इन्जिनियरिङ पेशाका आधारमा पसलको नामाकरण : ‘इन्जिनियरिङ मासु पसल, चायवाला र बारबर’ !

अस्मिता खड्का  

 

काठमाडौं । नयाँ बानेश्वरस्थित पञ्चकुमारी मन्दिर नजिकै एउटा फास्ट फुड पसल छ । जसको नाम लेखिएको छ,–‘इन्जिनियर्स फुड ल्याब’ । मासिक र सामुहिक प्याकेज गरी दुइवटा प्याकेजमा ल्याबमा पाइने खानेकुराको मुल्य निर्धारण गरिएको छ ।

‘इन्जिनियर्स फुड ल्याबको विशेषता, सम्पुर्ण विद्यार्थीको आवश्यकता’ उक्त फुड ल्याबको स्लोगन हो । मासु खाना, सादा खाना, खाजा, चिया, दहि पुरी, चटपटे मम र हुक्का फुड ल्याबको मेनुमा समावेश गरिएको छ । इन्जिनियर्सको फुड ल्याबको अवधारणा ल्याएका हुन्, स्नातक तहमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थी सञ्जय यादवले । इन्जिनियर जोडेर पसलको नाम राख्ने अवधारणा कसरी फुर्यो त ? उनी भन्छन्, ‘इन्जिनियरिङपछि पनि इन्जिनियरले काम पाउदैन । नेपालमै बसेर केहि न केहि त गर्नुपर्यो भन्ने लाग्यो । अनि हामी इन्जिनियरिङ अध्ययनरत साथीहरुविच सल्लाह भयो र यहि नाम जुरायौ । अहिले ट्रायल फेजमै छौ । व्यवसाय सफल भएमा यहि नामलाई ब्रान्ड बनाउने सोच छ ।’
सिराहा स्थायी घर भएका यादव सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । उनले सञ्चालन गरेको व्यवसायको लक्षित समुह इन्जिनियरिङ अध्ययनरत विद्यार्थी र इन्जिनियरहरु हुन् । सोहि कारण उनले नजिकै ‘इन्जिनियर्स बोइज होस्टेल’ सञ्चालन गरेका छन् भने इन्जिनियर्स फुड ल्यावको छेवैमा ‘दी इन्जिनियर्स बारबर’ सप पनि खोलेका छन् ।

 

रामेछापका जेनिश केसीले पनि दुई वर्षअघि आफ्नो सदरमुकाम मन्थली बजारमा एउटा मासु पसल खोले । त्यतिबेला उनी बालाजुको एउटा कलेजबाट ओभरसियरको तीन वर्षे कोर्स पुरा गरेर रोजगारीको खोजीमा थिए । जति गर्दा पनि रोजगारको अवसर नमिलेपछि उनले मासु पसल खोल्ने सोच बनाए । मासु पसलको नाम थियो, ‘इन्जिनियरिङ मासु पसल’ । इन्जिनियरिङसँग जोडेर मासु पसलको नामाकरण किन गरे त ? जेनिस भन्छन्, ‘मैले जति गर्दा पनि जागिर पाइरहेको थिइनँ’ उनी सम्झन्छन्, ‘काम नगरी बस्नुभन्दा मासु पसल खोल्ने सोच आयो । र त्यसको नाम के राख्ने सोच्दा इन्जिनियरिङ मासु पसल राख्दा उचित लाग्यो र त्यहि राखे ।’ मासु पसलको नाम उनका साथीहरुले सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरे । उनको मासु पसलको नाम भाइरल बन्यो तर यता मासु पसल भने सञ्चालनमा आएको दुई महिना नपुग्दै बन्द गर्नुपर्यो । हाल केसी काठमाडौ तराई फास्ट ट्रयाकमा कार्यरत छन् ।

यस्तै भक्तपुरको डेकोछा १० मा पनि इन्जिनियरको पदकसँग नाम जोडिएको हार्डवेयर पसल छ, ‘इन्जिनियर्स हार्डवेयर प्रा.ली’ । झन्डै ४ वर्षअघि सिभिल इन्जिनियरिङ विषय अध्ययन गर्दागर्दै स्थानिय सुदिप अवालले उक्त पसल खोलेका हुन् । जुन हालपनि सोहि नामबाट सञ्चालित छ ।

