इन्धन चोरी नियन्त्रण गर्न ट्यांकरमा लकिङ प्रविधि जडान प्रक्रिया अलपत्र

दियो पोस्ट  

काठमाडौं, वैशाख ४ । काठमाडौं : ट्यांकरबाट इन्धन चोरी नियन्त्रण गर्न सुरु गरिएको लकिङ प्रविधि जडान प्रक्रिया अलपत्र परेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) को रिफाइनरी केन्द्रबाट नेपाल आयल निगमको डिपोसम्म आउने ट्यांकरमा लकिङ प्रविधि जडान भए पनि डिपोबाट विक्रेता (पेट्रोल पम्प) सम्म पुग्ने ट्यांकरमा दोस्रो र तेस्रो चरणको लकिङ प्रविधि जडान कार्यलाई अलपत्र पारिएको हो।

ट्यांकर चालकले विभिन्न प्राविधिक विषयमा रहेका स–साना छिद्रलाई मौकामा परिणत गरी नाजायक रूपमा ट्यांकरबाट आफूखुसी गर्दै आएको चोरी नियन्त्रण गर्न यो प्रविधि जडान गर्ने योजना अघि सारिएको थियो। निगमले पहिलो चरणको योजना सम्पन्न गरे पनि दोस्रो र तेस्रो चरणको योजना कार्यान्वयनमा ढिलाइ गरेको हो। निगमले दोस्रो र तेस्रो चरणमा देशभरका दुई हजार पाँच सय विक्रेतासम्म पुग्ने ट्यांकरमा यही आर्थिक वर्षभित्र ताल्चा र ट्र्याकिङ जडान गर्ने योजना बनाएको थियो।

चालु आर्थिक वर्षको १० महिना बितिसक्दा पनि निगमले दोस्रो र तेस्रो चरणको योजना कार्यान्वयनमा ल्याउन चासो दिएको छैन। दोस्रो चरणमा यसअघि लकिङ प्रविधि जडान भएका ट्यांकरमै पुनः दोस्रो थरीको ताल्चा जडान गर्ने योजना थियो। दोस्रो प्रकारको ताल्चा जडान गरी दुई हजार पाँच सय विक्रेतालाई डिजेल, पेट्रोल र मट्टितेलको गरी छुट्टा छुट्टै तीन प्रकारका साँचो उपलब्ध गराउने योजना थियो।

निगमका अनुसार विक्रेताले आवश्यकताको आधारमा डिजेल, पेट्रोल र मट्टितेलका लागि उपलब्ध गराइने साँचो प्रयोग गरी च्याम्बरबाट इन्धन अनलोड गर्न पाउने व्यवस्था गरिएको छ। यस्तै तीनै प्रकारको साँचो निगमको डिपोसँग पनि एक प्रति रहने व्यवस्था गरिएको छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले केही प्राविधिक कारणले दोस्रो र तेस्रो चरणको लकिङ प्रणाली जडान कार्य प्रभावित भए पनि सुरु गर्न लागिएको जानकारी दिए। गोइतले भने, ‘जडान कार्य केही समयका लागि रोकिए पनि सुरु गर्न लागेका छौं। यसै आर्थिक वर्षमा दोस्रो र तेस्रो चरणको योजना सम्पन्न हुन्छ।’

निगमले पहिलो चरणमा भारतको रिफायनरी केन्द्रबाट इन्धन बोकेर नेपाल आउने एक हजार नौ सय ट्यांकरमा लकिङ प्रविधि जडान गरिसकेको छ। पहिलो चरणमा लकिङ प्रविधि जडान भएको ट्यांकरको दुई साँचोमध्ये एक आईओसीको सम्बन्धित रिफायनरी केन्द्रसँग र अर्को नेपालको सम्बन्धित डिपोलाई जिम्मा लगाइएको छ। ट्यांकरबाट मुख्य गरी दुई चरणमा इन्धन चोरी हुँदै आएको छ।

पहिलो भारतबाट नेपालको डिपोसम्म आइपुग्ने ट्यांकरबाट र दोस्रो नेपालको डिपोबाट विक्रेतासम्म पुग्ने ट्यांकरबाट इन्धन चोरी हुने गर्छ। पहिलो चरणको लकिङ प्रणाली जडान पश्चात निगमले इन्धनको चोरीसम्बन्धी घटना नियन्त्रणमा आएको दाबी गरे पनि भारतबाट इन्धन बोकेर ल्याएको ट्यांकरबाट दुई हजार पाँच सय लिटर डिजेल चोरी भएको थियो।

दोस्रो चरणको लकिङ प्रणाली र तेस्रो चरणको ट्र्याकिङ प्रणाली जडान पश्चात पूर्णरूपमा इन्धनको चोरी नियन्त्रण हुने निगमको दाबी छ। ट्यांकरमा लकिङ प्रविधि जडान नहुँदासम्म ट्यांकर चालकले टेम्प्रेचर लसको नाममा २० हजार लिटरको ट्यांकरबाट झन्डै ४० देखि एक सय लिटरसम्म चोरी गरी आफूखुसी बिक्री गर्दै आएका थिए।

‘तर लकिङ प्रणाली जडान भइसकेपछि अहिले मापदण्डले तोकेको वैज्ञानिक टेम्प्रेचर लसबाहेक थप लस पूर्णरूपमा बन्द भएको छ’, निगमका प्रवक्ता गोइतले भने, ‘टेम्प्रेचर लस देखाएर बाटोमै ट्यांकरबाट इन्धन झिक्ने गतिविधि पनि रोकिएको छ।’ गोइतकाअनुसार लकिङ प्रविधि जडानले इन्धनको समग्र ढुवानी प्रक्रियामा अहिले ९५ प्रतिशत चोरी र क्लेमेबल लसको समस्या समाधान भएको छ। अन्नपूर्णपोष्ट दैनिकबाट