घुसको दररेट, वर्षमा ३० करोड

दियो पोस्ट  

काठमाडौं, वैशाख ३ । नेपालमा विदेशी किन आउँछन् ? घुम्न, व्यापार गर्न वा कुनै गैरसरकारी निकायमा जागिर खान । धेरैको बुझाइ छ, नेपाल आउने सबै पर्यटक हुन् । हो, अधिकांश विदेशी घुम्नकै लागि आउँछन् ।

तर पछिल्लो समयमा विदेशीहरू आपराधिक मनस्थितिमा नेपाल आउन थालेका छन् । सरकारी तथ्यांकले नै भन्छ, विदेशीहरू घुम्नमात्र होइन अपराध गरेर लुक्न वा आपराधिक क्रियाकलापमा संलग्न हुन नेपाल आउने क्रम बढेको छ ।

पर्यटकका लागि अनअराइभल भिसा व्यवस्थाका कारण धेरै विदेशीलाई नेपाल आउन सजिलो भएको छ । केही विदेशीले त्यसको गलत प्रयोग गरिररहेका छन् । घुम्ने बहानामा आएका केही विदेशी अवैध हतियार प्रयोग तथा तस्करी, महिला तथा मानव बेचबिखन, लागूऔषध कारोबार, अप्राकृतिक मैथुनलगायतका गतिविधिमा संलग्न भएको पाइएको छ ।

कतिपय विदेशी पर्यटक भिसा लिएर आपराधिक काम गर्नकै लागि नेपाल आउने गरेका छन् भन्दाचाहिँ धेरैलाई विश्वास नलाग्न सक्छ । वास्तविक त्यही नै हो । अहिले विभिन्न आपराधिक गतिविधिमा संलग्न झन्डै ११ सय विदेशी कैदीबन्दी नेपालका कारागारमा रहेकाले यसको पुष्टि हुन्छ । कारागार व्यवस्थापन विभागमा कैदीबन्दीको रेकर्ड राख्न बनेको सफ्टवेयर (प्रिजन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) ले चार सय ५८ विदेशी नागरिक जेलमा रहेको तथ्यांक देखाउँछ । कारागारमा रहेका विदेशीमाथि झन्डै ३९ वटा फरकफरक मुद्दामा सजाय भोगिरहेका छन् ।

विभागले अन्य विदेशी कैदीबन्दीको तथ्यांकसमेत सफ्टवेयरमा राख्ने तयारी गरेको छ । यसरी सजाय भोग्नेमा अमेरिका, कोरिया, जापान, भारत, चीन, भुटानलगायत ३१ मुलुकका नागरिक छन् ।

सबैभन्दा बढी तीन सय ७३ जना भारतीय छन् । पाकिस्तानी १८, भुटानी १६, बंगलादेशी १०, चिनियाँ ११ र चीनको स्वशासित क्षेत्र तिब्बतका २ जना कारागारमा छन् ।

लागूऔधष कारोबारमा संलग्न एक सय ९४ जना विदेशी नेपालका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । जबरजस्ती करणी उद्योगमा ५१, कर्तव्य ज्यानमा २६, मानव बेचबिखनमा १६, हतियार खरखजनामा १२, खोटाचलनमा १४ जना विदेशीले कैद भुक्तान गरिरहेको कारागार व्यवस्थापन विभागको तथ्यांकमा उल्लेख छ । अपहरण, अप्राकृतिक मैथुन, अवैध भारु कारोबार, चोरी, ठगी, महिला बेचबिखन, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर र सार्वजनिक अपराधमा समेत विदेशी नागरिकले कैद भुक्तान गरिरहेका छन् ।

कतिपय विदेशीको सम्बन्ध त अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग समेत देखिएको छ । अन्तर्राष्ट्रिय आपराधिक गिरोहका गतिविधिलाई स्थापित गराउनसमेत केही विदेशी पर्यटकको भेषमा नेपाल आउने गरेको पाइएको छ । गृह मन्त्रालयले गत वर्ष धेरै रस्साकस्सीबीच विदेशी नागरिक अनुगमन निर्देशिका मन्त्रीस्तरीय निर्णयबाट पारित ग¥यो । तर निर्देशिका कार्यान्वयन शून्य छ । निर्देशिका कार्यान्वयन नहुनु, विदेशीका गतिविधिलाई ट्र्याकिङ गर्न नसक्नु, जथाभाबी अनअराइभल भिसा सुविधा दिनु लगायत कानुन कार्यान्वयनको कमजोर पक्षको फाइदा उठाउँदै विदेशीहरु आपराधिक गतिविधिमा संलग्न भएका छन् ।

पूर्व गृहसचिव गोविन्द कुसुमले अध्यागमन प्रणाली मजबुत नबनाएसम्म विदेशीले नेपाललाई आपराधिक गतिविधि गर्ने मुख्य थलोका रूपमा प्रयोग गरिरहने बताए । उनले भने, ‘प्रहरी र अध्यागमनबीच सूचना प्रणालीको समन्वय हुनुपर्छ । नियमित अनुगमन गर्नुपर्छ । नत्र थप सुरक्षा जोखिम बढ्छ । ’ नेपाल भित्रने र बाहिरिने विदेशी नागरिकको विस्तृत अभिलेखसमेत अध्यागमन विभागसँग छैन ।

प्रस्थान र आगमनबाहेक विदेशीका अन्य गतिविधि अध्यागमनलाई थाहा हुँदैन । गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागले विभिन्न अपराधमा सजाय पाएका विदेशीको व्यवस्थापन गरिरहेको छ । विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अदालतको फैसलापछि आएका विदेशीलाई विभिन्न कारागारमा व्यवस्थापन गरिएको बताए । उनका अनुसार विदेशी कैदीबन्दीले कारागारबाट नेपालीसरह नै सेवासुविधा पाइरहेका छन् । सरकारले हरेक दिन प्रत्येक कैदीबन्दीलाई ७ सय ग्राम चामल र नगद सिदाको रुपमा ६० रुपयाँ दिँदै आएको छ । महानिर्देशक मैनालीले भने, ‘विदेशी तथा स्वदेशी कैदीबन्दीहरुको सम्पूर्ण स्वास्थ्य उपचार सरकारले नै गर्दै आएको छ ।’

अध्यागमन विभागले अहिले बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली बनाउन थालेको छ । सफ्टवेयर कार्यान्वयनमा आयो भने अध्यागमन प्रणालीमा केही सहज हुने विभागको बुझाइ छ । तर अहिले विदेशीको अनुगमन गर्न न गृह मन्त्रालय गम्भीर छ न त अध्यागमन विभाग । पर्यटकीय क्षेत्र ठमेल, पोखरा, चितवनलगायत स्थानमा ओभर स्टे रहेका कतिपय विदेशीहरुले अवैध काम गर्दै आएका छन् । विदेशी नागरिकमाथि अख्तियार गर्ने नीति अष्पष्ट हुँदा आपराधिक गतिविधि गर्ने विदेशीको संख्या बढेको हो ।
अन्नपूर्णपोष्ट दैनिकबाट