यी पसलहरुबाहेक काठमाडौको नरेफाँटमा सञ्चालित ‘इन्जिनियर चाय वाला’, बालाजु बाइपासमा अवस्थित ‘श्रेष्ठ इलेक्ट्रो इन्जिनियर्स प्रा.ली’ आदी त केहि उदाहरण मात्र हुन् । यी पसलहरु गुगल सर्चमार्फत फेला परेका हुन् । गुगल सर्चमार्फत फेला परेका पसललाई पछ्याउँदा सम्पर्कमा आएका अधिकांश सञ्चालक भने इन्जिनियरिङ विषय अध्यनरत र केहि इन्जिनियरिङ अध्ययनपछि रोजगारीको अवसर नपाएका व्यक्तिहरु छन् ।

पेशा र पदकको खिल्ली

इन्जिनियर र इन्जिनियरिङ शब्दावली जोडेर आफ्नो व्यवसायको नाम राख्ने अभ्यास नेपालमा मात्र नभई छिमेकी मुलुक भारतलगायत अन्य मुलुकमा पनि पाउन सकिन्छ । यसरी नाम राख्न पाइने या नपाइने भन्नेबारे सम्बन्धित मुलुकको अभ्यास पनि फरक हुन सक्छन् । तर इन्जिनियरिङ पेशा र इन्जिनियर पदकको खिल्ली उडाउने कार्य भयो भन्दै सामाजिक सञ्जाल र सम्बन्धित क्षेत्रभित्र यसबारे बहस चलिरहेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्रक्चरल इन्जिनियर ए.आर तुलाधरले मार्च २५ मा तीन वटा तस्बिरसहित एउटा पोष्ट गरेका थिए । उक्त तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘शैक्षिक योग्यता जुनै विषयमा भएपनि इच्छाअनुसार रोजगारी गर्नु व्यक्तिगत स्वतन्त्रता हो । तर कुनै व्यवसाय सञ्चालन गर्दा कुनै विशेष पेशा अझ भनौ प्राविधिक पेशा सम्बन्धि नाम राखेर पेशाको व्यवसायिकतामाथि आँच आउने काम गर्न मिलेन । मासु पसल, चिया पसलसँग इन्जिनियरिङको कुनै सम्बन्ध हुदैन । नेपाल इन्जिनियरिङ काउन्सिलले सुचना जारी गरेर कारबाहि गरोस्’ ।

तुलाधरको उक्त पोष्टपश्चात पेशा र पदसँग जोडेर पसलको नाम राख्न पाइने या नपाइने भन्नेबारे सोहि पोष्टको कमेन्ट बक्स र त्यसबाहेक सम्बन्धित क्षेत्रभित्र यतिबेला बहस चलिरहेको छ । उक्त विषयलाई लिएर इन्जिनियरहरु दुईधारमा विभाजन भएका छन् । कतिपयले कुनैपनि व्यक्तिले इच्छाअनुसार व्यवसाय सञ्चालन गर्दा जस्तोसुकै नाम राख्न पाउने तर्क गरेका छन् भने अधिकांश इन्जिनियरहरुले कुनैपनि विशेष पेशा र पदलाई लक्षित गरि आफ्नो व्यवसायको नाम राख्न नपाउने तर्क गरेका छन् । यसरी नाम राख्दा पेशा र पदको अनर्थ हुने र आफ्नो पेशा व्यवसायको मर्यादा कायम नरहने बताएका छन् ।

बहसमार्फत टुंगो लगाउने

 

बजारमा व्यक्ति, ठाउँ, भगवानको नाम विशेषबाट पसल या आफ्नो जस्तोसुकै व्यवसायको नाम राख्ने प्रचलन पहिलेदेखि चलिआएको छ । तर पछिल्लो समय भने आफ्नो व्यवसायको नयाँ तरिकाले नाम राख्ने प्रचलन युवापुस्तामाझ अझ बढि छ । ‘चियावाला, चियाघर, चिया अड्डा, चिया चौतारो, चिया सिया, चिया सागर’ आदी लगायत चिया बेच्ने पसलका थरीथरीका नाम चियाजत्तिकै लोकप्रिय छन् । बजार निस्कदा म.म पाक्ने पसलको पनि थरीथरीको नाम देख्न पाइन्छ । चिया र म.मको विशेषताअनुसार व्यवसायीले थरीथरीका नाम दिएका हुन सक्छन् । तर पेशा र पद नै जोडेर आफ्नो व्यवसायको नाम राख्ने अभ्यास भने हालसालै भित्रिएको मान्न सकिन्छ ।

