विद्यार्थी नेताको वकपत्र

दियो पोस्ट  

तिलक राज भण्डारी

नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवृत्ति नै राजनैतिक प्रवृत्ति हो । नेपालका राजनीतिक पार्टीहरुको स्थापना हुनुभन्दा पहिले स्वदेश र विदेशमा अध्ययन गरिराखेका शिक्षित युवा विद्यार्थीहरुले विभिन्न प्रकृतिका विद्यार्थी मञ्चहरु निर्माण गर्दै नेपालमा राजनैतिक पार्टीहरुको स्थापनामा आत्मगत र वस्तुगत वातावरण निर्माण गरेको देखिन्छ ।


राजनैतिक पार्टीहरुको स्थापना गर्ने उद्देश्यले विद्यार्थी संगठनको गठन गर्ने प्रक्रियादेखि राजनैतिक पार्टीहरु प्रतिवन्धित भएको राणाकालिन र पञ्चायतकालिन अवस्थामा समेत विभिन्न स्वरुपका विद्यार्थी संगठनहरु मार्फत राजनैतिक आन्दोलनहरुको उठान र नेतृत्व गर्ने ऐतिहासिक कार्यभार विद्यार्थी आन्दोलनले पुरा गर्दैै आएको छ । नेपालमा राजनैतिक दलहरुको स्थापना र दलीय व्यवस्थाको स्थापना भईसकेपछि सबै राजनैतिक पार्टीहरुले जनवर्गीय तथा भातृ संगठनको रुपमा विद्यार्थी संगठनहरु गठन र परिचालन गर्ने प्रक्रियाको थालनी भयो । युवा विद्यार्थीहरु शारिरीक र मानसिक दुवै रुपले शसक्त हुने भएकोले राजनैतिक पार्टीहरुले विद्यार्थी संगठनहरुलाई निकै महत्वका साथ परिचालन गर्दै आईरहेको देखिन्छ ।

विद्यार्थी संगठनका नेता–कार्यकर्ताहरुले पनि आफ्नो राजनैतिक जीवनको आधार निर्माण गर्ने आवधिक साधनको रुपमा विद्यार्थी संगठनको मञ्च प्रयोग गर्दै आईरहेका छन् । वास्तविकता यहि हो । यहि वास्तविकता हुँदाहँुदै सबै विद्यार्थी संगठनहरुले प्रतिपक्ष आन्दोलन, शैक्षिक आन्दोलन, स्वतन्त्र अन्दोलन लगायतका विभिन्न उपमा दिएर आफ्ना एजेण्डा र भाषणहरुलाई कलात्मक बनाउने मेहनत गरिरहनु परेकै छ । नेपालको विद्यार्थी आन्दोलनमा आफ्नो प्रभाव स्थापित गर्दै आएका वामपन्थी तथा गैर वामपन्थी विद्यार्थी संगठनहरुमा देखिएका राजनैतिक र संगठनात्मक जीवनमा अभिव्यक्त उतारचढावदेखि व्यवहारिक जटिल्ताहरुलाई हेर्दा आजको विद्यार्थी आन्दोलन निकै अन्तरविरोधी भुमिकामा स्थापति छ ।

एकातर्फ मातृपार्टीको संगठनात्मक पद्धति र चेन अफ कमाण्डमा रहनु परेको छ भने अर्काेतर्फ शैक्षिक आन्दोलन र प्रतिपक्ष आन्दोलनमा आफूलाई जुझारु सावित गर्नु छ । राजनैतिक र बैचारिक मार्गनिर्देशन लिए जस्तै शैक्षिक एजेण्डा पनि पार्टीको दस्तावेज र नेताहरुबाट लिएर विद्यार्थीहरुका विचमा जाने कि ? क्याम्पस र विश्वविद्यालयका विद्यार्थीहरुको भावनालाई प्रतिनिधित्व गर्ने तथा मुलुकको आवश्यक्तालाई संम्वोधन गर्ने शैक्षिक एजेण्डा र आन्दोलनको नेतृत्व गर्ने ? नीतिगत रुपमा पनि निकै अफ्ठेरो ठाऊँमा हामी छौं । व्यवहारिक जटिलता झन दोव्बर छन् । पार्टीका नेता र नेतृत्व समक्ष विद्यार्थी संगठन र नेताहरुको पहँुच धेरै कि शैक्षिक माफियाहरुको पहुँच धेरै ? भन्ने प्रश्नमा समेत छलफल गर्ने बेला आएको छ । अझ वामपन्थी विद्यार्थी संगठनहरुलाई निकै अफ्ठेरो छ । शैक्षिक नीजिकरणको पक्षमा कहिकतै बोल्न मिलेको पनि छैन, यसका विरुद्धमा परिणाममुखी आन्दोलन उठान गर्न पनि सकिएको छैन । समाजवादी शिक्षा प्राप्त भएपछि शैक्षिक नीजिकरणको अन्त्य हुने हो कि ? समाजवादी शिक्षाकालागि शैक्षिक निजिकरणको अन्त्य जरुरी हुन जान्छ ? यसको जवाफ न पार्टीको दस्तावेजले बोल्न सकेको छ, न विद्यार्थी संगठनहरुको व्यवहारले नत वर्तमान कम्युनिष्ट सरकारको नीति कार्यक्रमले नै ।

