वर्ष २०७५ : यी हुन् नसुल्झिएका अपराध कथा

दियो पोस्ट  

अपराध अनुसन्धानमा नेपाल प्रहरीको प्रशंसा र आलोचना दुवै हुने गरेको छ । कतिपय जटिल घटनाका अनुसन्धानमा प्रहरी छोटो समयमै सफल भएको छ भने कतिपय घटनाको अनुसन्धान वर्षौँसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन । धेरै राम्रा काम गर्दा पनि केही ठूला घटनाको अनुसन्धानमा असफलता हात लाग्दा प्रहरी बर्दीमा दाग लाग्ने गरेको छ । जति मिहिनेत गरे पनि अनुसन्धानमा सफलता नमिल्नुलाई प्रहरी अधिकारीले भाग्यले साथ नदिएको ठान्ने गरेका छन् । विश्वकै अपराध अनुसन्धानमा ९० प्रतिशत मिहिनेत र १० प्रतिशत भाग्यको भूमिका हुने विश्वास गरिन्छ । ठूला घटनाको अनुसन्धानमा प्रहरीको सफलता र असफलताबारे नयाँपत्रिका दैनिकका नवराज मैनालीको रिपोर्ट :

निर्मला पन्त बलात्कारपछि हत्या नौ महिनासम्म अनुसन्धान शून्यमै
१० साउनमा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना वर्ष ०७५ को सर्वाधिक चर्चामा रह्यो । यो घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धानमै लापरबाही गर्दा प्रहरी मात्र होइन, सरकारसमेत आलोचित बन्यो । तर, करिब नौ महिना हुन लाग्दासमेत प्रहरी अनुसन्धान शून्यमै छ । अनुसन्धानमा लापरबाही गरेको र शोधपुछका लागि बोलाएकाहरूलाई यातना दिएको अभियोगमा आठ प्रहरीविरुद्ध मुद्दा चलिरहेको छ । 

पूर्वराजदूत केशवराज झा हत्या अन्तर्यमा पुग्न सकेन अनुसन्धान

गत ४ भदौमा बबरमहलस्थित घरमै हत्या गरिएका पूर्वराजदूत केशवराज झाका हत्यारालाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । प्रहरी अनुसन्धान घटनाको अन्तर्यमा पुग्नै सकेको छैन । आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले हानेर झाको हत्या भएको थियो । एउटा झ्यालको जाली थोरै काटिएको भेटिए पनि हत्यारा कहाँबाट प्रवेश गर्‍यो भन्ने प्रहरीले मेसो नै पाउन सकेको छैन । परिस्थितिजन्य अवस्था हेर्दा उनकै घरका पाले कान्छा तामाङको संलग्नता देखिए पनि प्रमाण नभेटिएकाले उनी छुटिसकेका छन् । छोरा–बुहारी विदेश गएको भोलिपल्टै झाको हत्या भएको थियो । 

अपराधको लिंक भेट्न वर्षौँ लाग्न सक्छ : डिआइजी नीरज शाही, सिआइबी
अन्त कतैबाट सम्भव नभएका केस अन्तिममा सिआइबीमै आइपुग्छन् । कतिपय अनुसन्धानमा तत्कालै लिंक भेटिन्छ ।  कतिपय घटना एकदमै रहस्यमय हुन्छन्, प्रमाण नै छाड्दैनन् । त्यसमा हामीलाई समस्या छ । 

१० प्रतिशत अनुसन्धान लकमा पनि भर पर्छ
एसएसपी धीरजप्रताप सिंह, महानगरीय अपराध महाशाखा 

कहिलेकाहीँ धेरै मिहिनेत गर्दा पनि अभियुक्त पक्राउ गर्न सकिँदैन । कहिले सजिलै पक्राउ पर्छन् । भनिन्छ, अनुसन्धानमा १०% लकको पनि साथ चाहिन्छ । तर, मुख्य कुरा त अनुसन्धानमा मिहिनेत नै हो ।

