पौने ३ खर्बका आयोजनामा लगानी गर्ने चिनियाँ कम्पनीको प्रस्ताव

दियो पोस्ट  

काठमाडौं, चैत २१ । चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको खानेपानी, जलविद्युत्, सडक तथा सुरुङमार्ग निर्माणमा लगानी गर्ने प्रस्ताव दर्ता गरेको छ । लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सडक तथा सुरुङमार्ग र जलाशययुक्त ७ सय ५६ मेगावाटको तमोर हाइड्रोपावर आयोजनामा लगानी ल्याउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पेस गरेको हो । 

प्रस्तावमा नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी–सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला गरी पाँचवटा खानेपानी आयोजनामा लगानी गर्ने आशय व्यक्त गरिएको छ । सम्भाव्यता अध्ययन भइसकेका यी पाँच आयोजनाको लागत करिब ९० अर्ब रहने अनुमान गरिएको छ । यी पाँचवटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

खानेपानीका यी आयोजनाका विस्तृत परियोजना प्रतिवेदन कम्पनी आफैँले तयार गर्ने, चीन सरकारसँग समन्वय गरी एक्सपोर्ट–इम्पोर्ट ब्यांक अफ चाइनामार्फत नेपाल सरकारलाई सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गराइएको सिएमसीका नेपाल प्रतिनिधि विश्वास खतिवडाले बताए । कम्पनीले सबै आयोजनामा लगानी छिटो जुटाउन इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन एन्ड फाइनान्स (इपिसिएफ) मोडालिटीमा आयोजना अघि बढाउने प्रस्ताव गरेको खतिवडाको भनाइ छ ।  

‘खानेपानी जनताको मौलिक हक अधिकारसँग जोडिएको हुँदा यो जस्तो महत्वपूर्ण आयोजना अरू केही हुन सक्दैन । सरकारले यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गरी अघि बढाउनुपर्छ भनेर हामीले आग्रह गरेका छौँ,’ उनले भने, ‘त्यसैअनुसार नै खानेपानी आयोजना अगाडि बढाउने र लगानी जुटाएर निर्माणको काम गर्ने प्रस्ताव कम्पनीले गरेको छ ।’ 

त्यस्तै, सिएमइसीले सामाखुसी–टोखा–नुवाकोटको छहरे सडक तथा सुरुङमार्ग निर्माणमा समेत चासो देखाएको छ । नेपाल र चीन जोड्न यो सडक महत्वपूर्ण रहेको खतिवडाले बताए । ‘काठमाडौंबाट छोटो दूरीमा चीनको केरुङ पुग्न सजिलो हुने भएकाले यस सडक आयोजनालाई सरकारले विशेष प्राथमिकता दिनुपर्छ,’ उनले भने । कम्पनीले सहुलियतपूर्ण ऋण सहयोगमा यो सडक आयोजना अघि बढाउने प्रस्ताव राखेको छ । यसको लागत करिब २७ अर्ब अनुमान गरिएको छ । 

७ सय ५६ मेगावाटको जलाशययुक्त तमोर हाइड्रोपावर आयोजनामा समेत सिएमइसी लगानी गर्ने प्रस्ताव राखेको छ । तीन वर्षअघि नै यस आयोजनामा लगानी जुटाउने प्रस्ताव कम्पनीले गरेको खतिवडाले जानकारी दिए । तमोर हाइड्रोको अनुमानित लागत करिब डेढ खर्ब छ । 

कस्तो कम्पनी हो सिएमइसी ? 
सिएमइसी सन् १९७८ मा स्थापना भएको सरकारी कम्पनी हो । यो चीनको उत्कृष्ट १० भित्र पर्ने इन्जिनियरिङ कम्पनी हो । यसले १ सय ५० देशमा खानेपानी, ऊर्जा र यातायातलगायत पूर्वाधारको निर्माणको काम गरिरहेको छ । सन् २०१७ मा यस कम्पनीले ३ खर्ब ७८ अर्ब रुपैयाँको वार्षिक कारोबार गरेको थियो । यो कम्पनीको नेट वर्थ (खुद सम्पत्ति) २ दशमलव ५ अर्ब छ । नयाँपत्रिका दैनिकबाट