गहुँको छ्वाली नबाल्न धनगढी उप–महानगरपालिकाको माइकिङ

अस्मिता खड्का  

काठमडौं । गहुँको छ्वाली (नल) नबाल्न स्थानीयलाई धनगढी उप–महानगरपालिकाले माइकिङ सुरु गरेको छ । बढ्दो वायु प्रदुषण र आगलागीका घटनालाई मध्यनजर गर्दै गहुँ काटिसकेपछि निस्कने गहुँको छ्वालीमा आगो नबाल्न उप–महानगरपालिकाले माइकिङ सुरु गरेको हो ।

यतिबेला देशभर विशेषगरी तराई क्षेत्रका किसानहरुले गहुँबाली भित्राइरहेका छन् । गहुँबाली भित्राउँदा कृषकहरुले बालीबाट निस्कने गहुँको छ्वाली, गहुँको ठुटा र अन्य झारपात खेतबारी मै जलाउने गर्छन् । पछिल्लो समय वनजंगलमा लागेको डढेलोसँगै देशका केहि स्थानमा कृषकले भित्राउनै आटेको गहुँबारीमा आगलागीको घटनाले समेत चर्चा पाइरहेको छ । हालै कपिलवस्तु र पर्सामा कैयौ विघा गहुँ जलेर नष्ट भएको थियो । आगलागीका कारण देशमा वायु प्रदुषण बढेको समेत विज्ञहरुले बताउँदै आएका छन् । यस्ताखाले सम्भावित आगलागीका घटना र वायु प्रदुषणबाट बच्न धनगढी उप–महानगरपालिकाले सचेतनामुलक अभ्यास सुरु गरेको छ ।

उप–महानगरपालिकाको विपद् शाखा र नगर प्रहरीको समन्वयमा २०८१ वैशाख १ गतेदेखि माइकिङ गर्न थालिएको हो । उप–महानगरपालिकाले नगरभित्रका सबै वडाहरुमा गहुँको छ्वाली नबाल्न माइकिङ गरिरहेको छ ।

सम्भावित वायु प्रदुषण र आगलागीका घटनाबाट बच्न स्थानीयलाई सचेत गराउन माइकिङ सुरु गरिएको धनगढी उप–महानगरपालिकाका नगर प्रहरी प्रमुख भुपेन्द्र खड्काले बताए । ‘नगरभित्रका सबै वडाहरुमा हामीले सचेतनामुलक कार्यक्रम गरेका हौ’ दियोपोस्टसँग उनले भने, ‘गहुँ काटिसकेपछि बालेको छ्वालीले पर्यावरणमा असर पर्छ, आगलागी हुन्छ । हामीले वायु प्रदुषण नहोस्, सम्भावित आगलागीका घटनाहरुबाट बच्न सकियोस् भनेर हामीले जताजता गहँु काट्न थाल्छन् त्यहाँ बिहान, बेलुका, दिउँसो समय मिलाएर माइकिङ गरिरहेका छौ । माइकिङको लागि निश्चित समय तोकिएको छैन ।’

आगलागी र वायु प्रदुषणलाई मध्य नजर गर्दै उपमहानगरपालिकाले पहिलो पटक यस्तो अभ्यास थालेको हो । यसको लागि अलग बजेट तथा कार्यक्रम भने राखिएको छैन । अघिल्ला वर्षहरुमा यस्तो अभ्यास नगरिएको र सचेतनाको लागि आफैले यो अभ्यास अपनाएको उनले सुनाए । ‘यो पहिलो पटक गरिएको अभ्यास हो’ अघिल्ला वर्षहरुमा यस्तो काम गरिएको छैन । यसमा हाम्रो विपद् शाखा र नगर प्रहरीको मुख्य भुमिका छ । दुइवटा शाखाविचको समन्यवपछि सम्भावित समस्याहरु र समाधानका उपायबारे माथिल्लो शाखासमक्ष रिपोर्ट पेश गर्छौ । छलफल हुन्छ, त्यहि आधारमा उहाँहरुबाट अनुमती लिन्छौ र काम अघि बढ्छ । यो नितान्त सचेतनामुलक कार्यक्रम हो । यसको लागि बजेट छुट्याउने, प्रोजेक्टमा राख्ने गरिएको छैन ।’

उनकाअनुसार अघिल्ला वर्षहरुको तुलनामा उप–महानगरपालिकाभित्र आगलागीका घटनाहरु बढेका छन् । पछिल्लो समय सामुदायिक वन र भवन संरचनाहरुमा पनि आगलागीका घटना बढेका छन् ।

आगलागी मात्र नभई बालीनाली भित्रिदाँ बाल्ने बालीको अवशेष बाल्दा माटोको उर्वर शक्तिसमेत घट्ने हुँदा आफुहरुले सचेतनामुलक कार्यक्रम अघि बढाएको उपमहानगरपालिकाको विपद् शाखाका दिपक भण्डारीले बताए । ‘गहुँबाली र धानबाली भित्राएपछि बचेको अवशेषहरु बाल्ने प्रचलन छ’ उनले भने, ‘त्यसले वायु प्रदुषण र आगलागी मात्र नभई माटोको उर्वराशक्ति पनि घटाउने गर्दो रहेछ । त्यसबाट जोगिन हामीले कृषकलाई सचेत गराउन खोजेका हौ । आशा छ, यसले सकारात्मक नतिजा दिनेछ ।’

 

 

धनगढी उप-महानगरपालिका वडा न.१० मा नगर प्रहरी द्वारा गहु काटी सके पश्चात् गहुको बाकी रहेको छ्वाली (नल) मा आगो नलगाउन हुन अनुरोध गर्दै गरेको दृश्य
२०८१ बैशाख ३ गते