथि कुनै कारबाही भएको छैन ।
स्रोतका अनुसार उद्योग विभागका कर्मचारी घिमिरेको सम्बन्ध विभागकै महानिर्देशक बाबुराम गौतमसम्म छ । तर गौतममाथि अख्तियारले निगरानी गरेपनि पक्राउ भने गरेको छैन ।
विहिबार अख्तियारको छापापछि नियमित काम समेत प्रभावित भएको छ । अनियमितताको पोल खुल्दै जाँदा उच्च अधिकारीसम्म पुग्ने डरले विभागका महानिर्देशक गौतम तनावमा आएका छन् । स्रोतका अनुसार अख्तियारको हिरासतमा रहेका कर्मचारीले महानिर्देशक गौतमको समेत नाम लिएका छन् । तर, गौतम भने अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष शक्ति लगाएर आफू उम्कने कोशिसमा छन् ।