काठमाडौं । प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेस शिर्ष नेताहरूको व्यक्तिगत स्वार्थ र पदीय लोभका कारण कमजोर बन्दै गएको छ । सभापति शेरबहादुर देउवाले पेलेर लैजान खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरू सशंकित छन् । सरकारको अधिनायकवादबाट आजित बनेका सर्वसाधारणहरूले कांग्रेसलाई विकल्पका रुपमा लिन थालेका छन् । तर, कांग्रेसका नेताहरूले आफूलाई सुध्रिन दिएका छैनन् । आफूभित्रको लडाइँले गर्दा गुटहरूभित्र पनि उपगुटले जरो गाड्न थालेको छ ।
केही दिन अगाडि कार्यसम्पादन समिति गठनको विषयमा सहमति नजिक पुगेर अन्तिम समयमा केन्द्रीय कार्यसमिति बैठक नै स्थगित गर्न सभापति देउवा बाध्य भएका थिए । देउवाले गत शुक्रबार कार्यसम्पादन समिति गठनका लागि सहमतिको प्रयास गरी ४० प्रतिशत सदस्यको नाम माग्दा पौडेलले टुंगो लगाएर दिन नसकेपछि शनिबारको केन्द्रीय कार्यसमिति बैठक स्थगित गर्नु परेको बताएका थिए । अब जहिले नाम आउँछ त्यसपछि मात्र केन्द्रीय समिति बैठक डाक्ने जानकारी देउवाले दिएका थिए ।
देउवाले विगतदेखि वर्तमानसम्मको पार्टीको विधान अनुसार विभाग गठनका लागि केन्द्रीय कार्यसमिति बैठक बस्न नपर्ने बताउँदै यसका लागि अब धेरै ढिला नगरी विभाग गठन गर्न र पार्टीका सदस्यहरूलाई क्रियाशील बनाउन चाहेको पनि बताएका थिए । कतिपय नेताहरूले कार्यसम्पादन समिति गठनको विषयमा पुरानो विधान अनुसार २९ सदस्यीय बनाउने भनि सहमति भएको तर, केन्द्रीय निर्वाचन समिति भने नयाँ विधान बमोजिम तीनको सट्टा पाँच सदस्यीय गठन भइसकेको भन्दै यसरी दोहोरो मापदण्डमा नचल्न नेतृत्वलाई सुझाव दिएका थिए । त्यसरी नयाँ विधान वमोजिम कार्यसम्पादन गठन गर्दा सभापतिले ३१ सदस्य मनोेनीत गर्न सक्ने व्यवस्था रहेको छ । जहाँ १४औं महाधिवेशनबाट निर्वाचित भएर आउने ८ जना सहमहामन्त्रीमध्ये अहिलेका एक सहमहामन्त्रीको संख्या कटाएर ३९ सदस्यीय कार्यसम्पादन समिति बनाउने विकल्पबारे सहमतिका आधारमा अघि बढ्नेबारे पनि नेताहरूबीच छलफल भएको थियो ।
विहिबारको युनाइटेड पोस्टमा खबर छ– विगतको अभ्यास र विधानको व्यवस्था अनुसार पार्टीका सबै विभागहरूको गठन गर्ने अधिकार सभापतिलाई दिएको र आफूले पनि विभाग गठन गरी पार्टीका साथीहरूलाई जानकारी दिने सक्ने अवस्था रहेको धारणा देउवाले राखेका थिए । पौडेलले कार्यसम्पादन समितिमा मर्यादाक्रम अनुसार मिलाएर गठन गर्न राखेको प्रस्तावप्रति विमलेन्द्र निधिलगायत देउवा पक्षका नेताहरूले पार्टीको मर्यादाक्रममा समस्या देखिएको भन्दै अब त्यो मर्यादाक्रमका आधारमा भन्दा सभापतिकै प्रस्ताव वमोजिम जो जति संख्या आफ्नो भागमा पर्छ त्यसैमा आवश्यकता अनुसार मिलाएर गठन गर्न जोड दिएका थिए ।
यता, बैठकमा आमन्त्रण गर्दा पनि अनुपस्थित रहेका नेता कृष्णप्रसाद सिटौलाले मुख्य सचिव कृष्ण पौडेललाई आफूले डाक्टरसँग स्वास्थ्य परीक्षणका लागि समय लिएको बताउँदै अनुपस्थित भएका थिए । उनले सभापति देउवाले आफूलाई अपमान गरेको गुनासो गरेका छन् । नेता सिटौलाले पार्टीभित्र विभाग गठनमा समेत भागबण्डा हुने गरेको उल्लेख गर्दै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भइरहेको बताए ।