बिचौलियाकै राज : सेक्युरिटी प्रिन्टिङ प्रेसदेखि बुढीगण्डकी र स्याटेलाइटसम्म भट्टको साम्राज्य !

दियो पोस्ट  

काठमाडौं । नेपालका ठूला आयोजनाहरुमा बिचौलियाकै बोलवाला चल्दैआएको छ । मन्त्रीदेखि प्रधानमन्त्रीको बेडसम्म बीचौलियाहरुको पहुँच छ । १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको लाइसेन्स विनाप्रतिस्पर्धा बिचौलिया दीपक भट्टले लिएका छन् । चाइना गेजुवा कम्पनीले लाइसेन्स होल्डमात्र गर्ने गुनासोपछि यसअघिको शेरबहादुर देउवा सरकारले उक्त कम्पनीसँगको सम्झौता खारेज गरी नेपालले नै बनाउने निर्णय गरेको थियो ।


तर, वर्तमान केपी ओली सरकार गठन हुनासाथ नेपालले बनाउने तयारी गरिसकेको बुढीगण्डकी विनाप्रतिस्पर्धा विवादास्पद कम्पनी गेजुवालाई नै दिएको छ । ४–५ हजार घुस खाने कर्मचारी पक्राउ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग अरबौं रुपैयाँको बुढीगण्डकी आयोजना विनाप्रतिस्पर्धा गेजुवालाई दिंदा मौन छ । छानबिन गर्ने हिम्मत सरकारको छायाँमा परेको अख्तियारसँग छैन ।


त्यसैकारण २६ अर्ब रुपैयाँ लागतको सेक्युरिटी प्रिन्टिङ प्रेसको लागत बिचौलियाकै कारण बढाएर ४२ अर्बमा पु¥याइएको छ । २६ अर्ब रुपैयाँ लागत स्टीमेट तयार गरेको सेक्यु्रिटी प्रिन्टिङ प्रेसको लागत बढाई १६ अर्ब बढाई ४२ अर्ब पु¥याएर खरिद गर्नलागिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी) खरिद गर्ने भनिएको छ । जीटुजी खरिद गर्दा पनि नेपाली एजेन्ट राखिएको छ । त्यो एजेन्टमा पहिला आङछिरिङ शेर्पा थिए । तर उनको दुःखद निधनपछि सुरक्षा निकायमा हतियारदेखि विभिन्न सामान सप्लाई गर्दैआएका दीपक भट्ट सेक्युरिटी प्रिन्टिङ प्रेसका नेपाली एजेन्ट हुन् ।

विहिबारको युनाइटेड पोस्ट साप्ताहिकमा खबर छ–शेर्पाको निधनपछि उनलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मित्रघात गरी एकाएक सेक्युरिटी प्रेसका एजेन्टमा भट्टलाई प्रवेश गराएका छन् । ४२ अर्बको सेक्युरिटी प्रेस खरिद गर्दा एजेन्टबापत २ प्रतिशत कमिसन पाउँदा पनि ८४ करोड हुन्छ । त्यसैगरी संचार मन्त्रालयले भूउपग्रह(स्याटलाइट)को ठेक्का पनि दीपक भट्ट नै एजेन्ट रहेको कम्पनीलाई दिएको छ । स्याटलाइटमा पनि करोडौं रुपैयाँ कमिसनको चक्कर रहेको स्रोतले बताएको छ । अरबौं रुपैयाँको नीतिगत भ्रष्टाचार हुँदा प्रतिपक्षी नेपाली कांग्रेस चिरनिन्द्रामा छ । ऊ ओली सरकारका भ्रष्टाचारका बिरुद्ध संसदमा आवाज समेत उठाउन असमर्थ देखिएको छ । इतिहासमै यति कमजोर प्रतिपक्षका कारण सरकार मनपरी गरिरहेको छ ।

प्रतिपक्षी नेता शेरबहादुर देउवाले बुटवलमा गएर ओली सरकारले बुढीगण्डकी गेजुवालाई बेचेको भाषण गरे ।


तर, संसदमा उनी र उनको पार्टीका सांसदले सरकारले गरेका अरबौंका नीतिगत भ्रष्टाचारलाई उजागर नै गर्न सकेको छैन । बुटवलमा गएर बुढीगण्डकीको बारेमा झिनो स्वरमा बिरोध गर्नुको कारण बिचौलिया भट्टसँग देउवाको बार्गेनिङका रुपमा पनि लिएका छन् । सुरक्षा निकायमा हतियार, पानीको फोहोरा(वाटर क्यानन) देखि अरु बन्दोबस्तीका सामान समेत भट्टकै साम्राज्य छ । अब हाइड्रोदेखि सेक्युरिटी प्रेस र स्याटलाइटमा पनि बीचौलिया भट्ट जोेडिन पुगेका छन् ।


नेकपाको दुईतिहाई सरकारले सुशासनको जतिसुकै नारा लगाए पनि बिचौलियाको घेरामा छ भन्ने कुरा भट्टको पहुँच प्रधानमन्त्री केपी ओलीको बेडसम्म हुनुले नै पुष्टी गरेको छ ।