काठमाडौं, १३ वैशाख । महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिसरमा विहिबार विहान ११ बजेदेखि विद्यार्थीको लामो लाइन थियो । केही वेरमा उनीहरुको लाइन कार्यालय भित्र प्रवेश गर्यो ।
सँधै एउटै कक्षा भित्र गुरुहरुको प्रवचन सुनिरहेका उनीहरुको अनुहारमा त्यो क्षण फरक थियो । त्यसैले उनीहरुको अनुहार थप जिज्ञासाले भरिएको आभास हुन्थ्यो ।
गेटबाट प्रवेश गर्ने वित्तिकै जिज्ञासु विद्यार्थीहरुलाई विपद् व्यवस्थापन, साइबर क्राइम, दुर्घटना भएको अवस्थामा तत्काल प्रहरीलाई खबर गर्ने नम्बरको बारेमा प्रहरीले जानकारी गराएपछि विद्यार्थीहरु थप उत्सुक भए ।
कञ्चनजंघा ईन्टीग्रेटेड मोडन स्कुलका कक्षा ७ देखि दससम्मका ४७ जना विद्यार्थीहरुको भिड रानीपोखरी स्थित महानगरीय प्रहरी आयुक्त डिआइजी शैलेश थापाको कार्यालयमा उपस्थित थिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीको हलमा भित्र विद्यार्थीहरु विद्यालयमा पढ्न बसेझै कक्षामा प्रवेश गरे । तर कक्षामा विद्यालयमा पढाइने कोर्षको विषय थिएन ।
युनिफर्म लगाएका प्रहरीले प्रोजेक्टरमा सन्देशमूलक जानकारी सहितको पढाइ सुरु गरेपछि विद्यार्थीहरुले आफ्नो नोटबुक निकालेर धमाधम टिप्न सुरु गरे । विद्यार्थीले सुनेको तर त्यसको प्रयोगको बारेमा पूर्ण रुपमा जानकारी नभएका विषय विद्यार्थीहरुले रुचीको साथ सुने । नबुझेको विषयमा तत्काल नै प्रश्न गर्थे । कक्षामा पढाइने विषय भन्दा निकै फरक शैलीमा प्रहरीका अधिकृतहरुले कलात्मक रुपमा पढाएका थिए ।
जुन विषय विद्यार्थीले निकै चाखपूर्ण रुपमा ग्रहण मात्र गरेनन, प्रश्न गरेर आफ्नो जिज्ञासा समेत मेटाए । विद्यार्थीको मनोविज्ञानलाई समेटने गरी प्रस्तुत गरिएका विषयले प्रहरी र समुदायप्रति विद्यार्थीहरुले आफ्नो दायित्वबोध समेत गरे । कक्षा ९ मा अध्ययनरत विद्यार्थी सृजन कार्कीले प्रहरीबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताए । उनले भने,‘धेरै कुरा सुनेका थियौ, तर दुर्घटना हुँदा के गर्ने, कसरी सुरक्षित बन्ने भन्ने विषयमा राम्रो ज्ञान प्राप्त ग¥यौँ ।’
कक्षा शुरु भएको केहीबेरमा एसएसपी किरण बज्राचार्यको कक्षामा प्रवेश गरिन् । उनीहरुको उत्सुकताको भोग पनि शुरु भयो । एसएसपी बज्राचार्यले विद्यार्थीहरुलाई आत्मसुरक्षाको बारेमा पढाइन् । उनले विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा कसरी आत्मरक्षा गर्ने भन्ने विषय समेत सिकाइन । विद्यार्थीहरुलाई सम्भावित दुर्घटनाबाट कसरी बच्ने