काठमाडौं, १२ वैशाख । गिल्ट इन्भेष्टमेण्ट कम्पनी प्रालिले दरबारमार्गको पाँचतारे होटल याक एण्ड यतिमा खोलेको रोयल क्यासिनोकी एकल सञ्चालक जयन्ती थापाले गिल्ट इन्भेष्टमेण्ट कम्पनीले तिर्न बाँकी रोयल्टी सरकारलाई आफूले तिर्ने पत्राचार गरेकी छिन् ।
विहिबारको आर्थिक दैनिकमा खबर छ–सञ्चालक थापाले गत माघ ९ गते पर्यटन विभागको महानिर्देशकलाई सम्बोधन गरेर लेखेको पत्र विभागमा दर्ता गरेकी छन् । उनले गत भदौ १७ गते सुरेन्द्रबहादुर सिंहको नाममा रहेको गिल्ट इन्भेष्टमेण्ट कम्पनीको शतप्रतिशत सेयर खरिद गरेकी थिइन् । तर सुरेन्द्रबहादुर सिंहले कर चुक्ता नै नगरी कम्पनी रजिष्ट्रारलाई नजराना दिएर जयन्ती थापाको नाममा नामसारी गरिदिएको थियो ।
त्यस सम्बन्धमा समाचार आर्थिक दैनिकले यसअघि नै प्रकाशन गरिसकेको छ । गिल्ट इन्भेष्टमेन्टले तिर्नुपर्ने १४ करोड ५३ लाख ५ सय ४७ रुपैयाँ कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा बक्यौता बाधेर राखिएको छ । त्यसपछि गिल्ट इन्भेष्टमेण्टले तिर्नुपर्ने १३ करोड २८ लाख ५९ हजार ४ सय १४ रुपैयाँ रोयल्टी चुक्ता नै नगरी सिंहले कम्पनी रजिष्ट्रारले सिंहको नामको गिल्ट इन्भेष्टमेण्ट कम्पनी जयन्ती थापाको नाममा सारेकोथियो ।
कम्पनी जयन्तीको नाममा नासारी भएपछि स्रोत नखुलेको कालोधन लगानी गरेर २५ करोड चुक्ता पुँजी भएको गिल्ट इन्भेष्टमेण्ट जयन्ती थापाले सुरेन्द्रबहादुर सिंहसँग किनेकोले उनको सम्पत्तिको स्रोत छानबिन गर्दा कारबाही गरिपाऊँ भनी उतिबेलै सुजन दाहालले सम्पत्ति शुद्धीकरण विभागमा हालेको उजुरीमाथि पनि छानबिन भइरहेको छ ।
त्यसबाहेक यसवर्षको तिर्नुपर्ने रोयल्टी ५ करोड, कुमारीचोकमा हिसाब बाँधिएको बक्यौता १४ करोड ५४ लाख र अहिले तिर्न बाँकी देखिएको १३ करोड २८ लाख गरी ३२ करोड ८२ लाख ५५ हजार रुपैयाँ रोयल्टी मात्र तिर्नुपर्ने देखिन्छ । मजदुरलाई दिन बाँकी तलबभत्ता मात्र १५ करोड रुपैयाँभन्दा बढी रहेको छ । त्यो सबै गर्दा झण्डै ४८ करोड रुपैयाँभन्दा बढी रकम तिर्नुपर्ने र २५ करोड रुपैयाँमा कम्पनी किनेको स्रोत थापाले देखाउनु अवस्था छ ।
ठीक त्यस्तो अप्ठ्यारो बेला थापाले सबै बाँकी बक्यौता मैले तिर्ने हो, म तिर्छु भनेर पर्यटन विभागलाई पत्र लेखेको पाइएपछि उनी जेल जान तयार रहेको अर्थ लगाउन थालिएको छ । त्यही क्यासिनोमा कार्यरत एक मजदुर नेतृ जयन्ती थापाको नाममा २५ करोड चुक्तापुँजीको कम्पनी नामसारी हुनु र यति ठूलो कारोबारमा संलग्न हुनले उनको सम्पत्ति थप शंकास्पद बन्दै गएको छ ।