काठमाडौं, वैशाख ८ । देशभर मिर्गौला समस्या भएका बिरामीको संख्या बढ्दै गएको छ । सरकारले मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको उपचार सेवाका लागि करोडौं रुपैयाँ खर्चिए पनि रोग निदानमा सचेतना अपनाउन नसक्दा मिर्गौलाप्रभावितको संख्या बढ्दै गएको हो । नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । सरकारले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा मिर्गौला रोगीहरूले लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ ।
—बर्सेनि ३ हजारको मिर्गौला फेल
—३० लाख नागरिकमा मिर्गौलाको समस्या
—१४ सय जनाको मिर्गौला प्रत्यारोपण
बर्सेनि ३ हजार मिर्गौला फेल भएका नयाँ बिरामी अस्पताल पुग्ने गरेका छन् । हालसम्म १ हजार ३१७ जनाको मिर्गौला प्रत्यारोपण भएको सरकारी तथ्यांक छ । जसअन्तर्गत वीर अस्पतालले १४६, त्रिवि शिक्षण अस्पतालले ५७० र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ६०१ जनाको मिर्गौला प्रत्यारोपण गरेको तथ्यांकले देखाएको छ ।
सरकारले क्यान्सर, मुटुरोग, हेड इन्ज्युरी, स्पाइनल इन्ज्युरी, अल्जाइमर, पार्किन्सस, सिकलसेल एनिमिया र मिर्गौला गरी आठ किसिमका कडा रोग लागेका विपन्न बिरामीलाई उपचारका लागि आर्थिक सहायता दिँदै आएको छ । स्वास्थ्य सेवा विभागका अनुसार सरकारले वार्षिक १ अर्ब १८ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको र त्यसमध्ये धेरै रकम मिर्गौला रोगीकै लागि खर्च गरिएको छ ।
मिर्गौलामा समस्या हुन नदिन के गर्ने ?
— पानी प्रशस्त पिउनुपर्ने
—दैनिक १० हजार पाइला हिँड्नुपर्ने
—समयमा सन्तुलित खाना खानुपर्ने
—चुरोट, सुर्ती सेवन गर्न नहुने
—डाक्टरको सल्लाहबिना ‘पेन किलर’ खान नहुने
— वर्षमा एकपटक मिर्गौला परीक्षण गर्ने
मिर्गौला प्रत्यारोपण निःशुल्क भइसकेपछि सरकारले सूचीकृत ५५ अस्पताललाई प्रत्यारोपणबापत प्रतिव्यक्ति करिब साढे ५ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । क्रसचेकबापत ५० हजार रुपैयाँ तथा औषधिबापत १ लाख रुपैयाँ गरी झन्डै साढे ५ लाख रुपैयाँ सरकारले लगानी गरिरहेको छ । तर, रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन पूर्वसचेतनामा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । नेपालमा मिर्गौला प्रत्यारोपण सन् २००८ बाट सुरु भएको थियो ।
रोग लाग्न नदिन जनचेतना फैलाउन आवश्यक छ । मस्तिष्क मृत्यु भयो भनेर घोषणा गरेपछि मुटुको चाल रोकिनुभन्दा अगाडिसम्म मिर्गौला दान गर्न सकिन्छ ।
डा. ऋषिकुमार काफ्ले, राष्ट्रिय किड्नी सेन्टरका कार्यकारी निर्देशक
राष्ट्रिय किड्नी सेन्टरका कार्यकारी निर्देशक, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेले डायलासिस सेवाको विस्तार आवश्यक रहेको बताए । उनले सरकारले रोग लाग्नै नदिन जनचेतना अभिवृद्धिका लागि रकम खर्चिनुपर्ने बताए ।
‘रोग लाग्न नदिन जनचेतना फैलाउन आवश्यक छ,’ डा. काफ्लेले भने, ‘मस्तिष्क मृत्यु भयो भनेर घोषणा गरेपछि मुटुको चाल रोकिनुभन्दा अगाडिसम्म मिर्गौला दान गर्न सकिन्छ ।’ मिर्गौला रोगीको संख्यामा कमी ल्याउन सरकारले रोगीको उपचारमा भन्दा रोकथाममा बढी केन्द्रित हुनुपर्ने डा. काफ्लेको सुझाव छ ।
भारतीय अंग प्रत्यारोपण समाजका अध्यक्ष एवं वरिष्ठ प्रत्यारोपण सर्जन डा. सन्दीप गुलेरियाले नेपालले मिर्गौला रोगको उपचार पद्धति सन्दर्भमा प्रगति गरेको बताए । उनले सरकारले मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा निःशुल्क गरेको भन्दै पूर्वसचेतनामा जोड दिन आवश्यक रहेको बताए । राजधानी दैनिकबाट