काठमाडौं, वैशाख १४ । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष ०७५/७६ मा ६ दशमलव ८१ प्रतिशत (आधारभूत मूल्यमा) आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यससँगै नेपालले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने देखिएको छ । नेपालले गत आर्थिक वर्ष ०७४/७५ मा ६ दशमलव ३ प्रतिशत र त्यसअघि ०७३/७४ मा ७ दशमलव ७४ प्रतिशत वृद्धिदर कायम गरेको थियो ।
शुक्रबार विभागको तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले आर्थिक क्रियाकलापमा निरन्तर वृद्धि भइरहेकाले त्यसले अर्थतन्त्रको विकासमा सकारात्मक योगदान गरिरहेको बताए । सरकारले यस आर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा लिएको थियो । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको मध्यावधि समीक्षामा सातदेखि आठ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने बताएका थिए । विभागको प्रक्षेपण पनि सात प्रतिशतको नजिक हुने देखिएको छ ।
बजार मूल्यअनुसार सात प्रतिशत आर्थिक वृद्धि
बजार मूल्यअनुसार मुलुकको आर्थिक वृद्धिदर ७ दशमलव ०५ प्रतिशत हुने प्रक्षेपण पनि तथ्यांक विभागको छ । आधारभूत मूल्यको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा कर र अनुदान जोडेपछि आउने वास्तविक जिडिपी बजार मूल्यमा आउने गर्छ । अन्तर्राष्ट्रिय रूपमा आर्थिक वृद्धिदर तथा प्रतिव्यक्ति आम्दानीको गणना तथा तुलना गर्न यही जिडिपी प्रयोग गरिन्छ । बजार मूल्यका आधारमा मुलुकमा गत आवमा ६ दशमलव ६६ र त्यसअघिको वर्षमा ८ दशमलव २२ प्रतिशत आर्थिक वृद्धि भएको पनि तथ्यांक विभागले सार्वजनिक गरेको छ ।
यसअघि विभिन्न बहुपक्षीय निकायले पनि विभागकै तथ्यांकसँग मेल खाने प्रक्षेपण सार्वजनिक गरेका छन् । विश्व बैंकको फ्ल्यागसिप प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’मा यस वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण छ । त्यस्तै, एसियाली विकास बैंकले ६ दशमलव २ प्रतिशत र अन्तर्राष्ट्रिय मुद्राकोषले साढे ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएका छन् । यी निकायले आगामी तीन वर्ष लगातार ६ प्रतिशतभन्दा माथि आर्थिक वृद्धि हुने जनाएका छन् ।
अर्थतन्त्रको झलक
आर्थिक वृद्धि : ६.८१ प्रतिशत
कुल जिडिपी (उपभोक्ता मूल्यमा) : ३४ खर्ब ६४ अर्ब
रेमिट्यान्स : ८ खर्ब ९ अर्ब (२६.२४ प्रतिशत)
प्रतिव्यक्ति आय : १०३४ डलर
राष्ट्रिय बचत : २०.४८ प्रतिशत
कृषिको वृद्धिदर उच्च, उद्योगको घट्यो, सेवा स्थिर
चालू आवमा प्राथमिक क्षेत्र (कृषि, वन, मत्स्य र खानी तथा उत्खनन)को वृद्धिदर ५ दशमलव १० प्रतिशत रहनेछ । गत आर्थिक वर्षमा यो क्षेत्रको वृद्धिदर २ दशमलव ७९ प्रतिशत मात्रै थियो । कुल गार्हस्थ उत्पादन (जिडिपी)मा यस क्षेत्रको हिस्सा २७.०१ प्रतिशत छ । अनुकूल मौसमका कारण कृषि क्षेत्रको वृद्धिदर बढेको विभागले जनाएको छ । विभागका अनुसार द्वितीय क्षेत्र (निर्माण, उद्योग, विद्युत्, ग्यास तथा पानी)को वृद्धिदर ८ दशमलव १० प्रतिशत रहनेछ । गत आवमा यो क्षेत्रको वृद्धिदर ९ दशमलव ६२ प्रतिशत थियो । जिडिपीमा यस क्षेत्रको हिस्सा १४ दशमलव ६ प्रतिशत छ । सेवा क्षेत्रको वृद्धिदर भने ७ दशमलव २९ प्रतिशत रहने अनुमान गरिएको छ । गत वर्ष यस क्षेत्रको वृद्धिदर ७ दशमलव १६ प्रतिशत थियो । यस क्षेत्रले जिडिपीमा ५७.८१ प्रतिशत योगदान गरेको छ ।
प्रतिव्यक्ति आय एक हजार ३४ डलर, अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब
गत वर्षको तुलनामा चालू आवमा नेपालीको औसत आय ३६ डलरले बढेर एक हजार ३४ डलर पुगेको छ । अघिल्लो आवमा औसत आय ९ सय ९८ डलर थियो । कुल गार्हस्थ उत्पादनलाई जनसंख्याले भाग गरी प्रतिव्यक्ति आम्दानी गणना गरिन्छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब ३१ करोड रुपैयाँ (उपभोक्ताको मूल्यअनुसार) पुग्ने भएको छ । अघिल्लो आवमा जिडिपीको आकार ३० खर्ब ३१ अर्ब तीन करोड थियो ।
बढ्दोक्रममा राष्ट्रिय बचत
नेपालीको आम्दानी केवल उपभोगमा सीमित रहेको आरोप लाग्दै आएको छ । तर, पछिल्ला तथ्यांकले नेपालीमा पनि क्रमशः बचत गर्ने बानीको विकास भएको देखाउँछ । केन्द्रीय तथ्यांक विभागका अनुसार राष्ट्रिय बचत २०.४८ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यो १७.८१ प्रतिशत थियो । त्यसभन्दा अघि राष्ट्रिय बचत ११ प्रतिशतबाट माथि बढ्न सकेको थिएन ।
जिडिपीमा रेमिट्यान्सको योगदान घट्दो
नेपालको जिडिपीमा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमको अनुपात २६ दशमलव २४ प्रतिशत छ । आव ०७२/७३ मा रेमिट्यान्सको योगदान २९ दशमलव ५२ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि भने रेमिट्यान्सको योगदान क्रमशः घट्दै गएको छ । यस आर्थिक वर्षमा आठ खर्ब नौ अर्ब रुपैयाँ रेमिट्यान्स आउने प्रक्षेपण आयोगले गरेको छ । नयाँपत्रिका दैनिकबाट