विषयमा आत्मरक्षाको बारेमा सहज रुपमा बुझाउन विद्यार्थीहरुलाई नै अगाडि ल्याएर व्यावहारिक प्रयोग देखाएपछि उनीहरु खुसी देखिन्थे । बज्राचार्यले २०७४/०७५ को तथ्याङ्क सुनाउँदा विद्यार्थीहरु धमाधम नोटमा टिपिरहेका थिए । एक बर्षको अवधिमा मात्र १ हजार ४ सय ८० वटा बलात्कारको घटनाको तथ्याङ्क सुनाउँदै उनले ७ सय २७ बलात्कार गर्न कोशिस गरेको बताइन् ।
एक बर्षमा १२ हजार २ सय २५ घरेलु हिंसाको घटना दर्ता भएको बताउँदै बज्राचार्यले यौन हिंसाको बारेमा विद्यार्थीलाई निकै सटिक र सरल ढंगले विद्यार्थीलाई बुझाउन सफल भइन् । समाजमा महिलामाथि मात्र यौनजन्य हिंसा नहुने तथ्याङक प्रस्तुत गर्दै पुरुषमाथि पनि यौनजन्य हिंसा भएको बताउँदै यौनजन्य हिंसाबाट बन्चे उपाय पनि सिकाइन् ।
एसएसपी बज्राचार्ययले चर्चित निर्मला हत्याकाण्डको उदाहरण दिँदै विद्यार्थीहरुलाई आफू घरबाट अन्यत्र जाँदा आफ्नो अविभावलाई अनिवार्य रुपमा जानकारी दिएर मात्र हिड्न आग्रह गरिन् । निर्मला पन्तले घरबाट निस्किने क्रममा जानकारी नदिँदा घटनाको दोषी पत्ता लगाउन कठिन भएको स्मरण गराउँदै उनले जानकारी गराएर मात्र हिड्न आग्रह गरिन् ।
अपरिचित व्यक्तिले दिएको खानेखुरा नखाने, रातीको समयमा एक्लै नहिडने, कसैले आक्रमण गर्न खोजे प्रतिरक्षा गर्नको लागि अनुहारलाई आक्रमक बनाउने, ठूलो स्वरमा चिच्याउने, बच्नको लागि अपराधीलाई हिर्काउने, तत्काल भाग्ने विधि प्रयोग गरेर नै देखाएपछि विद्यार्थीहरुले आफूहरुमा आत्मबल बढेको अनुभव सुनाए । विद्यार्थी सुजित गौतमले भने,‘अपठ्यारोमा पर्दा कसरी बच्ने भन्ने विषय प्रहरीबाट सिक्न पायौँ, अब केही भयो भने प्रतिरक्षा गर्न तरिका सिक्यौँ ।’
जीवन बचाउन एक मिनेट…
दुर्घटना कहाँ र कति बेला हुन सक्छ भन्न सकिन्न । सम्भावित दुर्घटनाबाट बच्न स्वयंम व्यक्ति नै चनाखो बन्नुपर्छ । प्रहरीले पनि विद्यार्थीहरुलाई सम्भावित यौनजन्य हिंसाबाट बच्ने विधिको बारेमा जानकारी गराएको छ । ‘संयमतापूर्वक उच्च मनोबलका साथ प्रतिवाद गर्दा एक मिनेटको कारण ज्यान बचाउन सकिन्छ’, एसएसपी बज्राचार्यले विद्याथीहरुलाई भनिन्,‘आत्मविश्वास सबै भन्दा ठूलो कुरा हो, आफूलाई बचाउन प्रतिकार गर्नुपर्छ, दृढ मनोबल राख्दा जीवन बचाउन सकिन्छ ।’ आत्मरक्षा गर्ने क्रममा जोडले चिच्याउने, आफ्नो हात खुट्टाले आक्रमणकारीको संवेदनशिल अंगमा प्रहार गर्नाले बच्न सकिन्छ,’ उनले भनिन् ।
जब डिआइजी शैलेश थापालाई विद्यार्थीले सोधे,‘१०० र १०३ मा फोन नलागे के गर्ने ?
