तीन करोडको ठेक्का ३० लाखमा हत्याएर विमानस्थलमा लुटधन्दा

दियो पोस्ट  

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलभित्रको स्टोराइल कक्षमा रहेको कफीसपबाट अबैध विदेशी मुद्राको कारोबार गरेको प्रमाण भेटिएपछि कफीसपका सञ्चालक सुवास श्रेष्ठलाई पक्राउ गरी मुद्दा चलाइएको छ । श्रेष्ठलाई गत शुक्रबार बैङकक जाने क्रममा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुले शंका लागि चेकजाँच गर्दा उनको साथबाट २२ हजार १ सय ५० थाई भाट, १० हजार अमेरिकन डलर, ८० हजार चिनियाँ यूआन र १ हजार ३ सय ८० यूरो अबैध विदेशी रकम बरामद गरेका थिए । लगत्तै राअबीका कर्मचारीले प्रहरीलाई जिम्मा लगाए पनि विदामा बसेका विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दिप भण्डारीले प्रमाण के छ भन्दै छाडेका थिए । सो विषयले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म हंगामा मच्चिएपछि सुरुमा श्रेष्ठलाई छाडेका भण्डारीले आफू फस्ने डरले पुनः श्रेष्ठलाई पक्राउ गरी राजश्व अनुसन्धान विभाग पठाएका थिए । अहिले सरकारले श्रेष्ठको स्टोराईल कक्षमा रहेको कफी सपलाई शिलवन्दी गरिसकेको छ । ९ वर्षदेखि विमानस्थलमा सातवटा भन्दा बढि पसल राखेर एकछत्र राज गर्दै आएका श्रेष्ठका कारण सुरक्षामा चुनौती थपिएको छ ।


त्यसो त विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, कर्पोरेट महाशाखा प्रमुख नारायणी डंगोल र बिष्णु अधिकारीको मिलोमतोमा बिमानस्थलभित्र राखिएको लगेज ¥यापिङको ठेक्का हालसम्म पनि अदालतको आदेश भन्दै एकलौटी रुपमा श्रेष्ठले चलाईरहेका छन् । जसका कारण यात्रुहरु ठगिने गरेका छन् । बिमानस्थलले २०७३ कार्तिक २२ गते बोलपत्र खोल्ने गरी आब्हान गरेको लगेज ¥यापिङको ठेक्कामा श्रेष्ठको कम्पनी स्वनीगा सर्भिसले पनि सहभागिता जनाएको थियो । उक्त ठेक्कामा ३ बर्षको लागि ३ करोड कबोल गरिएको थियो ।


तर, त्यो ठेक्का आफूलाई नपरेपछि अदालतमा सेटिङ मिलाई राज्यलाई बार्षिक करोडौ नोक्सान हुने गरी श्रेष्ठले ३ करोडको ठेक्का ३० लाखमा चलाईरहेका छन् । विमानस्थको अन्तर्राष्ट्रिय टर्मिनल तर्फ प्रस्थानको चेकईन एरियामा रहेको लगेज ¥यापिङको लागि बोलपत्र आव्हान भएको थियो । तर, श्रेष्ठको कम्पनीले ठेक्का नपाउँदा उनले अदातको दुरुपयोग गरेका हुन् । उक्त बोलपत्रमा ७ बटा कम्पनीले सहभागिता जनाएका थिए । सहभागिता जनाएकामध्ये सबैभन्दा बढी ३ कारोड मूल्य कबोल गर्ने साई किरण इन्टरप्राइजेजले हाल सम्म पनि सञ्चालन गर्न पाएको छैन । सञ्चालक श्रेष्ठले विमानस्थलका महानिर्देशक संजिव गौतम, महाप्रबन्धक क्षेत्री र कर्पोरेटका प्रमुखदेखि उपप्रमुखसम्मलाई मोटो रकम मिलाएर ¥यापिङको काम गर्दै आएका छन् ।


विगत लामो समयदेखि नै ¥यापिङको ठेक्का हत्याइरहेका श्रेष्ठको स्वनिगा सर्भिसले त्यतिबेला २ करोड ३२ लाख मूल्य कबोल गरी बोलपत्र पेश गरेको थियो । तर, उनले आफूलाई उक्त ठेक्का नपर्ने जानकारी पाएपछि उच्च अदालत पाटनमा सेटिङ मिलाई बोलपत्र खुलेकै दिन स्टे अर्डर जारी गर्न लगाएर आजसम्म पनि ¥यापिङको काम गरिरहेका छन् ।


उक्त मुद्दा हालसम्म पनि मुल्तबिमा छ । उच्च अदालतको आदेशका बिरुद्धमा सर्बाेच्च आदलतमा जानुपर्ने बाटो खुल्ला थियो । तर, बिमानस्थलका महाप्रबन्धक क्षेत्री अझै आँखा चिम्लेर बसेका छन् । बिमानस्थलको तर्फबाट राखिएका वकिल सोमकान्त मैनाली नाताले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाञ्जि ज्वाँई हुन् । मैनाली पनि श्रेष्ठ निकट मानिन्छन् । महानिर्देशक, महाप्रबन्धक, कर्पोरेटका कर्मचारीहरु र वकिललाई मोटो रकम खुवाएर मुद्दालाई आफ्नो पक्षमा पारी हालसम्म बिमानस्थलमा ब्रमलुट मच्चाईरहेका श्रेष्ठ पक्राउ परेसँगै अब भने विमानस्थलका भ्रष्ट कर्मचारीको कमाई खाने भाँडो नै बन्द हुने अवस्था सृजना भएको छ ।


