खुम्चिँदै विप्लव, ६१ बाट झरेर ४१ केन्द्रीय समिति

दियो पोस्ट  

काठमाडौं, चैत २३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सांगठनिक संरचना खुम्चिँदै गएको छ। दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता अहिले केन्द्रीय समितिमा छैनन्। एक दर्जन नेता सत्तारूढ नेकपामा छिरिसकेका छन् भने केही नेता निष्क्रिय छन्।

पार्टीभित्रै महासचिव विप्लव र नेता खडकबहादुर विश्वकर्माबीच अन्तरविरोध बढ्दो छ। विप्लवका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि प्रभावशाली चार नेता प्रहरी हिरासतमा छन्।

६१ बाट झरेर ४१ केन्द्रीय समिति

२०७३ फागुनमा रोल्पामा भएको आठौं महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय समिति पनि बनायो। तर दुई वर्ष नबित्दै केन्द्रीय समिति ४१ मा आइपुगेको छ।

त्यस बेलाका केन्द्रीय सदस्य शरदसिंह भण्डारी, झकबहादुर मल्ल ‘सुदीप’, राजेन्द्र कार्की ‘नवीन’, टेकबहादुर बलम्पाखी, जीवन खड्का ‘गगन’, महेश केसी ‘पारसमणि’ लगायत सत्तारूढ नेकपामा छिरिसकेका छन्। वयोवृद्ध नेता चित्रबहादुर आले ‘पवन’, देवीदत्त पाण्डे, हेमराज भट्टराई, मंगल विश्वकर्मा, सम्झना घर्तीलगायत निष्क्रिय छन्।

कोसी ब्युरो इन्चार्ज किरण राई, महाकाली ब्युरो इन्चार्ज सविता सिंह र नेता नारायण महर्जन पार्टी राजनीतिमा निष्क्रिय छन्। ४१ सदस्यीय केन्द्रीय समितिका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’, केन्द्रीय सदस्यद्वय वसन्त श्रेष्ठ ‘प्रज्ज्वलन’ र बन्धु चन्द समातिएका छन्।

स्थायी समितिमा जान लाग्दा पक्राउ

फागुन २८ मा नेकपा र ‘विप्लव’ नेतृत्वका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगायो। त्यसपछिको विकसित राजनीतिक घटनाक्रमबारे पार्टी धारणा बनाउन नेकपाको बैठक बस्न सकेको थिएन। केन्द्रीय समिति र पोलिटब्युरो बैठक बस्न सम्भव नहुने देखेपछि पार्टीले स्थायी समिति बैठक बोलायो। पाँच सदस्यीय स्थायी समितिमा सुदर्शन पनि थिए।

काभ्रेमा रहेका उनी स्कोर्पियो झिकाएर काठमाडौं आउने र त्यसपछि बैठकस्थल छेउसम्म त्यसैमा जाने योजनामा थिए। रौतहट इन्चार्ज शंकर अधिकारलाई काठमाडौंबाट स्कोर्पियो झिकाउन लगाई उनी त्यसतर्फ जान खोजेका थिए। त्यही बेला सुदर्शन, केन्द्रीय सदस्य वसन्त, रौतहट इन्चार्ज अधिकारीलगायत ९ जना काभ्रेमा समातिए।

स्थायी समितिको १० चैतको बैठकमा महासचिव चन्दले ६ महिनासम्म सरकारको रणनीति चिर्दै नेतृत्वको रक्षा गर्नसके सरकार बाध्य भएर आफूहरूसँग वार्तामा आउने ‘ब्रिफिङ’ गरेको नेकपाका एक केन्द्रीय नेताले बताए। संसदीय राजनीतिक दलभित्रै पनि पार्टी प्रतिबन्धका विषयमा अन्तर्विरोध देखिनु आफ्नो पार्टीका लागि सकारात्मक सन्देश भएको विप्लवले बैठकमा बताएका थिए। उनले सरकार केन्द्रदेखि जिल्लासम्मकै संगठनको नेतृत्वलाई पक्राउ गर्ने रणनीतिका साथ आएकाले नेतृत्व रक्षा मुख्य चुनौती भएको धारणा राखेका थिए।

झन्डै दुई दर्जन नेता केन्द्रीय समितिमा छैनन् भने एक दर्जन नेता सत्तारूढ नेकपामा छिरिसकेका छन्।

पार्टी बैठकमा ‘विप्लव’ ले नेताहरूको कार्य विभाजनमा हेरफेरदेखि भूमिगत संगठनात्मक संरचनामा विशेष जोड दिने योजना पनि प्रस्तुत गरेका थिए। तीन महिनायता विप्लव पार्टी आन्तरिक संगठन सुदृढीकरण तथा विस्तार अभियानमा थिए। ढिलोचाँडो सरकार आफूहरूविरुद्ध आक्रमणमा आउने ठाने पनि यति छिट्टै नेतृत्वलाई तारो बनाउला भनेर नेकपा नेताहरूले सोचेका थिएनन्।