यहि चक्रव्युहमा विद्यार्थी आन्दोलन र विद्यार्थी नेता–कार्यकर्ताहरु भिक्टिम भइरहेका छन् । समाजवादसंग जोडिएको समृद्धिको बारेमा पनि हामीले छलफल गर्न जरुरी छ । समाजवादकालागि संम्वृद्धि कि सम्वृद्धिकालागि समाजवाद ? यो सम्वृद्धि कताबाट सुरु हुन्छ ? माथीबाट तल कि तलबाट माथी ? जनताबाट कि नेता–कार्यकर्ताबाट ? यो छलफल गर्ने बेला हो । हामीले यस्तै प्रश्नहरुको विद्यार्थी आन्दोलन बनाउन खोजेका हौं कि जवाफ दिदै अगाडी बढ्ने हिम्मतवाला विद्यार्थी आन्दोलन ? एजेण्डा पकड्दा संगठनात्मक पद्धति छैन, पद्धति पकड्दा ऐजेण्डा छैन ।

नेताले कार्यकर्तालाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन कार्यकर्ताले नेतृत्वसंग जवाफ माग्ने हिम्मत छैन । यहि हो आजको सत्य । अव यो अन्तरविरोधी भुमिका विद्यार्थी आन्दोलनको नेतृत्व र परिचालन दुबै गर्न सकिदैन । हामी स्पष्ट छौं र स्पष्ट पार्नैपर्दछ कि सबै विद्यार्थी संगठनहरुले राजनैतिक र संगठनात्मक नेतृत्व मातृ पार्टीको अवलम्वन गर्दै आईरहेका छन् ।

त्यसरी सबै विद्यार्थी संगठनहरुले शैक्षिक ऐजेण्डा पनि पार्टीभित्र व्यवस्थित बहस सञ्चालन गरेर शैक्षिक नीति र एजेण्डा निर्माण नगरी यस प्रकृतिको विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनको नेतृत्व गर्न अव सम्भव छैन । यदि यसो गर्न सकिदैन भने विद्यालय र विश्वविद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले राजनैतिक पार्टीहरुको भातृ संगठनको रुपमा होईन कि स्वतन्त्र अस्तित्वको रुपमा एजेण्डाका आधारमा विभिन्न प्रकृतिका संगठन र मञ्चहरु निर्माण गर्ने र शैक्षिक एजेण्डा उठान गर्ने पद्धतिको विकास हुन जान्छ । र, विद्यमान विद्यार्थी संगठनहरु विद्यमान राजनैतिक पार्टीका भातृ संगठनको रुपमा मात्र सीमित रहनुपर्ने परिस्थिति पैदा हुन जान्छ ।


यो छलफल ले हामीलाई यो निष्कर्षमा पुग्न सहयोग गर्दछ कि नेपालको राजनीतिक दलहरुको विद्यमान राजनीतिक संस्कार र नेपाली विद्यार्थी आन्दोलनको प्रकृतिमा समयसापेक्ष विकास गर्नै पर्ने स्थिति पैदा भएको छ । विगतको राजनीतिक परिचालन र विद्यार्थी आन्दोलनको स्वरुपले आजका विद्यार्थीहरुलाई संगठित तथा परिचालन गर्न सम्भव छैन ।

नयाँ सन्दर्भमा रचनात्मक र निर्माणात्मक विद्यार्थी आन्दोलनमार्फत हरेक विश्वविद्यालय र शिक्षण संस्थाहरुमा आम विद्यार्थीहरुलाई परिचालन र संगठित गर्दै नेपालको शासन व्यवस्था र सामाजिक जीवनमा देखा परेका विकृतिहरु तथा शिक्षा क्षेत्रमा सिर्जित नयाँ –नयाँ मुद्धाहरुलाई सम्वोधन गर्न सक्ने आन्दोलनले मात्रै विद्यार्थी संगठनहरुमा विद्यार्थीको आकर्षण सहितको आन्दोनको विकास गर्न सम्भव छ ।


यो विषयमा मूख्यतः मातृ पार्टीका नेता–नेतृत्व तथा सम्वन्धित विद्यार्थी संगठनका नेता–नेतृत्वले समयमै वस्तुपरक छलफल गरी उपयूक्त फैशला लिएको राम्रो ।
भण्डारी पूर्व माओवादी केन्द्र निकट विद्यार्थी संगठनका उपाध्यक्ष हुन् ।