-नमिता–सुनिता हत्या ३७ वर्षदेखि रहस्यमै

-१५ वर्ष बित्यो अमर लामाको हत्यारा खुलेन

-१२ वर्षमा पनि भेटिएन पूर्वगृहमन्त्रीका पिएसओका हत्यारा

-तीन बालबालिकाको हत्या अझै शून्यमै छ प्रहरी अनुसन्धान

-१० वर्षदेखि बेपत्ता काठमाडौंकी छोरीमैया महर्जन

-नौ वर्षदेखि रहस्यमै दाङका हेमराज धिताल हत्या

यी घटना वर्षौँपछि सुल्झिए

न्यायाधीश रणबहादुर बम हत्याको दुई वर्षमा सफल भयो अनुसन्धान 
१८ जेठ ०५९ मा हत्या गरिएका सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यारा पत्ता लगाउन प्रहरीलाई दुई वर्ष लाग्यो । जिल्ला प्रहरी कार्यालय धनुषामा एक चोरीका अभियुक्त पक्राउ परेका थिए । उनीमाथि सइ गगन शाहीले सोधपुछ गर्दा प्रहरीले बम हत्यामा संलग्नहरूको सुराक पाएको थियो । यही बिन्दुबाट सफलतातिर मोडिएको अनुसन्धान हत्यारासम्म पुगेको थियो । तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्यालले त्यतिवेला भनेका थिए, ‘आजको दिन नेपाल प्रहरीलाई घाँटीबाट काँडा निकालेजस्तै भएको छ ।’ 

 १३ वर्षपछि पर्दाफास भयो हेमकर हत्याकाण्ड 
नेपालगन्जका दीपक हेमकरसहित उनका परिवारका पाँच सदस्य र एक कामदारको २३ फागुन ०६२ मा सामूहिक हत्या भयो । घटनाको १३ वर्षपछि गत असोजमा हत्याकाण्डको पर्दाफास भयो, दीपकको ससुरालीबाटै सम्पत्ति हत्याउन सो हत्याकाण्ड गराइएको खुल्यो । दीपकको नामको सम्पत्ति श्रीमतीको नाममा नामसारी गरिएको थियो । हत्याका वेला श्रीमती भारत गएकी थिइन् । ससुरा किशोरीलाल सोनीलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्यायो । 

१२ वर्षमा सफलता पाएको रानीबारी हत्याकाण्ड अनुसन्धान
चार वर्षअघिसम्म असफल अनुसन्धानको सूचीमा पहिलो नम्बरमा थियो, रानीबारी हत्याकाण्ड । यो घटनाको अनुसन्धानमा करिब एक दर्जन छानबिन समिति गठन हुँदा पनि केही खुल्न सकेको थिएन । ३१ असार ०६९ मा इन्जिनियर दम्पती हेमन्त र इन्दिराको लाजिम्पाटस्थित डेरामा बिभत्स हत्या भएको थियो । घटनामा उनीहरूकी छोरीसमेत सामान्य घाइते भएकी थिइन् । 

हत्याको अभियोगमा चार वर्षअघि प्रहरीले दोलखाका मनराज गुरुङ र रामेछापका प्रमेश चौहानलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनीहरूलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । यो घटनाको अनुसन्धानमा पनि प्रहरीलाई भाग्यले साथ दिएको थियो । ठगीको मुद्दामा पक्राउ परेका एक अभियुक्तबाट प्राप्त गरेको सूचनालाई पछ्याउने क्रममा घटनामा मनराज र प्रमेशको संलग्नता खुलेको हो । 

बडिखेल हत्याका अभियुक्त १२ वर्षमा पक्राउ 
१६ असोज ०६० का दिन दसैँको महाअष्टमी परेको थियो । ललितपुरको लेलेमा भानु नगरकोटी र उनका परिवार मासुभात खाएर सुतेका थिए । सोही रात उनका परिवारको धारिलो हतियार प्रयोग गरी हत्या भयो । भानुसहित ३० वर्षीया श्रीमती धनकुमारी, १३ वर्षीय छोरा रवीन्द्र, १० वर्षीया छोरी लुरी र ८ वर्षकी टुकुली भन्ने भगवतीको हत्या भएको थियो । 