सुदर्शन पक्राउ परेपछि बसेको स्थायी समितिले नेताहरूको पार्टी नाम–उपनाम परिवर्तन गर्दै संगठनात्मक हेरफेर गर्ने र नेतृत्व रक्षाका लागि विशेष रणनीति बनाउने तयारी थालेको ती नेताको भनाइ छ।

प्रकाण्ड पार्टीभित्रै विशेष निगरानीमा

२०७२ मंसिरमा मोहन वैद्य (किरण) नेतृत्वको पार्टीसँग सम्बन्ध विच्छेद गर्दै विप्लवले नयाँ पार्टी बनाएपछि खडकबहादुर विश्वकर्मा (प्रकाण्ड) प्रवक्ता तोकिए। पार्टीभित्र दोस्रो वरीयतामा रहेका उनी गत साउन २२ गते काठमाडौंको चाल्नाखेलबाट पक्राउ परे। विश्वकर्मा ९ असोजमा रिहा भएपछि नेकपामा अनेकथरी टिप्पणी सुरु भयो। त्यसो त ८ मंसिरमा विप्लवको पार्टीले काठमाडौंमा आयोजना गरेको सभाका प्रमुख वक्ता उनलाई नै बनाइएको थियो।

त्यसपछि एक महिनासम्म उनी पार्टी महासचिवको सम्पर्कमा रहेनन्। महासचिव विप्लवको निर्देशनविपरीत काठमाडौं आउँदा पक्राउ परेको, रिहाइका लागि आफू निकट विद्यार्थी अध्यक्ष चिरञ्जीवी ढकालमार्फत डा. बाबुराम भट्टराईसँग पहल गरिदिन सन्देश पठाएको र पार्टीमा परामर्शबिनै व्यक्तिगत पहलमा रिहाइको वातावरण बनाएको भन्दै पुस तेस्रो साता बसेको स्थायी समिति बैठकमा विश्वकर्माको आलोचना भयो। त्यसबेला उनलाई स्थायी समितिमा साथ दिने सन्तोष बुढामात्र थिए।

नेकपा स्रोत भन्छ, ‘त्यही बेलादेखि प्रकाण्ड पार्टीभित्रै विशेष निगरानीमा छन्। उनलाई पार्टी प्रवक्ताका रूपमा सार्वजनिक वक्तव्य दिन र बोल्न रोक लगाइएको छ।’ आर्थिक परिचालनको एकद्वार नीति बनाउने पार्टी निर्णयपछि उनी आर्थिक विभाग प्रमुख भएका थिए। त्यस बेला पनि आफूअनुकूल आर्थिक परिचालन गरेको, पार्टी र जनसंगठनमा पकड जमाउन थालेको भन्दै उनको आलोचना भएको थियो।

उनीमाथि दस्ताबेज चुहाएको, पार्टी परामर्शभन्दा आफू अनुकूल चल्न खोजेको ‘व्यक्तिवादी अराजकता’ को आरोप लागेको छ।

पुसको स्थायी समिति बैठकपछि महासचिव विप्लवले पार्टी निर्णय हेडक्वार्टरले नै सार्वजनिक गर्ने भन्दै विप्लवलाई रोक लगाएका छन्। अन्नपूर्णसँग टेलिफोन सम्पर्कमा आएका नेकपाका एक नेता भन्छन्, ‘प्रकाण्डबाट मौखिक रूपमा प्रवक्ताको जिम्मेवारी खोसिएको छ। स्थायी समितिमा रहे पनि उनी पार्टी निगरानीमा छन्।’

विप्लव–प्रकाण्डबीच मध्य कमान्ड इन्चार्ज हेमन्तलाई बनाउने बेलामा समेत विवाद थियो। प्रकाण्ड मध्य कमान्डको जिम्मेवारी आफूले पाउनुपर्ने पक्षमा थिए। तर विप्लवले सुदर्शनलाई दिए। त्यसपछि पनि प्रकाण्ड विप्लवसँग चिढिएका थिए। १० चैतको स्थायी समिति बैठकमा प्रकाण्ड सहभागी भएयता भने दुई नेता सँगसँगै छन्।

‘२०६१ सालमा बाबुराम, हिसिला र दिनानाथ जस्तै अहिले प्रकाण्ड पार्टी निगरानीमा हुनुहुन्छ,’ ती नेताले भने। ०६१ माघमा पार्टी नेतृत्वविरुद्ध बाबुरामले असहमतिपत्र दर्ता गराएपछि उनी पार्टीभित्रै बन्दी बनेका थिए।

