वर्षौंपछि भक्तपुरको दुवाकोट सडकखण्ड कालोपत्रे

अस्मिता खड्का  

काठमाडौं । वर्षौदेखि अलपत्र बनेको भक्तपुरको चाँगुनारायण नगरपालिका २ को दुवाकोट सडकखण्ड अन्तत कालोपत्रे गरिएको छ । दुवाकोट मोडदेखि खड्का डिलसम्मको ३ किलोमिटर सडकखण्ड कालोपत्रे गरिएको हो ।
कालोपत्रे गरिए सँगै त्यहाँका स्थानियले खेपिरहेको धुवाधुलोको सास्तीबाट मुक्ति पाएका छन् । उक्त सडकमा कालोपत्रेको कार्य भने आइतबारदेखि सुरु भएको हो । सडकमा पहिलो चरणमा धुलो सफा गर्ने र मट्टीतेल र विटुमिन राख्ने कार्य भने तिन दिन अघिदेखि सुरु भएको थियो । सडक विस्तार तथा मर्मत सुधारको जिम्मा पाएको सिएम् ब्राइट क्षितीज जेभीले नै सो सडक कालोपत्रेको कार्य गरिरहेको छ ।

उक्त सडकको अधिकांश क्षेत्र चागुनारायणको दुवाकोट क्षेत्रमा पर्ने गर्छ । कालोपत्रे भएपछि स्थानियले वर्षौदेखि भोग्दै आएको समस्या कम हुने वडा न २ का वडाध्यक्ष सोम प्रसाद प्रधानले बताए । ‘यहाँका स्थानियले लामो समयदेखि धुलो र धुवासँगै बाचिरहेका थिए । सडक नबन्दा स्थानियले यातायातदेखि हरेक कुराको निकै सास्ती भोग्नुपरेको थियो’ उनले भने, ‘कालोपत्रे पछि भने स्थानियहरु लाभान्वित हुनेछन् । वर्षौदेखि भोगेको सास्तीबाट मुक्ति पाउने भएका छन् ।’ कालोपत्रेको कार्य समाप्त हुन अझै १० दिनजति समय लाग्ने उनको भनाई छ ।

ऐतिहासिक चाँगुनारायण मन्दिर जोड्ने उक्त सडक भक्तपुरको सबैभन्दा प्राचिन सडक खण्ड हो । वर्षौदेखि जारी उक्त सडक खण्ड निर्माण कार्य विभिन्न समयमा विवादमा आउने गरेको थियो । समयमै निर्माण सम्पन्न नहुनु, ठेकेदारहरु फेरिइरहने आदी कारण त्यहाँ स्थानीयको जनजिवन प्रभावित बन्दै आएको थियो ।

यसअघि बजेट अभाव भएको भन्दै निर्माण कम्पनीले उक्त सडकमा ट्यांकरको पानी खन्याएर धुलो रोक्ने कार्य गरेको थियो । ट्यांकरबाट पानी खन्याएर केहि महिना उक्त सडकमा धुलो रोक्ने प्रयास गरिएको थियो । उक्त सडकमा फुटपाथ राख्ने, ढलको मंगाल निर्माण, ह्युमपाइप राख्ने, विद्युतिय पोल सार्ने,कालोपत्रे गर्न सडकमा रोडा विछ्याउने लगायत कार्य दशैअगावै सम्पन्न गरिएको थियो ।

कालोपत्रेको कार्य पुर्ण रुपमा सम्पन्न हुन अझै केहि दिन लाग्ने सिएम ब्राइट क्षितीज जेभीका सञ्चालक राजकुमार बुढाथोकीले बताए । ‘हामीले विभिन्न चरणमा कालोपत्रेको कार्य गरिरहेका छौ । कालोपत्रे चाहि १० दिनभित्रमै सिध्याउने लक्ष्य छ । ’ एनले भने ‘पहिलो चरणमा धुलो सफा गर्दै प्राइम (मट्टितेल र विटुमिन) राख्ने काम भइरहेको छ । त्यसमाथि विटुमिनकै प्याक बनाउने र ५० एमएमको अलकत्रा राखेर सेट गर्ने काम भइरहेको छ । यति गरेपछि कालोपत्रे टिकाउ हुन्छ ।’
कालोपत्रे गर्ने समयावधि भर उक्त क्षेत्रको यातायात समेत बन्द गरिएको छ । चालकलाई वैकल्पिक बाटो प्रयोग गर्न सुचना जारी गरिएको छ । हाललाई कालोपत्रेको कार्य सकिएपनि ढल, फुटपाथ र खानेपानीको पाइपलाईन विछ्याउने लगायत कार्य भने बाँकी नै छ । आफुले सडक विस्तार तथा मर्मतको जिम्मेवारी पुरा गरेपनि सरकारले अझै आफ्नो रकम भुक्तानी गर्दा छुटपुटको कार्यमा अवरोध हुन सक्ने सञ्चालक बुढाथोकीले बताए । ‘सरकारले अझै पनि सबै रकम भुक्तानी गरेको छैन । कालोपत्रेको सबै काम आफ्नै लगानीमा अघि बढिरहेको छ’ उनले भने, ‘हामीले १० करोड पाउनुपर्नेमा सरकारले यो वर्ष १ करोड मात्र बजेट छुट्याएको छ । बजेट नै भएन भने अब बाँकी काम कसरी अघि बढाउने ? हामी पनि मारमा छौ । स्थानीयको दबाबले कालोपत्रेसम्मको काम सम्पन्न हुन्छ । त्यसपछिको ढल, फुटपाथ, विधुत, खानेपानी लगायतको काममा भने अवरोध हुन सक्छ ।’

उक्त सडक विस्तार तथा मर्मत कार्यको लागि निर्माण कम्पनीसँग २२ करोड २१ लख ३८ हजारमा निर्माण सम्पन्नका लागि सम्झौता भएको थियो । उक्त बजेटअन्र्तगत निर्माण कम्पनीले सबै कार्य समाप्त गर्नुपर्ने थियो । तर सरकारले नै बजेट निकासा नगर्दा तोकिएको समयावधिभित्र काम सम्पन्न हुन नसकेको र छ महिनाको लागि म्याद थप गरिएको थियो ।

हाल उक्त सडक खण्डको कार्य दुइ चरणमा भइरहेको छ । दुवाकोट मोडदेखि खड्का डिलसम्मको ३ किलोमिटर सडक मर्मत तथा विस्तार एक चरण र खड्का डिलदेखि प्रस्तावित वीर अस्पतालसम्मको झन्डै २ किलोमिटर सडक मर्मत कार्य दोस्रो चरणमा भइरहेको छ । दोस्रो चरणको सडक मर्मतकार्य भने अझै समाप्त हुन सकेको छैन ।

वर्षौदेखि सडक मर्मत हुन नसकेको उक्त सडक मर्मत एवम् सुधारको जिम्मा अन्तिम पटक २०७८ कात्तिकमा सिएम ब्राइट क्षितीज जेभीले पाएको थियो । उक्त ठेक्काको समयावधि दुई वर्षको लागि तोकिएको थियो । जसअनुसार गत कात्तिकमा सडक विस्तार एवम् मर्मत कार्य सम्पन्न गर्ने गरी सडक विभाग भक्तपुर र ठेकेदार कम्पनीविच सम्झौता भएको थियो ।