प्राविधिकको पेशा र पद विशेषले कुनै व्यक्तिले आफ्नो व्यवसायको नाम राख्न पाउने या नपाउने भन्ने विषयमा नीतिगत बहस चलाउनुपर्ने नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष हरि बहादुर दर्लामी बताउँछन् । ‘व्यवसायको नाम यसरी राख्छन् भन्नेबारे ध्यान नगएको, हामीले यसबारे अहिलेसम्म नसोचेको र बहस नै नभएको अवस्था हो । आगामी दिनमा इन्जिनियरमात्र नभई डाक्टर, प्रधानमन्त्रीको नाम जोडेर पनि व्यवसाय खुल्लान् । त्यसैले यसबारे नीतिगत रुपमा बहस चलाउनुपर्छ र त्यहिअनुसार जानुपर्छ’ उनी भन्छन्, ‘यस विषयमा साथीहरुले बहस सुरु गर्नुभएको छ । अबको छलफल र बहसपछि पसलको नामाकरण पेशा र पदबाट राख्न पाउने या नपाउने भन्नेबारे टुंगो लाग्छ । यसबारे हाम्रो क्षेत्रमा भित्रैभित्र बहस भने चलिरहेको छ ।’

पेशा र पदलाई जोडेर व्यवसायको नाम राख्ने अभ्यासबारे इन्जिनियरहरु दुईधारमा विभाजित भएको दर्लामीको भनाई छ । ‘यस विषयमा साथीहरुका दुइथरी मत छन् । व्यवसाय सञ्चालन गर्दा इच्छाअनुसार नाम राख्न पाइन्छ त्यो उसको स्वतन्त्रता हो भन्ने एकथरी छन् भने होइन पेशा र पदकको खिल्ली उड्ने गरी नाम राख्न पाइदैन भन्ने अर्को थरी छन् । यसरी नाम राख्न पाइन्छ भन्नेभन्दा बढि नाम राख्न पाइँदैन भन्नेहरुको मत बढि छ’ उनी भन्छन्, ‘वास्तवमा यसरी विशेष पेशा र पदलाई जोडेर नाम राख्ने प्रचलन बढ्यो र विकृतिको रुपमा देखा पर्यो भने हाम्रो पेशा र व्यवसायलाई पनि असर पुग्छ । प्राविधक जस्तो पेशा र पदकको अनर्थ हुनु भएन । खिल्ली उडाएझै हुन्छ ।’

बहसबारे काउन्सिललाई थाहा छैन

इन्जिनियरहरु बीच चलिरहेको यो बहसबारे नेपाल इन्जिनियरिङ काउन्सिल भने बेखबर छ । आफुहरु यस विषयमा जानकार नभएको र यससम्बन्धि नियम पनि नभएको काउन्सिलका अध्ययक्ष प्रा.डा पदम बहादुर शाही बताउँछन् ।

प्रा.डा पदम बहादुर शाही

‘यो बहसको नयाँ विषय भएकोले तत्काल केहि सोचेको र भन्न सक्ने अवस्था छैन । हामीकहाँ छलफल पनि भएको छैन । यसबारे ठ्याक्कै केहि नीति नियम पनि बनेको छैन । जे पायो त्यहि नाम त राख्न पाइदैन सम्बन्धित र सान्दर्भिक हुनुपर्छ’ उनी भन्छन्, ‘उक्त व्यवसाय इन्जिनियरले खोलेको हो या अन्य पेशा व्यवसायीले, आफ्नो व्यवसायको मार्केटिङ गर्ने रणनीति होकी के हो सबै हेर्नुपर्छ । यसबारे यदि कुरा उठेको छ भने बहस र छलफलपछि निचोडमा पुग्न सकिएला ।’