प्रहरीले सो घटनामा संलग्न भएको आशंकामा भानुका जेठान चन्द्रबहादुर पहारीलाई पक्राउ गरेको थियो । तर, उनको संलग्नता पुष्टि गर्न सकेन । २ भदौ ०७२ मा भने प्रहरीलाई भाग्यले साथ दियो । चन्द्रबहादुरले नै नगरकोटी परिवारको हत्या गरेको महानगरीय अपराध महाशाखाले पुष्टि गर्‍यो । 

आफ्नी श्रीमतीसँग ज्वाइँ भानुको अनैतिक सम्बन्ध रहेको आशंकामा चन्द्रबहादुरले मदिराको नशामा मध्यराति बहिनीज्वाइँको परिवारकै हत्या गरेको प्रहरीले जनाएको छ । 

१८ वर्षपछि पक्राउ परे फादर ग्याफ्ने हत्याका अभियुक्त 
अमेरिकी नागरिक फादर ग्याफ्नेका हत्याका अभियुक्त पत्ता लगाउन प्रहरीलाई १८ वर्ष लाग्यो । ग्याफ्नेको ८ कात्तिक ०५७ मा ललितपुरमा हत्या भएको थियो । सेन्ट जेभियर्स स्कुलका शिक्षकसमेत रहेका उनको हत्या ढालबहादुर खड्काले गरेको प्रहरीको दाबी छ । हत्यापछि भारत भागेकाले प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । आफूमाथि ग्याफ्नेले यौन शोषण गरेको, तर पैसा नदिएकाले हत्या गरेको बयान ढालबहादुरले दिएका थिए । ७ वैशाख ०७२ मा उनलाई अपराध महाशाखाले पक्राउ गरेको थियो । 

प्रहरीको ‘भगवान भरोसा’ 
प्रहरीमा संस्थागत रूपमै भगवानप्रति आस्था राख्ने प्रचलन छ । अपराध अनुसन्धान सफल होस् र शान्तिसुरक्षा राम्रो होस् भनेर प्रहरीमा भगवानको पूजा गरिन्छ । शान्तिसुरक्षाको कामनासहित दसैँमा सबै जिल्लाका प्रहरी कार्यालयमा मौलो पूजा हुन्छ । 

दुई वर्षअघि आइजिपी नियुक्तिको विवादले प्राविधिक एआइजी डा. दिनेशचन्द्र पोखरेल निमित्त आइजिपी भएका थिए । चैते दसैँको मौलो पूजा गर्नुपर्ने थियो । तर, आफन्तको मृत्यु भएकाले पोखरेलले जुठो बारिरहेका थिए । पूजारीले उनले पूजा गर्न नमिल्ने बताएका थिए । यद्यपि, डा. पोखरेलले पूजा गरे । त्यसयता प्रहरीको असफलता बढ्दै गएको भनेरसमेत प्रहरी नेतृत्वमा चर्चा हुने गरेको छ । 

 निरमाया चेम्जुङ हत्या : पाँच मिनेटमै अनुसन्धान सफल
गत २८ फागुनमा हलचोकमा निरमाया चेम्जुङको हत्या भयो । चेम्जुङसँग निकट रहेका प्रकाश थापामगरले उनको हत्या भएको भन्दै खबर गरे । घटनास्थलमा पुगेको पाँच मिनेटमै प्रहरीले घटनाको रहस्य सुल्झ्यायो । प्रहरीले सुरुमै प्रकाशमाथि शंका गर्‍यो । ‘कतै तैंले नै बुटले हानेको त होइनस् ?’ भनेर सोधपुछ मात्र के गरेको थियो, प्रकाशले अपराध स्वीकार गरिहाले । आपसी विवाद भएपछि पेटमा लात्तीले हान्दा निरमायाको मृत्यु भएको खुल्यो । 

