काठमाडौं, चैत २१ । मागसंख्या भन्दा अत्यन्तै कम परीक्षार्थी उत्तीर्ण हुन थालेपछि सशस्त्र प्रहरी बलले पाठ्यक्रम नै परिमार्जन गरेको छ । शारीरिक सहिष्णुतालगायत विषयमा राम्रो नतिजाका साथ उत्तीर्ण उम्मेद्वार लिखित परीक्षामा आएर अनुत्तीर्ण भएपछि सशस्त्र प्रहरी बलले पाठ्यक्रम नै परिमार्जन गरी सेवा प्रवेशको मौका दिन लागेको हो ।
सशस्त्रको नयाँ नीतिका कारण माग गरेबमोजिम उम्मेदवार उत्तीर्ण हुने र यसबाट राज्यकोषमा थप आर्थिक भार नपर्ने अपेक्षा गरिएको छ । साथै बढीभन्दा बढी उत्तीर्ण हुँदा सशस्त्रको जनशक्ति पूर्ति भई कार्यसम्पादनमा समेत सहज हुने छ । हाल सशस्त्र प्रहरी बलमा ५ हजार ३ सय ८१ जनशक्ति कम छ । ३७ हजार एक सय १७ दरबन्दी रहेको सशस्त्रमा यो संख्या भनेको झण्डै १५ प्रतिशत कम हो । यो भनेको आठ ओटा बाहिनीबराबरको जनशक्ति हो ।
सशस्त्र प्रहरी बलले जवान पदका लागि ३१ साउन २०७४ मा खुलाएको दरखास्तमा ७ हजार ३९१ लिखित परीक्षामा सहभागी भएका थिए । तर, दुई हजार १९३ मात्र उत्तीर्ण भएका थिए । यस्तै, २२ भदौ २०७५ मा खुलाएको दरखास्तमा ६ हजार २९६ जना लिखित परीक्षामा सहभागी भएकोमा एक हजार २१२ जना मात्र उत्तीर्ण भएका थिए । जबकी सशस्त्र प्रहरी बलले २२ भदौमा एक हजार ९३६ जवानका लागि भर्ना आह्वान गरेको थियो ।
दुबै विज्ञापनमा माग संख्या भन्दा निकै कम उम्मेदवार उत्तीर्ण भएपछि सशस्त्र प्रहरी बलले जवानका लागि तयार गरिएको पाठ्यक्रम कठिन भएको महशुस गर्दै त्यसलाई केही सरल बनाएको हो ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नायव महानिरीक्षक (डीआईजी) सुरजकुमार श्रेष्ठका अनुसार, मागसंख्या भन्दा कम उत्तीर्ण हुने र यसबाट जहिले पनि जनशक्ति अभाव भइरहने समस्या भएकाले पाठ्यक्रम परिवर्तन हो ।
‘लिखित परीक्षामा सोधिने प्रश्न जटिल भएकाले कम परीक्षार्थी उत्तीर्ण हुने गरेको हामीले पाएका छौं, एकातिर जनशक्तिको अभाव भइरहने र भर्ना खुलाउँदा पनि आवश्यक संख्या उत्तीर्ण नहुने समस्या रहेकाले पाठयक्रम सहज बनाउनु परेको हो,’ प्रवक्ता श्रेष्ठले भने ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय भर्ना शाखाका प्रमुख एसपी दिगविजय सुवेदीका अनुसार, समग्र शैक्षिक गुणस्तरमा ह्रास, उम्मेदवारहरुको परिश्रममा कमी, आठ पास शैक्षिक योग्यता तथा उमेर १८–२२ मा तालमेल नमिलेकोलगायतका कारण आवश्यक संख्यामा उम्मेदवारहरु उत्तीर्ण हुन नसकेको ठम्याइ सशस्त्र प्रहरी बलको रहेको छ ।
हाल सशस्त्र प्रहरी जवानको लागि शैक्षिक योग्यता आठ पास तोकिएको छ । तर पनि उम्मेदवारहरु न्यून संख्यामा उत्तीर्ण भएकाले प्राथमिक शिक्षाका आधारभूत कुराहरुलाई समेत समावेश गरी नयाँ पाठ्यक्रम तयार गरी सोही अनुरुप परिमार्जन गरिएको हो ।
जस अनुसार ३० पूर्णाङ्क नेपाली, २० पूर्णांक अंग्रेजी, २० पूर्णांक गणित र ३० प्रतिशत सेवासम्बन्धी गरी छुट्याइएको छ । लिखित परीक्षामा सहजै उत्तीर्ण होस् भन्ने हेतुले नयाँ पाठ्यक्रम निर्माण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
