काठमाडौं, १२ वैशाख । विद्यमान सरकारी ऐन कानुनविपरीत पछिल्लो समयमा सम्बन्धित सरकारी निकायबाट स्वीकृति नै नलिई भारतमा उत्पादित नुनको बिक्री वितरणका लागि भन्दै मिलेनिया ग्लोबल कम्पनीले डिलरसिपको माग गरी विज्ञापन नै जारी गरेर ठगी धन्दा चलाएको भेटिएको छ ।
मिलेनिया ग्लोबल कम्पनीको नामबाट देशभर नुनको बिक्रीवितरण गर्ने भन्दै डिलरसिपको माग गरेकोमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आपत्ति जनाएको छ ।
कम्र्पोरेसनका अनुसार मिलेनिया ग्लोबल कम्पनीले गैरकानुनी तवरबाट टाटा साल्ट (नुन)को बिक्रीवितरणका लागि डिलरको माग गर्नु विद्यमान कानुनविपरीत छ । कर्पोरेसनका अनुसार २०७३ चैत ३ गतेको मन्त्रिपरिषद् बैठकबाट भएको निर्णयअनुसार नुनजन्य सामग्रीको बिक्रीवितरण साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्र गर्न पाउने अनुमति दिएकाले अन्य कम्पनीबाट नुनको कारोबार गर्न मिल्दैन । मन्त्रिपरिषद्को निर्णयविपरीत कम्पनीले नुन आयात तथा बिक्री गर्ने र उक्त नुन देशभर बिक्रीका लागि डिलरको माग गरेकोमा कर्पोरेसनको आपत्ति रहेको हो ।
विहिबारको आर्थिक दैनिकमा खबर छ–
बत्तीसपुतली काठमाडौंमा अफिस राखेर दैनिक पत्रिकामा नुन बिक्रीका लागि डिलरसिपको माग गर्दा समेत सम्बन्धित निकायबाट कुनै अनुसन्धान भएको छैन । सो कम्पनीका प्रमुखका रुपमा उमंग अग्रवाल नाम गरेका व्यक्ति छन् भने कम्पनीको सबै कारोबार भारतीय नागरिक नौसात यमतले हेर्दै आएको बताइएको छ । भारतमा सो नुन १७ भारतीय रुपैयाँमा बिक्री हुँदै आएको छ । नेपालमा भने साल्ट ट्रेडिङले नुन प्रतिकिलो २० रुपैयाँमा बिक्री गर्ने गरेको छ । यसरीविना स्वीकृत सो कम्पनीबाट गुणस्तर समेत चेकजाँच नगरी नुन नेपाल भित्र्याएको स्रोतको भनाइ छ । सो सम्बन्धमा अग्रवालसँग सम्पर्क हुनसकेन भने बिजनेस हेडका रुपमा रहेका नौसात यमतको नम्बरमा पनि फोन सम्पर्क हुनसकेन ।
यस सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पर्क गर्दा अहिलेसम्म मिलेनिया नामको कम्पनीले नुनलगायत अन्य वस्तुको आयातनिर्यात गर्नका लागि आधिकारिक रुपमा कुनै पनि अनुमति नदिएको जनाएको छ । मन्त्रालयका एक उच्च कर्मचारीले नाम नलेख्ने शर्तमा भने, ‘यस सम्बन्धमा सचिवज्यूबाट नै आधिकारिक भनाइ लिएमा राम्रो हुन्छ, हामीले सो बारेमा प्रतिक्रिया दिन मिल्दैन, तर पनि अहिलेसम्ममा सो कम्पनीले कुनै पनि स्वीकृति भने मन्त्रालयबाट लिएको छैन ।’ उनका अनुसार मन्त्रिपरिषद्को निर्णयले नुनको कारोबार साल्ट टे«डिङले मात्र गर्न पाउने अधिकार छ, अरुलाई सो अधिकार दिएको जानकारी नभएको उनको भनाइ छ ।
मिलेनियाले नेपालका लागि १६ वटा विदेशी वस्तुको एक मात्र आधिकारिक वितरक भएको दाबी गरेको छ । एमएस समूहकै लागि नयाँ बिजनेसको रुपमा रहेको भन्दै नुन समेतको कारोबार सुरु गरेको दाबी उक्त कम्पनीले गरेको हो । सो कम्पनीले अमेरिका, जर्मनी, भारत, जापानलगायत मुलुकबाट सामान आयात गर्ने गरेको दाबी समेत गरेको छ। नेपालमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले शक्ति, भानु र आयो नुन बिक्रीवितरण गर्दै आएको छ भने सो ब्राण्डमध्ये आयोनुन बढी खपत हुने गरेको छ ।
यसरी मन्त्रिपरिषद्को २०७३ चैत ३ गते बसेको बैठकबाट निर्णय भई कर्पोरेसनको कार्यालयमा २०७३ चैत ७ गतेको चलानी नम्बर ५७७ को पत्रअनुसार हालसम्म कर्पोरेसनबाहेक अन्य कुनै पनि कम्पनीले नुनजन्य वस्तुको आयात तथा बिक्रीवितरण गर्न नपाउने उल्लेखसहितको पत्र रहेको छ । तर मन्त्रिपरिषद्को निर्णयलाई हातमा लिई मिलेनिया ग्लोबल कम्पनी नामक संस्थाले नुनको डिलरसिपको माग राखी ठगी धन्दा चलाएको आरोप लागेको छ ।
कम्पनीले डिलरसिपका लागि भन्दै रकम संकलन गर्ने र उक्त रकम लिएर भाग्ने योजना समेत रहेको स्रोतको दाबी छ । मिलेनिया ग्लोबल कम्पनी प्रालिको नाममा आईएसओ सर्टिफिकेट ९००१ः२०१५ नम्बर समेत रहेको भन्दै कम्पनीले विज्ञापन गर्दै आएको छ । स्मरण रहोस् सो कम्पनीका मुख्य व्यक्ति चिनीको नाममा अवैध धन्दा चलाउँदै आएका चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालका छारा उमंग अग्रवाल हुन् ।
उखु किसानको नाममा सरकारसँग लिएको करोडौं अनुदान रकमलाई व्यक्तिगत काममा खर्च गरी किसानलाई मारमा पार्ने व्यक्तिले गैरकानुनी रुपमा नुनको विक्री गर्न खोज्दा पनि सरकारी अधिकारीहरु मौन रहनुले यसमा ठूलै गिरोहको हात रहेको आशंका गरिएको छ ।
उखु किसानलाई अग्रवालले १० अर्बभन्दा बढी रकम ठगी गरेको आरोप छ । उनलाई पक्राउ गरी मुद्दा चलाउन उद्योग वाणिज्य तथा अपूर्ति मन्त्री मातृका यादवले पत्र नै काटेका थिए ।