कतारका लागि नेपाली राजदुत कोइरालालाई फिर्ता बोलाउने सरकारको निर्णय

दियो पोस्ट  

काठमाडौं, वैशाख १२ । सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजदुत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिए ।


बिहीबार मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले आवश्यक परेकाले कोइरालालाई कतारको राजदुतबाट फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिएपनि त्यसको कारण भने खुलाउन चाहेनन् ।


राजदुत फिर्ता बोलाउने अधिकार सरकारलाई भएकाले सोही अनुसारको निर्णय गरिएको मन्त्री बास्कोटाको भनाई छ ।


राजदुत कोइरालालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले कतारका लागि नेपाली राजदुतमा नियुक्त गरेको थियो ।


त्यसैगरी सरकारले खुलामञ्चको जग्गामा अस्थायी सटर बनाउने अनूमति नदिइएको पनि स्पष्ट पारेको छ । मन्त्री बास्कोटासँगै पत्रकार सम्मेलनमा सहभागी हुनु भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले खुलामञ्चको जग्गा अतिक्रमण गरेर अस्थायी सटर बनाउने अनुमति नदिइएको प्रष्टयाए ।


तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत समेत रहनु भएका उनले तीनकुनको जग्गामा बसपार्क बनाउने निर्णय जग्गा विवादका कारण ढिलाई भएपछि खुलामञ्चको जग्गामा बसपार्क संचालन गर्न अस्थायी रुपमा अनुमति दिइएको पनि स्मरण गराए । स्थानीय बासीले खुला मञ्चको जग्गा अतिक्रमण गरी अस्थायी सटर बनाउन दिएको भन्दै विरोधमा विहीबारदेखि आन्दोलन सुरु गरेका छन ।