यस्तो छ संरचना

नेकपाको केन्द्रीय संरचना युद्धकालीन छ। केन्द्रदेखि तल्लो तह (सेल कमिटी) सम्म नेकपाको आठ तहको संगठनात्मक संरचना छ। माथिल्लो निकाय केन्द्रीय समितिमा तीन तहको कमिटी छ– पाँच सदस्यीय स्थायी समिति, १२ सदस्यीय पोलिटब्युरो र बाँकी ४१ सदस्यीय केन्द्रीय समिति। स्थायी समितिमा महासचिव विप्लवसहित प्रकाण्ड, सुदर्शन, धर्मेन्द्र बास्तोला (कञ्चन) र सन्तोष बुढामगर (विषम) छन्।

१३ सदस्यीय पोलिटब्युरोमा स्थायी समितिका ५ नेतासहित अनिल शर्मा, ओमप्रकाश पुन, भरत बम, पदम राई, मोहन कार्की, कृष्ण धमला, चन्द्रबहादुर चन्द, उमा भुजेल छन्।

केन्द्रीय समितिपछि विप्लवको संगठनमा मुख्य तीन कमान्ड (पूर्वी, मध्य र पश्चिम कमान्ड) मा शीर्ष नेता परिचालित छन्। मध्यमा हेमन्तप्रकाश वली, पश्चिममा धर्मेन्द्र बास्तोला र पूर्वी कमान्डमा पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ लाई जिम्मा दिइएको थियो। स्थायी समितिका अन्य दुई नेतामध्ये प्रकाण्डलाई आर्थिक परिचालन ब्युरो, प्रचार ब्युरोदेखि पार्टी प्रवक्ताको समेतको जिम्मेवारी दिइएको थियो। केन्द्रीय जनपरिषद् प्रमुखमा भने सन्तोष बुढा चुनिएका थिए।

संविधान नमान्ने घोषणासहित ‘विप्लव’ नेतृत्वको नेकपाले थवाङ बैठकपछि समानान्तर रूपमा स्थानीय तहदेखि नै केन्द्रीय तहसम्मै जनसरकार, संसद् र जनअदालत घोषणा गर्दै जाने नीति बनाएको थियो। त्यसका लागि ‘विप्लव’ कै संयोजकत्वमा पूर्व जनमुक्ति सेनाका डिभिजन सहकमान्डर उदयबहादुर चलाउनेसहित रहेको सैन्य विभाग बनाइएको थियो। पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई जनसंसद् सभामुखको जिम्मा दिइएको थियो।

तीनवटा कमान्ड मातहात रहने गरी देशभित्र १६ वटा ब्युरोको संरचना नेकपाको छ। एउटा अन्तर्राष्टिय ब्युरो छ। यसमध्ये उपत्यका ब्युरोमा माइला लामा ‘प्रज्ज्वल’, जनकपुर ब्युरोमा सन्देश पौडेल ‘अरुण’, सगरमाथा ब्युरोमा दीपेश राई, मेची ब्युरोमा सुमन लिम्बू ‘पाथाङ्गवा’, कोसी ब्युरोमा किरण राई ‘निसान’ निक्रिय बनेपछि केन्द्रीय सदस्य बनाउने गरी घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई अन्तरिम कालका लागि संयोजक बनाइएको थियो। श्रेष्ठ पनि पक्राउ परिसकेका छन्।

धौलागिरी ब्युरोमा धुव्र घिमिरे ‘विप्लव’, राप्ती ब्युरोमा केशबहादुर बाठा मगर ‘सुवास’, महाकाली ब्युरोमा रामप्रसाद तिमल्सिना ‘आरपी’, पूर्वी ताम्सालिङमा वसन्त श्रेष्ठ ‘विजय’ (हाल पक्राउ), नारायणीमा चिरन पुन, पश्चिम ताम्सालिङमा मोहलाल चन्द ‘आधार’, गण्डक ब्युरोमा सावित्री दुरा ‘आस्था’, लुम्बिनीमा चन्द्रबहादुर चन्द, कर्णाली ब्युरोमा खम्बा बुढा ‘एटम’, भेरीमा बलबहादुर ओली ‘शीतल’ र सेतीमा शंकर खड्का ‘सिकन्दर’ नेतृत्वमा छन्। अन्तर्राष्ट्रिय ब्युरो भने पश्चिम कमान्ड इन्चार्ज धर्मेन्द्रले हेरिरहेका छन्।

ब्युरोभन्दा तल्लो तहमा नेकपाको जिल्ला कमिटी, इलाका कमिटी, गाउँ कमिटी हुँदै सेल कमिटीसम्मका चार तहको संरचना छ।
अन्नपूर्णपोष्ट दैनिकबाट