साझा यातायातका ३५ प्रतिशत यात्रुले भाडा तिर्दैनन्, के हो कारण ?

दियो पोस्ट  

काठमाडौं, चैत २४ । साझा यातायातमा चढ्ने यात्रु मध्ये ३५ प्रतिशतले भाडा तिर्दैनन । दुई वर्षदेखि निरन्तर घाटामा गएको साझाले सामाजिक उत्तरदायित्व भन्दै ७० वर्ष माथिका जेष्ठ नागरिक, बालबालिका र अपांगता भएकासँग भाडा लिदैन । यस्तै विद्यार्थीलाई पनि झण्डै ५० प्रतिशत भाडा छुट दिने गरेको छ । साझा बस चढ्ने यस्ता यात्रु करिब ३५ प्रतिशत रहेको साझाले जनाएको छ । ‘सामाजिक उत्तरदायित्व बहन गरिरहेका छौं । त्यस अन्तर्गत करिब ३५ प्रतिशत यात्रुले भाडा छुट पाउँछन्,’ संचालक समितिका सदस्य वसन्त आचार्यले भने ।

करिब २ करोड घाटामा
साझा यातायातले आर्थिक वर्ष ०७४/७५ मा एक करोड ७८ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा साझाले एक करोड ८२ लाख ६५ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो । आम्दानीभन्दा खर्च बढी भएपछि साझा निरन्तर घाटामा गएको हो ।

साझा यातायात सहकारी संस्था लिमिटेडको शुक्रबार भएको १२औं साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार गत वर्ष बस सञ्चालन गरेर १० करोड ११ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको देखिन्छ । त्यस्तै अन्य शीर्षकमा तीन करोड ४२ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

बस सञ्चालनमा खर्च भने १३ करोड पाँच लाख ६२ हजार रुपैयाँ भएको छ । प्रशासनिक खर्च, ब्याज र ह्रास कट्टी तथा कर जोड्दा १५ करोड ३३ लाख ५८ हजार रुपैयाँ खर्च भएको देखिन्छ । साझाले आयकर खर्च ३१ लाख ९८ हजार रुपैयाँ तिरेको छ ।

दुई वर्ष नाफामा, तीन वर्ष घटामा
०७० बाट पुनः सञ्चालनमा आएको साझा यातायातले पाँच वर्षमा दुई वर्ष मात्र नाफा कमाएको छ । आर्थिक वर्ष ०७०/७१ मा साझाले तीन करोड ६९ लाख २३ हजार घाटा व्यहोरेको थियो । ०७१/७२ मा ७२ लाख ६८ हजार नाफा गरेको साझाले ०७२/०७३ मा १ करोड ९९ लाख ७२ हजार नाफा गरेको थियो । तर, ०७३/०७४ मा साझा पुनः एक करोड ८२ लाख ६५ हजार घाटामा गएको थियो ।

साझाले सिटी बस सञ्चालनबाट नाै करोड ४७ लाख ९९ हजार आम्दानी गरेकोमा सबैभन्दा बढी लगनखेल रुटबाट दुई करोड ९२ लाख ४१ हजार कमाएको छ । सबैभन्दा कम गोदावरी रत्नपार्क रुटबाट तीन लाख ३४ हजार मात्र आम्दानी गरेको छ । यस्तै रिजर्भेसनबाट साझाले एक लाख १४ हजार आम्दानी गरेको छ । लामो दुरीको बस सञ्चालनबाट ६२ लाख ७२ हजार आम्दानी गरेको प्रतिवदेनमा उल्लेख छ । साझाले अहिले काठमाडौबाट बाग्लुङ, वीरगञ्ज, भैरहवा र गोरखा गरी चाररुटमा लामो दुरीका बस सञ्चालन गर्दै आएको छ । ०७० मा १६ बसले सेवा सञ्चालन सुरु गरेको साझासँग अहिले ५१ बस छन् । थप २० बस खरिद गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए । उनले देशभर र सम्भव भए सार्क क्षेत्रका विभिन्न राष्ट्रका महानगरसम्म सिधा बस चलाउने कार्ययोजना तयार भइरहेको पनि बताए ।

चुहावट रोक्न स्मार्टकार्ड प्रयोग गरिने
साधारणसभामा सेयरधनीहरूले टिकट अनिवार्य गरिए पनि चुहावट रोकिन नसकेको भन्दै चुहावट रोक्न स्मार्ट कार्ड प्रयोगमा ल्याउन सुझाव दिएका छन् । ‘चुहावट रोक्नका लागि स्मार्ट कार्ड सञ्चालन गर्ने प्रस्ताव आएको छ,’ सञ्चालक समितिका सदस्य वसन्त आचार्यले भने, ‘उपत्यकामा सञ्चालन हुने ठूला बसहरूसँग समन्वय गरेर सबै बसमा चल्ने स्मार्ट कार्ड प्रयोगमा ल्याउने तयारी छ ।’
नयाँपत्रिका दैनिकबाट