नेकपामा बर्चश्वको लडाईं : ओलीको गोप्य ग्रान्ड डिजाइनमा प्रचण्ड र माधव नेपाल फस्ने खतरा !

दियो पोस्ट  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र एकता नटुङ्गिदै शिर्ष नेताहरुबीच नेतृत्वमा एकल बर्चश्व कायम राख्न रस्साकस्सी शुरु भएको छ । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो एकल बहुमत कायम हुने सुनिश्चित नभएसम्म पार्टी एकताको गाँठो नफुुकाउने मोडमा पुगेका छन् । आफ्नो पकड कायम गर्न ओलीले एकै साथ केही डिजाइन रचेको कुरा नेकपा भित्र बहसको विषय बनेको छ । तर, प्रचण्ड भने अहिलेसम्म चुपचाप छन् । दुवै अध्यक्षको स्पष्ट कार्यविभाजन हुनुपर्ने र एकता छिटो सक्नु पर्ने दवाव झेलिरहेका प्रधानमन्त्री ओलीले आफूलाई अझै शक्तिशाली बनाउनका लागि चारबुँदे सहमति पालना नगर्नेदेखि वामदेव गौतम र माधवकुमार नेपालसम्म मिलाउने प्रयास गरेका छन् ।



विहिबारको युनाइटेड पोस्ट साप्ताहिकमा खबर छ– नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा भएको चार बुँदे सहमति पालना नहुने निकर्षमा प्रचण्डलाई पुग्न नदिने र अल्झाइ रहने तर कार्यान्वयन नगर्ने मनस्थितिमा ओली पुगेका छन् । त्यसका लागि प्रचण्डसँग न नजिकको न टाढाको सम्बन्धमा ओली रहेको प्रचण्ड निकटका नेताहरु बताउँछन् । स्रोतका अनुसार प्रचण्डसँगको वार्तामा ओलीले विगतमा आफू कमजोर हुँदा माधव नेपालले पेलेको, झापा जिल्लामा समेत आफ्नो पक्षको मान्छेलाई नेतृत्वमा आउन नदिएको, आफ्नो मृगौला प्रत्यारोपणपछि पार्टीको काममा फर्कदा अपमान गरेको र जनकपुर माहाअधिवेशनमा बस्ने कोठा समेत नदिएर हैरान पारेकाले आफू माधव नेपाल पक्षसँग महमति गरेर पार्टी चलाउने पक्षमा नरहेको बताउने गरेका छन् । ओलीले प्रचण्डलाई दुवै धारको सर्वसम्मत नेतृत्व तपाईनै हो, दुवै मिलेर अधि बढौं ‘म पछिको नेतृत्व तपाईकै हो’ भन्ने गरेका छन् ।


विहिबारको युनाइटेड पोस्टमा खबर छ –त्यसैगरी ओली भित्रभित्रै प्रचण्डसँग जस्तै माधव नेपालसँग पनि वान टु वान वार्तामा छन् । माधव नेपालसँग प्रचण्डसँग जस्तो खुलेर वार्ता नभए पनि माधव नेपाल र प्रचण्ड मिलेर बहुमत नबनाउन अथवा बन्न लागेमा भत्काउने खेल खेल्न ओली सचेत छन् । स्रोत भन्छ माधव नेपालसँग पनि ओलीले आफूपछिको अध्यक्ष तपाई नै हो भन्ने आश्वासन दिएका छन् ।
यता, पछिल्लो पटक काठमाडौंबाट उप निर्वाचन लड्ने वातावरण बनाउँदा वामदेव गौतमको तेजवोध गरेकाले वामदेव–ओली सम्बन्ध थप चिसिएको थियो । त्यसअघि लामो समय कहिले माधव नेपाल त कहिले झलनाथ खनालसँग नजिकिएका बामदेव काठमाडौं महाधिवेशनमा ओली निकट पुगेपछि उनलाई अध्यक्ष पद हत्याउन सहज भएको थियो । त्यति बेलै ओलीले गौतमलाई पार्टीको नेतृत्व वा प्रधानमन्त्री बनाउने बचन समेत दिएका थिए । तर, आफू प्रधानमन्त्री भएका बेला विदेश जाँदा कार्यबाहक अध्यक्ष समेत गौतमलाई नदिएपछि उनी पनि ओलीसँग बिच्किएका छन् ।


मदन भण्डारी फाउन्डेसनको नाउँमा केही दिन अगाडि राजधानीमा भएको कार्यकर्ताको प्रशिक्षण भेलामा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोख्रेल प्रमुख अतिथि थिए भने ओली पक्षकै नेता तथा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेल प्रमुख वक्ता थिए । देशभरको आफ्नो पंक्तिलाई सृद्धढ गर्न यिनै दुई नेतालाई जिम्मा दिईएको छ । उक्त कार्यक्रममा प्रचण्ड, माधव नेपाल पक्षधरका कसैलाइ पनि निम्ता गरिएन । केपी ओलीले अबको महाअधिवेशन सहमतिमा नहुने र आफू पछिको अध्यक्षको चुनावको तयारी गर्न ईश्वर पोख्रेललाई भनिसकेको स्रोतको दाबी छ ।