पुराना अपराध, अनुसन्धानमा चुक्यो प्रहरी

नमिता–सुनिता हत्याकाण्ड :  ३७ वर्षदेखि रहस्यमै
०३८ जेठमा पोखरामा तीन युवतीको हत्या घटना अहिलेसम्म रहस्यमय छ । ‘नमिता–सुनिता हत्याकाण्ड’ नामले चर्चित सो घटनामा दिदीबहिनी नमिता भण्डारी र सुनिता भण्डारी तथा उनीहरूकी साथी नीरा पराजुलीको बलात्कारपछि हत्या भएको बताइए पनि अनुसन्धान कुनै निष्कर्षमा पुग्न सकेन । १८ जेठमा काठमाडौंबाट पोखरा घुम्न हिँडेका उनीहरू २४ जेठपछि बेपत्ता भएका थिए । त्यसको ५ दिनपछि २९ जेठमा नमिता सेती नदीको खोँचमा मृत भेटिइन् । त्यसको ९ दिनपछि दिदी सुनिताको शव पनि भेटियो । पाँच महिनापछि नजिकै सेती खोँचमै अर्की युवतीको पनि शव भेटियो । तर, त्यतिवेला डिएनए परीक्षण प्रविधि नभएकाले शव निराको हो/होइन पुष्टि नै हुन सकेन । 

 १५ वर्ष बित्यो : अमर लामाको हत्यारा खुलेन
दुर्घटनामा मृत्यु भएका नेता मदन भण्डारीका चालक अमर लामाको १ साउन ०६० मा कीर्तिपुरमा हत्या भएको थियो । लामाका हत्यारा पक्राउ नपर्नुलाई मदन भण्डारीको ज्यान गएको दुर्घटनासँग जोडेरसमेत विश्लेषण हुने गरेको छ ।

 १२ वर्षमा पनि भेटिएन : पूर्वगृहमन्त्रीका पिएसओका हत्यारा
पूर्वगृहमन्त्री खुमबहादुर खड्काका पिएसओ सई कुबेर कार्कीको हत्याका अभियुक्त हालसम्म पत्ता लागेका छैनन् । २० मंसिर ०६३ मा गोठाटारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएर खुकुरी प्रहार गरी उनको हत्या भएको थियो । दबाबकै कारण यो अनुसन्धानले मूर्तरूप पाउन नसकेको प्रहरी अधिकारीहरू बताउँछन् । 

तीन बालबालिकाको हत्या : अझै शून्यमै छ प्रहरी अनुसन्धान
विगतका धेरै घटना प्रहरीको असफलताको सूचीमा छन् । ०७४ असारमा भोजपुरको अरुण–१ प्याउलीमा तीन बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा र ८ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धानमा सिआइबीबाट समेत टोली खटिए पनि सफलता हात लागेको छैन । 

 १० वर्षदेखि बेपत्ता : काठमाडौंकी छोरीमैया महर्जन
०६६ मा हराएकी काठमाडौं जैसीदेवलकी छोरीमैया महर्जनको अवस्था पनि प्रहरीले पत्ता लगाउन सकेको छैन । केही शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि तथ्य जुटाउन सकेन, जसकारण छोरीमैयाको घटना रहस्यमै छ । 

 नौ वर्षदेखि रहस्यमै : दाङका हेमराज धिताल हत्या
रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष तथा राप्ती अञ्चल बस व्यवसायी समितिका पूर्वअध्यक्षसमेत रहेका हेमराज धितालको ६ साउन ०६७ मा तुलसीपुर–१२ जसपुरमा गोली हानी हत्या भएको थियो । दाङमा पुग्ने हरेक प्रहरी प्रमुखले सो घटना पत्ता लगाउने घोषणा गरे पनि सफल भएका छैनन् । प्रदेश ५ प्रहरीले सो घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको डिआइजी पीताम्बर अधिकारी बताउँछन् ।

घरभित्रै कसले गर्‍यो व्यवसायी दिवाकरको हत्या ? 
यो प्रश्नको जवाफ प्रहरीले ६ वर्षदेखि खोज्न सकेको छैन । १७ असोज ०६९ मा ललितपुरको धोबीघाटमा घरभित्रै व्यवसायी दिवाकर चन्दको घाँटी थिचेर हत्या भएको थियो । हत्या भएको दिन दिवाकर केही युवतीसहित आफ्नो निवासमा गएका थिए । ती युवतीहरूमाथि विभिन्न कोणबाट प्रहरीले केरकार गरे पनि अनुसन्धानले बाटो समाउन सकेन । धनाढ्य चन्द पछिल्लो समय आर्थिक समस्यामा परेका थिए । आर्थिक कारोबारसँग जोडिएर उनको हत्या भएको हुन सक्ने प्रहरी अनुमान छ ।