नयाँ पाठ्यक्रमअनुसार प्राथमिक शिक्षाका स्वर वर्ण, व्यञ्जन वर्ण, अंग्रेजी अक्षर, अङ्कलाई अक्षरमा र अक्षरलाई अङ्कमा लेख्ने जस्ता सरल कुरालाई समावेश गरिएको छ । तथापी व्यावसायिक एवं दक्ष सशस्त्र प्रहरी जवान हुन आवश्यक पर्ने अन्य कुरालाई भन्ने यथावत राखिएको छ । शारीरिक वनावट तथा शारीरिक सहिष्णुतासम्बन्धी मापदण्ड भने परिवर्तन नगरिएको जनाइएको छ ।
सेवासम्बन्धी पहिले एक मुष्ठ ऐन, नियमावली भनी उल्लेख गरिएकोमा हाल परिच्छेद र केही दफा मात्र अध्ययन गरे हुने किसिमले तयार गरिएको छ । नयाँ परिमार्जन गरिएको पाठ्यक्रम सशस्त्र प्रहरी बल, नेपालको अफिसियल वेभसाइटमा राखिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्न गत २४ फागुणमा ३ हजार दुई सय सन्तानब्बे सशस्त्र प्रहरी जवान पदको लागि विज्ञापन प्रकाशन गरेको थियो । साधारण समूह साधारण उपसमूह तर्फको पदपूर्तिको लागि सशस्त्र प्रहरी बल नेपालले यस पटक परम्परागत शैलीको दरखास्त संकलन प्रक्रियालाई तोड्दै नयाँ प्रक्रिया थालेको छ ।
विगतका वर्षहरुमा सशस्त्र प्रहरी बल नेपालले जम्मा ५ देखि ७ वटा कार्यालयबाट दरखास्त संकलनको कार्य गरेको भएता पनि यस पटक अन्ठाउन्न कार्यालयबाट दरखास्त बुझाउने व्यवस्था गरेको छ । सशस्त्र प्रहरीको स्थायी कार्यालयहरु रहेको जिल्लाको एक कार्यालयबाट दरखास्त संकलन गरिएको छ । जिल्लामा रहेको गण तथा गुल्म स्तरबाट समेत दरखास्त बुझाउन सकिने छ ।
यता, सशस्त्र प्रहरी बलले भर्ना तथा छनौट प्रक्रियालाई पारदर्शी र त्रुटिरहित बनाउन भरमग्दुर सचेतता अपनाउने गरेको पाइएको छ । सशस्त्रले सशस्त्र प्रहरी सेवा आयोगका अधिकृत प्रतिनिधिहरुको अनिवार्य उपस्थितिमा मात्र परीक्षा संचालन गर्ने गरेको छ । भर्ना छनौटलाई निष्पक्ष बनाउने अभिप्रायले उनीहरुलाई अनुशिक्षण तालिमसमेत प्रदान गर्ने गरिएको छ । परीक्षा ञ्ंचालन गर्ने स्थानमा सीसी क्यामरा जडान गर्ने गरिएको छ भने परीक्षार्थीहरुको फारम संकलन गर्दा नै उनीहरुको बायोमेट्रिक एटिन्डेन्स हाजिर गराएर मात्रै प्रवेश गराउने गरिएको छ ।
यस्तै, भर्ना छनौट कार्यमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुलाई छुट्टै प्रवेश पासको व्यवस्था गर्ने गरिएको छ । भर्ना छनौट प्रक्रिया चलिरहँदा त्याँ अन्य सशस्त्र प्रहरी कर्मचारीलाई प्रवेश निषेध गर्ने गरिएको छ । साथै छनौटमा खटिने कर्मचारीहरुका लागि आचारसंहिता नै तयार गरिएको छ । छनौट अवधिभर उनीहरुले मोबाइल समेत प्रयोऊ गर्ने नपाउने व्यवस्था गरिएको छ । सशस्त्र पव्रहरी सेवा आयोगका पदाधिकारीले छनौट परीक्षाका बखत निगरानी गर्ने व्यवस्था पनि गरिवएको छ । आफ्नो नतिजाप्रति असन्तुष्टि जनाउने परीक्षार्थीहरुलाई सेवा आयोगका अधिकृत पव्रतिनिधिबाट काउन्सिलिङ्गको पनि व्यवस्था गरिएको छ । अनुत्तीर्ण हुने परीक्षार्थीलाई मन्जुरीनामा गराई जुन स्टलमा अनुत्तीर्ण भएको हो, सोही स्टलमा अनुत्तीर्ण गराई प्रवेशपत्र खिच्ने व्यवस्था गरिएको छ ।
परीक्षा समाप्त भए पश्चात परीक्षा सञ्चालन भएकै स्थानमा ग्राउण्डमा नै नतिजा तथा खेस्रासमेत नतिजा प्रकाशनका लागि समितिसमक्ष खोल्ने गरी सिलबन्दी लाहाछाप गरी राख्ने गरिएको छ ।
राजधानी दैनिकबाट