खुलामञ्च अतिक्रमण : सटर भत्काउन वैशाख मसान्तसम्मको अल्टिमेटम

दियो पोस्ट  

काठमाडौं, वैशाख १३ । राजधानीको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर तथा स्टल वैशाख मसान्तसम्म हटाउन स्थानीयले काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएका छन् । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीय आन्दोलित भएका हुन् ।

तोकिएको अवधिभित्र नभत्काए आफैँ भत्काउने चेतावनी स्थानीयको छ । काठमाडौं–६ का सांसद भीमसेनदास प्रधानले अतिक्रमण गरी बनाइएका सटर वैशाख मसान्तसम्म भत्काउन महानगरपालिका र सम्बन्धित ठेकेदार कम्पनीलाई अल्टिमेटम दिएको बताए । ‘खुलामञ्च अतिक्रमण गरी सार्वजनिक सम्पत्ति व्यक्तिले दोहन गरेको पाइयो, यो गैरकानुनी हो । हामीले महानगरपालिका र सम्बन्धित ठेकेदारलाई वैशाख मसान्तसम्म सबै सटर भत्काउन भनेका छौँ । तोकिएको अवधिमा नभत्किए जनता आफँैले सटर भत्काउनेछन्,’ उनले भने ।

जनप्रतिनिधिसहित स्थानीयको विरोध प्रदर्शन
अतिक्रमणविरुद्ध सांसद प्रधानसहित, नयाँ शक्ति पार्टीकी युवा नेतृ मानुषी यमीलगायत स्थानीयले बिहीबार विरोध प्रदर्शन गरेका छन् । उनीहरूले ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । ‘हामीले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीसँग गणतन्त्र दिवससम्ममा खुलामञ्च खाली गरिनुपर्छ भनेका छौँ । यदि भएन भने महानगरपालिकाकै मिलेमतो भएको पुष्टि हुन्छ । त्यो अवस्थामा हामी आफैँ खुलामञ्च प्रवेश गरेर अतिक्रमण गरी बसेकालाई हटाउँछौँ,’ यमीले भनिन् ।
१५ लाखसम्म सलामी असुल
महानगरपालिकासँगको सम्झौताविपरीत ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले खुलामञ्च अतिक्रमण गरेर ४० भन्दा धेरै सटर बनाई भाडामा लगाएको छ । ठाउँ उपलब्ध गराएबापत कम्पनीले प्रत्येक व्यापारीबाट प्रतिसटर १५ लाख रुपैयाँसम्म सलामीसमेत उठाएको छ । सलामी रकम नबुझाउने व्यापारीलाई कम्पनीले बसपार्क प्रवेशमै रोक लगाएको छ । बसपार्कभित्रका नाङ्लो व्यापारीसँग भने प्रतिनाङ्लो ५० हजार रुपैयाँ उठाउने गरेको छ । सलामी रकम सुरुमा ठाउँ लिएबापतको मात्रै हो । भाडाबापत हरेक महिना १५ हजार रुपैयाँका दरले संकलन हुँदै आएको छ ।
गुठीको एक रोपनी जग्गा पनि अतिक्रमण
खुलामञ्चसँगै रहेको दुईमाजू गुठीको करिब एक रोपनी जग्गा पनि अतिक्रमण गरी व्यापारिक प्रयोजनमा लगाइएको छ । ३२ वटा स्टल बनाइएको सो जग्गा प्रतिमहिना १५ हजार रुपैयाँ भाडा बुझाउने गरी गुठी संस्थानबाट लिइएको हो । तर, व्यवस्थापकले सोही जग्गा भाडामा लगाएर महिनामा झन्डै पाँच लाख रुपैयाँ संकलन गरिरहेको छ ।

गुठी संस्थानको ९ मंसिरको निर्णयले व्यवसाय गर्न भन्दै गोरखा भीमसेन–२ की अमृता भट्टराईको नाममा दिइएको हो । भट्टराईले मनोज भेटवाल, ऋषि बर्तौला, राजु श्रेष्ठ र भैरव भेटवालसँग मिलेर पाँच महिनादेखि जग्गा भाडामा लगाइरहेकी छन् । विनाटेन्डर दिइएको जग्गामा ३२ वटा स्टल बनाइएका छन् ।

प्रत्येक स्टलबाट प्रतिमहिना १५ हजार रुपैयाँका दरले भाडा संकलन हुन्छ । स्टल लिएबापत व्यापारीले व्यवस्थापकलाई प्रतिसटर सात लाख रुपैयाँ सलामी रकमसमेत बुझाइसकेका छन् । संस्थान र भट्टराईबीच भएको सम्झौताअनुसार पाँच वर्षका लागि जग्गा दिइएको हो । सम्झौतापत्रमा करारनामा दुवै पक्षको स्वतन्त्र सहमतिमा भएकाले अक्षरशः पालना गर्न दुवै पक्ष प्रतिबद्ध रहेको उल्लेख छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्– सटर बनाउने र सलामी उठाउने दुवै काम अवैध
जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले बसपार्कभित्र सटर बनाउँदै गरेको र सडक व्यापारीलाई भाडामा दिनुअघि सलामी रकम उठाएको सूचना आएपछि म आफैँ निरीक्षणमा पुगेँ । हामीलाई प्राप्त भएको सूचना सही रहेछ । ठेकेदारलाई हामीले तत्काल यो काम रोक्न भनेका छौँ । अटेर गरे महानगरपालिकाले सबै सटर भत्काउँछ । गैरकानुनी काम भएको छ । यसप्रति महानगरपालिका सचेत छ ।

भ्यु टावरको सेयर दिने भन्दै सडक व्यापारीसँग रकम असुल
बिल्डर्सले भ्यु टावरको सेयरदेखि सटर दिने प्रलोभनमा बसपार्कस्थित दुई सयभन्दा बढी व्यापारीसँग एक–एक लाखका दरले रकम उठाएको छ । तर, रकम दिएको प्रमाण नभएपछि सबै व्यापारी चुपचाप छन् । बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्डेले भने, ‘हामीलाई भ्यु टावरमा सेयर दिन्छु भन्यो । सटर पनि दिन्छु भन्यो । दुई वर्षअघि नै हामीले एक–एक लाख रुपैयाँ दिएका हौँ । तर, उसले हामीलाई ठगेको रहेछ भन्ने बल्ल थाहा भयो ।’
को हो जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स ?
जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले पुरानो बसपार्कमा ‘भ्यु टावर’ बनाउने भन्दै चार वर्षदेखि जग्गा ओगटेर राखेको छ । भ्यु टावर निर्माण गर्न बिल्डर्सले महानगरपालिकासँग २२ फागुन ०७१ मा सम्झौता गरेको थियो । निर्माणको कार्यादेश भने उसले ०७२ फागुनमा पाएको थियो । त्यसलगत्तै बिल्डर्सले बसपार्क हटाएर खुलामञ्चमा सा-यो । बसपार्कलाई चारैतिरबाट जस्तापाताले घे-यो । निर्माणका लागि केही उपकरण र गिटी, बालुवा पनि जम्मा ग-यो । तर, जग खन्ने काम भने अझै गर्न सकेको छैन । सम्झौताअनुसार उसले पाँच वर्षभित्र भ्यु टावर निर्माण गरिसक्नुपर्नेछ । तर, अहिलेसम्म १ प्रतिशत काम पनि भएको छैन । नयाँपत्रिका दैनिकबाट