कक्षामा महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेस थापा क्षेत्री प्रवेश गरेपछि विद्यार्थी थप उत्सुक भए । थापाले विद्यार्थीहरुलाई नै केही जिज्ञासा भए राख्न अनुरोध गरे ।
आफूले नबुझेको र नजानेको विषय सोध्दा धेरै कुरा सिक्ने अवसर हुने उनले विद्यार्थीलाई स्मरण गराए । त्यसपछि विद्यार्थीहरुले प्रहरीले लगाउने पोशाक, फुली, ब्याज, प्रहरीले गर्ने कामको बारेमा प्रश्न गरेका थिए । जवाफमा डिआइजी थापाले प्रहरीले प्रयोग गर्ने चार प्रकारको पोसाक, राम्रो काम गरे बापत प्राप्त गर्ने मेडल प्राप्त गरेको बताए ।
प्रहरीले अवस्था अनुसार पोशाक लगाउने गरेको जानकारी समेत दिए । डिआइजी थापाले प्रहरीले के काम गर्छ भनेर विद्यार्थीलाई प्रश्न गरेका थिए । जवाफमा विद्यार्थीहरुले देशको सेवा गर्ने र शान्ति सुरक्षा गर्ने व्यक्त भएको बताएका थिए ।
अपठ्यारो पर्दा कहाँ फोन गर्ने ? भन्ने प्रश्नमा विद्यार्थीको उत्तर थियो– १०० मा । १०० नम्बर डायल गरेर घटना थाहा पाए लगत्तै घटनास्थलमा प्रहरी परिचालन हुने अवगत प्रहरीले विद्यार्थीलाई सिकाएको छ । जिज्ञासु विद्यार्थीले १००, १०३ नम्बरमा फोन लगागे के गर्ने भन्ने प्रश्न गरेपछि जवाफमा डिआइजी थापाले भने,‘मेरो नम्बर ९८५१२२००४ नम्बरमा फोन गर्नुहोस् ।’
विद्यालय जाने क्रममा सडकमा दुर्घटना भएको देखेमा १०० मा फोन गर्न डिआइजी थापाले सुझाए ।
जिज्ञासु विद्यार्थीलाई थापाले प्रहरीको कन्ट्रोल रुपमको १०० नम्बरमा फोन गरेर ठट्टा गर्न नहुने सुझाव दिँदै एउटा घटना सुनाए – ‘एक जना महिलाले १०० मा फोन गरेर यो मेरो अन्तिम कल हो, त्यसपछि म तपाईंहरुलाई फोन गर्दिन भनेर फोन राखिदिइन ।
त्यसपछि १०० लाई अपठ्यारो पर्यो कहाँ पठाउने गाडी ? राती म भर्खर घर पुगेको थिएँ । मलाई फोन आयो एक जना महिलाले अन्तिम फोन हो भनेर राख्दिनु भो । अब के गर्ने ? मैले त्यो नम्बरमा फोन गरेर कुरा गर्न आग्रह गरे । तर १०० मा फोन गर्ने महिलाको मोबाइल नै अफ भएको खबर आयो । नागरिकहरुको ज्यान बचाउने दायित्व र कर्तव्य प्रहरीको हो ।
माघ महिना थियो प्रहरीले मोबाइल ट्याकिङ गरेर खोज्ने क्रममा हामीले उक्त घरमा पुग्यौँ । त्यो घरमा पुगेर यो नम्बर चिन्नुहुन्छ भनेर सोध्दा एक जना बुढोबुढो मानिसले भन्नुभयो–यो त मेरो श्रीमतीको नम्बर हो । तपार्इंको श्रीमती खोइ ? हामीले सोध्यौँ । उनले भने,‘उता कोठामा सुत्छ मलाई केही थाहा छैन, रातभरी निदाउँदैन डिप्रेसनको औषधी खान्छे ।’
प्रहरीले उनलाई साथ लिएर त्यहाँ पुग्दा ती महिला सुतिरहेको ढोका खोल्दा उनी जिउँदै थिइन । मर्नको लागि औषधी खाने तयारीमा थिइन् । हामीले सम्झाएपछि आत्महत्या प्रयासबाट रोकिइन् । हामी रात दिन भन्दैनौँ । तर, यस्तो समाचार हामीले पढ्न पाएनौँ ।’
डिआइजी शैलेश थापा हरेक हप्ता उपत्यकाका विद्यार्थीहरुलाई समाजमा अपराध न्युनिकरणका लागि कक्षा लिइरहेका छन् । वाल मनोविज्ञानमै अपराध न्युनिकरणको प्रयास गर्ने उनको योजना छ । थापा आफै राजधानीका विभिन्न विद्यालयमा विद्यार्थीलाई पढाउँदै हिँड्ने गरेका छन् ।