प्रहरीकै सेटिङमा पूर्व जर्नेलको घर बन्यो जुवाको अखडा !

दियो पोस्ट  

ललितपुर । राजधानीमा प्रहरीकै सेटिङमा ठाउँ–ठाउँमा मिनी क्यासिनो चल्न थालेका छन् । नेपाली सेनाका पूर्व जर्नेल होमकुमार लावतीले आफ्नै घरलाई जुवाको अडखा अर्थात ‘मिनी क्यासिनो’ बनाएर चलाएका छन् । लावतीले ललितपुरस्थित आफ्नै निवासमा नाम चलेका व्यापारी, राजनीतिक दलका नेता र स्थानीय गुण्डाहरूलाई राखेर अवैध जुवा खेलाउने गरेको प्रहरी स्रोत नै बताउँछ । नेपाली सेनामा कार्यरत रहेका बेला पनि लावतीले जुवा खेलाउँदै आएका थिए, जुन बेला पनि उनी विवादमा परेका थिए । पूर्व जर्नेल लावतीले ललितपुरको सातदोबाटो र धापासीहाईटमा दिनहुँ जसो जुवा, तास र कौडा खेलाउने गर्छन् । लावतीका कारण एक दर्जन व्यक्तिको घरबार बिग्रिएको छ ।
प्रहरीसँग सेटिङ मिलाएका लावतीले एक हजार प्वाइन्टमा म्यारिज खेलाउँछन् । जुवा खेलाएवापत उनले केही निश्चित रकम लिन्छन् । जुवामा हार्नेहरूलाई लावतीले कागज गरेर मिटर व्याजमा पैसा ऋणमा पनि लगाउने गरेको एक जुवाडे बताउँछन् । विशेष गरेर पूर्व जर्नेल लावतीले शनिबारको दिन भने कौडा खेलाउने ति जुवाडे बताउँछन् । पूर्व जर्नेल लावतीले अवैध रुपमा जुवा खेलाउँछन् भन्ने जानकारी ललितपुर प्रहरीलाई पनि छ । तर पनि ललितपुर प्रहरीका प्रमुख एसएसपी रविन्द्र धानुकले लावतीको दुई वटा जुवा अखडामा छापा मार्न हिम्मत गरेका छैनन् । ललितपुर परिसरको नाममा पनि मासिक रुपमा पैसा जाने गरेको स्रोतले बतायो । जुवाडेलाई मिटरव्याजमा पैसा दिएर लावतीले धेरैको जग्गा र घर खाइदिएका छन् । लिम्बु माइला, लण्डन गेस्ट हाउसका मालिक ललितपुर महालक्ष्मीस्थानका शिव राईको जग्गा पूर्व जर्नेल लावतीले मिटरव्याजकै कारण कब्जा गरिदिएको उनीहरुले बताउने गरेका छन् ।
जगा पास गरेर दिनेहरूमा लिम्बू माईला, गोकुल बस्नेत र सञ्जीव थापा हुन् । लावतीले ललितपुरको खुँखार जुवाडे भनेर नाम कहलिएका सचिन महर्जनसंग सेटिङ मिलाउने गर्छन् । महर्जनले जुवा खेलेरै करोडौँको सम्पत्ति जोडेका छन् । समान्य परिवारका सचिन महर्जनसँग अहिले एक अर्बभन्दा धेरै सम्पत्ति छ । ललितपुरमा जुवाडेका रुपमा कहलिएका महर्जनले सट्टेबाजीमा पनि काम गर्छन् । लावती र महर्जनबीच ठूलो दोस्ती छ । जुवा खेल्न आउने जुवाडेलाई लावती र सचिव महर्जन मिलेर कंगाल बनाउने गरेको आरोप छ ।
लावतीले जुवाको अखडाको सुरक्षाका लागि पाटनका टोले गुण्डाहरूलाई पालेर समेत राखेका छन् । लावती र महर्जनले महिनावारी तलब दिएर १० जनाभन्दा बढी टोले गुण्डाहरू पालेर राखेको स्रोतले जनाएको छ । जुवाबाट कमाएको पैसाबाट जुवाडे सचिन महर्जन चार पटक युरोप घुम्न गइसकेका छन् । लावतीको जुवाको अखडामा नेपाली कांग्रेसका पूर्व सांसद तथा काभ्रेका नेता तीर्थ लामा, पूर्वसांसद एवम् करातेका खेलाडी मोहनकुमार राई, विष्णु लामालगायतकाहरू खेल्न आउने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

विहिबारको युनाइटेड पोस्टमा खबर छ ।