एसपी आभूषण तिम्सिनाले किन दिए राजीनामा ?

दियो पोस्ट  

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा छुटेपछि असन्तुष्ट बनेका एसपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै राजीनामा दिने निर्णयमा पुगेको उल्लेख गरेका छन् ।

२०५६ असार ३ बाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका तिम्सिनाले लेखेका छन्,‘ नेपालको संविधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, विभेद, नातावाद, कृपावादको माखे साङ्लोबाट नेपाल प्रहरीका क्षमतावान्, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरू कहिले मुक्त हुने र कानुनले नचिनेका शक्तिकेन्द्रहरू धाउने क्रम कहिले अन्त्य हुने भन्ने ठुलो प्रश्नको बोझले नेपाल प्रहरीका कर्मचारीहरू कहिले मुक्त हुने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास कहिले सार्थक हुने ?’ उनले आफूलाई सङ्गठनले अन्याय गरेको उल्लेख गरेका छन् ।