प्रहरीकै संरक्षणमा अवैध ढुंगाखानी संचालन : जनप्रतिनिधिसमेतले घुस खाएपछि तैंचुपमैचुप !

दियो पोस्ट  

काठमाडौं, चैत २७ । दक्षिणी ललितपुरका लेले, टीकाभैरव र देवीचोर क्षेत्रका वन क्षेत्र स्काभेटर र ब्रेकर प्रयोग गरी ढुंगा उत्खनन् गर्ने काम तीव्रगतिमा भइरहेको छ । प्रहरी प्रशासनदेखि जनप्रतिनिधिलाई सेटिङ गरी वन क्षेत्रमा ढुंगाखानी संचालन भइरहेको छ । अवैध ढंगले गरेको ढुंगा निकासीका कारण ललितपुरको दक्षिणी भेगको वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ भने वातावरणीय सन्तुलन बिग्रेको छ ।

अबैध ढुंगा निकासीले ५ रोपनी भन्दा बढी वन क्षेत्रको जग्गा मासिएको स्थानीय बताउँछन् । हेभी इक्युपमेन्ट प्रयोग गरी ढुंगा उत्खनन् गर्दा चराचुरूड्डीको वास स्थान नष्ट भएको छ,पानीको मुहान नै सुक्दै गएका छन् ।  स्थानीयले बिरोध गर्दा पनि प्रहरीले बेवास्ता गरी निर्वाधरुपमा ढुंगा उत्खनन् गरी निकासी गर्न छुट दिएको छ ।


 ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्रसिंह धानुकले कहिलेकहीँ आक्कलझुक्कल ढुंगा गिटी बोकेका ट्रिपर समाते झै गर्छन् । र, एसएसपी धानुकले बेवास्ता गर्दा अवैध रुपमा उत्खनन् गरिएका ढुंगा गिटी निकासी खुरुखुरु हुँदैआएको छ । ललितपुर प्रहरीका प्रहरी इकाइहरूले मासिक रुपमा बुझाउँदैआएको घुस नदिएपछि ढुंगागिटी लोड भएका टिपर समात्न लगाउने गर्दछन् । तर, प्रहरीसंग मासिक घुसको कुरा मिलेपछि वन मासेर खुलेआम निकासी गर्न छुट दिनेगरेको आरोप छ । 


 अवैध रुपमा उत्खनन् गरेको ढुंगागिटी निकासी गर्ने क्रसर ब्यवसायी संघ जुन दर्ता नै छैन । त्यसका अध्यक्ष सुदर्शन बिष्ट रहेका छन् । विनादर्ताको अबैध क्रसर ब्यवसायी संघका अध्यक्ष बिष्टले ढुंगागिटी निकासीका लागि प्रहरीदेखि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका सभापति र गोदावरी नगरपालिकाका वडाध्यक्षदेखि मेयरसम्म मिलाउने गरेको स्रँेत बताउछ । गोदावरी नगरपालिकाका वडाध्यक्षमध्ये धेरै क्रसरकै संचालक छन् । मासिक करीब २५ लाख रुपैयाँ क्रसरवालाहरूसँग प्रशासन र प्रहरी मिलाउनकै लागि संकलन गरी बिष्टले ठाउँ ठाउँमा पु¥याउने गरेको स्रोतले बताएको छ । 


अवैध ढुंगा गिटी निकासीमा प्रहरीदेखि सबैतिर सेटिङ भएकै कारण गोदावरी नगरपालिकादेखि जिल्ला समन्वय समितिका जनप्रतिनिधिले आँखा चिम्लिने गरेका छन् । लेले, टीकाभैरव, देवीचौर,  क्षेत्रका वनमा हरेक दिन दर्जनौं स्काभेटर र भ्रेकर (भाइब्रेसनका मद्दतले ठूल्ठूला ढुङ्गा फोर्ने मेसिन)को प्रयोग गरी ढुङ्गा उत्खनन् गर्ने कार्य हुँदा पनि प्रहरी, प्रशासन र जनप्रतिनिधि(माननीय सभासद) मौन बस्नुको घुसकै कारण भएको स्थानीयको भनाइ छ ।


यी क्षेत्रको वनमा ढुंगा उत्खनन् गर्नेमा मुख्य हात गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जनको रहेको स्रोतको दावी छ । उनीसँगै स्थानीय व्यापारी वीरेन्द्र महर्जन, श्याम महर्जन, मधुसुदन डोटेल, सुदर्शन बिष्टहरू पनि संलग्न छन् । गोदावरी नगरपालिकाले १ बर्षअघि ललितपुरको दक्षिणी भेगमा मापदण्ड विपरीत करीब ५२ वटा क्रसर सञ्चालनको अनुमति दिएको थियो । ढुंगाको अवैध निकासी थालिएसँगै टीकाभैरव र देवीचौर क्षेत्रका वनको क्षेत्रफल घट्न थालेको छ । 


दुई बर्षअघि संसदको प्राकृतिक स्रोत साधन समितिले समेत यस ठाउँमा वातावरणीय प्रभाव, वन विनास, धूलो धुवाँलगायतका प्रदुषण, स्थानीयको कष्टकर जनजीवनलाई हेरेर खानी तथा क्रसर सञ्चालन गर्न पूर्णरुपमा रोक लगाएको थियो । तर, गोदावरी नगरपालिकाका जनप्रतिनिधिले नै उक्त निर्देशन विपरीत खानी सञ्चालन गर्न छुट दिएका छन् । खानी विभागसँग समन्वय गरेर मात्र खानी सञ्चालन गर्न दिनुपर्ने कानूनी ब्यवस्था छ । तर, गोदावरी नगरपालिकाले खानी विभागसँग समन्वय नै नगरी उद्योग सञ्चालनको अनुमति दिएको छ । 

जनप्रतिनिधि नै क्रसर ब्यवसायी


गोदावरी नगरपालिकाका प्रमुखदेखि वडाध्यक्षसम्मको क्रसर र खानीमा लगानी छ । स्रोतका अनुसार वडा नम्बर–८ का वडाध्यक्ष सुकबहादुर लामा, ६ का बिष्णुमान महर्जन, ३ का मिलन सिलवाललगायतमध्ये कसैको क्रसर छ उद्योग छन् भने कसैका ट्रिपरहरू छन् । अरु वडाध्यक्षहरू कोही प्रत्यक्ष क्रसर उद्योगसँग जोडिएका छन् भने कसैको साझेदारी रहेको स्रँेत बताउछ । प्रायः सबै क्रसर, खानी र ट्रिफरसँग जोडिएका छन् ।

 
नगरपालिकाको वडा नम्बर–८ डुकुछापका वडाध्यक्ष सुकबहादुर लामाले राजनीतिक र प्रशासनिक शक्ति प्रयोग गरेर सयौं रोपनी सरकारी जग्गा अतिक्रमण गर्दा पनि उनीमाथि केही कारबाही हुन सकेको छैन । वडाध्यक्षले नै सरकारी जग्गा अतिक्रमण गर्दा पनि नगरपालिका मौन देखिएपछि स्थानीय जनताले आश्चर्य प्रकट गरेका छन् । (साँघु साप्ताहिक, चैत २५)