काठमाडौं, २८ चैत्र । कम्पनी रजिस्ट्रारको कार्यालयले कर चुक्ता नै नगरी सुरेन्द्रबहादुर सिंहको नामको गिल्ट इन्भेष्टमेन्ट प्रालि जयन्ती थापाको नाममा नामसारी गरेको खुलासा भएको छ ।
बिहिबारको आर्थिक दैनिकमा खबर छ– गिल्ट इन्भेष्टमेन्ट प्रालिले दरबारमार्गमा रहेको पाँचतारे होटल याक एण्ड यतिमा रोयल क्यासिनो सञ्चालन गर्दै आएको छ । २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको गिल्ट इन्भेष्टमेन्ट प्रालि गत भदौ तेस्रो साता रोयल क्यासिनोकै कामदार रहेकी जयन्ती थापाको नाममा सारिएको थियो ।
क्यासिनोकी एउटा सामान्य मजदुर थापाले कहाँबाट २५ करोड रुपैयाँ ल्याएर उक्त कम्पनी किनेकी हुन्, उनको स्रोतमाथि छानबिन होस् भनी सम्पत्ति शुद्धीकरण विभागमा परेको उजुरी विचाराधीन अवस्थामै रहेको बेला गिल्ट इन्भेष्टमेन्टका सुरेन्द्रबहादुर सिंहले कर चुक्ता नै नगरी सोही क्यासिनोकी मजदुर जयन्ती थापाको नाममा उक्त कम्पनी नामसारी गरेको थाहा भएको हो । गिल्ट इन्भेष्टमेन्ट प्रालिले १३ करोड २८ लाख ५९ हजार ४ सय १४ रुपैयाँ कर बुझाउन बाँकी रहेको छ । आर्थिक दैनिकले त्यस सम्बन्धमा समाचार छापेपछि पर्यटन मन्त्रालयले कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयसँग विवरण मागेको थियो र कुमारी चोकले मन्त्रालयलाई त्यस सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन रहेकाले कर चुक्ता विवरण उपलब्ध नभएको जानकारी गराएपछि मन्त्रालयले पर्यटन विभागलाई सक्रिय बनाएको हो ।

गत भदौको १५ गते अर्थात् अगस्ट ३१ म कम्पनी रजिस्ट्रारको कार्यालयले सुरेन्द्रबहादुर सिंहको नाममा रहेको रोयल क्यासिनो सञ्चालन गर्ने २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको गिल्ट इन्भेष्टमेन्ट प्रालि त्यही क्यासिनोमा का मगर्ने जयन्ती थापाको नाममा नामसारी भएको थियो र सेप्टेम्बर ३ तारिखदेखि जयन्ती थापाले रोयल क्यासिनो सञ्चालन गर्दै आएकी छिन् । २५ करोड चुक्ता पुँजी भएको कम्पनी किन्ने उनको आर्थिक हैसियत नदेखिएकाले आर्थिक दैनिकले त्यससम्बन्धी समाचार खोल्दै आएको थियो र यही क्रममा सुरेन्द्र बहादुर सिंहले कर चुक्ता नै नगरी कम्पनी रजिस्ट्रारलाई मोटो रकम नजराना दिएर कम्पनीको नामसारी गरिदिएको समाचार स्रोतको दाबी छ । सिंहले क्यासिनो जयन्ती थापालाई बेचेको भनी होटल सञ्चालक राधेश्याम सर्राफलाई जानकारी गराउँदा सर्राफले कर चुक्ताको कागज मागेको तर सिंहले पछि दिउँला भनी झुक्याएको समेत स्रोतको दाबी छ । रोयल क्यासिनोले यसअघि नै तिर्नुपर्ने तर नतिरेर कुमारी चोकले बक्यौता बाँधेर राखेको १४ करोड ५४ लाख रुपैयाँ हर्जना समेत १७ करोड रुपैयाँ नाघिसकेको छ । त्यसमा अहिलेको १३ करोड २८ लाख रुपैयाँ थप्दा बक्यौता रकम ३० करोड रुपैयाँभन्दा बढी भइसकेको छ । ३१ करोड रुपैयाँ रोयल्टी बक्यौता रहेको कम्पनीको कर चुक्ता नगराई नामसारी गरिनुले सुरेन्द्रबहादुर सिंह र कम्पनी रजिस्ट्रारको बीच अपवित्र सम्बन्ध रहेको ठाडै नकार्न सकिने अवस्था नदेखिने समाचार स्रोतको दाबी रहेको छ ।