स्वनिगा सर्भिसले बर्षको १० लाख मात्र भाडा तिरी ¥यापिङको काम गर्दै आएको अवस्थामा श्रेष्ठको कम्पनीलाई हटाई बढि कबोल गर्ने साई किरणलाई ठेक्का दिएको खण्डमा एकातिर बिमानस्थलको राजस्व बृद्धि हुने देखिन्छ भने अर्कोतिर लुटतन्त्र मच्चाइरहेका श्रेष्ठमाथि कारबाही हुने देखिन्छ ।

भण्डारी र राउतले बुझ्छन् कमिसन


विवादास्पद ब्यापारी श्रेष्ठले चलाएको सिन्डिकेटका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र आन्तरिक र वाह्य पर्यटक तथा सेवाग्राहीहरू दिनदहाडै लुटिने गरेका छन् । अति संवेदनशिल क्षेत्र स्टराइल कक्षमा रहेका कफि सपमा उनले लुटतन्त्र मच्चाइरहेका छन् । शक्ति केन्द्रलाई रिझाएकै भरमा श्रेष्ठले ५०० प्रतिशत भन्दा बढि नाफा लिएर कफि, पेय पदार्थ, जंक फुडहरु विक्री गरी सेवाग्राहीहरुलाई लुटिरहेका छन् । जवकि सरकारी मापदण्ड अनुसार २० प्रतिशत भन्दा बढि नाफा लिन पाईंदैन । विमानस्थल सुधारका लागि तत्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले झण्डै एक वर्ष अघि नै १० बुँदे निर्देशन जारी गरेको भएपनि त्यसले श्रेष्ठलाई भने छोएन ।
श्रेष्ठको होटेल स्वनिगाको नामबाट अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल प्रस्थान कक्षमा सञ्चालित आधा दर्जन पसलमा संकलन हुने विदेशी मुद्रा अवैध तरिकाले मुलुक बाहिर तस्करी हुने गरेको उनी पक्राउ परेसँगै पुष्टि भएको छ । राजपाका नेता शरतसिंह भण्डारीले पर्यटनमन्त्री छँदा नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराई निर्जला राउत र श्रेष्ठको साझेदारीमा रहने गरी त्रिभुवन विमानस्थलको स्टराइल कक्षमा टि कफी सप सञ्चालन गर्न अनुमति दिलाएका थिए । सो वापत भण्डारीले आजसम्म पनि श्रेष्ठबाट अवैध रकम आर्जन गर्दै आइरहेको स्रोत बताउँछ । निर्जला भने भण्डारी निकट महिला हुन् । तर, सेवाग्राहिहरु भने ठगिएको ठगिएकै छन् ।


श्रेष्ठको नाममा रहेको ग्रिनतारा मिडिया ग्रुप मार्केटिङ प्रालिले ९ वर्षदेखि विमानस्थल परिसरभित्र रहेको गोल्डेन गेटदेखि अप्रेसन भवनसम्म २५ थान र इन्टरनेशनल टर्मिनल भवनदेखि डोमेस्टिक टर्मिनल भवनसम्म २५ थान विज्ञापनका होर्डिङ बोर्ड राख्न अनुमति पाएको छ ।

२०६६ भदौ २२ र २०६८ भदौ ११ मा दुई पटक गरी १० वर्षका लागि सम्झौता गरिएको थियो । सो सम्झौतामा उक्त होर्डिङ बोर्डका साथै विमानस्थल भित्रका उपर्युक्त क्षेत्रहरुमा ब्यूटिफिकेशन (गार्डेन बनाउने र साजसज्जा) कार्य गर्न सम्झौता भएको थियो । तर, एक दशक वित्न लाग्दा पनि श्रेष्ठले पैसा र शक्तिको आडमा कुनै पनि ब्यूटिफिकेशनको कार्य नगरी होर्डिङ बोर्डको मात्रै काम गर्दै आइरहेका छन् ।


एउटा होर्डिङ बोर्ड राख्दा बार्षिक ९ लाखसम्म असुल्ने श्रेष्ठले महानगरपालिकालाई तिर्नुपर्ने कर समेत बुझाएका छैनन् । तर, उनले बार्षिक रुपमा भण्डारी र राउतलाई भने कमिसन बुझाउँदै आएका छन् । स्रोतका अनुसार १० वर्षको अवधि सकिन लाग्दा श्रेष्ठले सम्झौता नविकरणका लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई प्रभावमा पार्न खोजेका छन् । गौतमको अवधि सकिन लागेको छ भने पुनः थप्नका लागि उनी चलखेलमा जुटेका छन् ।

विहिबारको युनाइटेड पोस्टमा खबर छ ।