काठमाडौंका एसएसपी बसन्त लामा विवादमा : १५ करोडको चेक बाउन्स नगर्न बैंकलाई पत्राचार !

दियो पोस्ट  


काठमाडौ, १५ वैशाख । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक बसन्त लामा विवादमा तानिएका छन् ।


उनी नेतृत्वको महानगरी प्रहरी परिसर टेकुले चेक बाउन्स नगर्न बैंकलाई पत्र काटेको पाइएको छ । परिसरको बैंकिङ कसुर तथा अनुसन्धान तथा कारबाही शाखाका प्रहरी निरीक्षक ओम प्रकाश श्रेष्ठले चेक बाउन्स नगरिदिन प्रभु बैंक लिमिटेड बबरमहल र बैंक अफ काठमाण्डू कमलपोखरीलाई पत्राचार गरेका छन् ।


सामान्यतया जारी भएको चेकमा पर्याप्त रकम नभईकन बदनियतपूर्ण रुपमा चेक जारी गरेमा, पटक–पटक चेक साट्न जाँदा पनि चेकमा उल्लिखित खातामा पर्याप्त रकम नभएमा चेक बाउन्स हुन्छ ।


चेक बाउन्स गर्ने कि नगर्ने त्यो कार्यक्षेत्र भनेको चेकमा उल्लिखित भएको हो । तर प्रहरी परिसर काठमाडांैले भने केही व्यक्तिहरुले दिएको निवेदनलाई आधार मानेर चेक बाउन्स नगर्न प्रभु र बीओकेलाई पत्र लेखेको छ ।


परिसरद्वारा जारी गरिएको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा होम प्रसाद चौलागाईं र गोपाल महर्जनको निवेदनले युनिक फ्युल सेन्टर र भ्याली रिकेस सप्लायर्सको नाउँमा रहेको कुनै पनि चेकहरु बाउन्स नगरिदिनुहुन अनुरोध गरिएको छ । माथि उल्लिखित चेकहरु अनुसन्धानका क्रममा रहेको हुँदा अन्य चेकहरु पनि जारी नगराउन अनुरोध गरिएको छ ।’ स्रोतका अनुसार होम प्रसाद चौलागाईं भ्याली रिकेस सप्लायर्सका सञ्चालक हुन् भने गोपाल महर्जन युनिक फ्युल सेन्टरका सञ्चालक हुन् । यी दुवै व्यक्तिहरु पेट्रोलपम्प व्यवसायीहरु हुन । यी दुई व्यक्तिहरुले आन्तरिक सहमति गरेर शिव प्रसाद तिमिल्सिनाई पम्प सञ्चालन गर्न दिएका थिए ।

तर पम्प सञ्चालन गर्ने क्रममा तिमिल्सिनाले काठमाडौंको तीनकुने र कोटेश्वरको बालकुमारी क्षेत्रमा रहेको चौलागाईं र महर्जनको पेट्रोल पम्पलाई आफ्नै हो भनेर धेरै जनासँग विभिन्न बहानामा पैसा उठाए । यसरी उठाएको पैसा तिमिल्सिनाले कहाँ लगानी गरेर थाहा छैन, पीडितहरुले भनेका छन् । जब आफूहरुले सापटी दिएको पैसा फिर्ता माग्न पीडितहरु तिमिल्सिना कहाँ गए, तिमिल्सिनाले कानुनीरुपमा आफ्नो स्वामित्वमा नै नभएको युनिक फ्युल सेन्टर र भ्याली रिकेस कोल्ड स्टोरको नाउँमा चेक काटेर दिए । तर चेक साटिएन, पीडितहरुले भनेका छन् ।

तर अहिले तिनै चेकहरु पनि बाउन्स नगर्न भन्दै महर्जन र चौलागाईंले महानगरीय प्रहरी परिसरलाई आग्रह गरेको सुन्दा अचम्म लाग्यो,’ पीडितहरुले भनेका छन् । चेक बाउन्स हुँदा चेक जारी गर्ने व्यक्तिहरु तथा आफ्नो कम्पनी समेतको बैंकिङ कसुरअन्तर्गतको कारबाहीमा तानिने हुँदा महर्जन र चौलागाईंले चेक बाउन्स नगर्न पत्र पठाएका हुनसक्छन्, स्रोतले भनेको छ । स्रोतका अनुसार तिमिल्सिनाले भ्याली रिकेस सप्लार्यस र युनिक फ्युल सेन्टरकै नाउँमा १५ करोड रुपैयाँभन्दा बढीको चेक जारी गरेका छन् ।

विभिन्न व्यक्तिहरुलाई ठूलो परिमाणमा रकम लिएका तिमिल्सिना हाल फरार रहेका छन् भने यसरी काटिएका सबै चेकहरु कानुनीरुपमा बाउन्स हुन्छन् तर प्रहरी परिसरले किन यसरी चेक बाउन्स नगर्नु भनेर पत्र काट्यो हामीलाई थाहा छैन, त्यसको जानकारी नेपाल राष्ट्र बैंकमा आएको छैन, राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले भने ।


खासगरी चेक बाउन्स गर्ने अधिकार बैंकहरुको हो, कुनै विशेष कारणबाहेक प्रहरीले चेक बाउन्स नगर्न पत्राचार गर्न सक्दैन, तर किन ग¥यो, हामीले पनि बुझ्न सकेनौं, प्रवक्ता पौडेलेले भने । तर कुनै व्यक्तिगत कारण देखाएर जारी भइसकेको चेक स्टप गरिदिन आग्रह गर्न सक्छ, तर जारी भइसकेको चेक बाउन्स नगर्न पत्राचार गर्न नहुने हो, यसको बारेमा प्रहरीसँगै सोध्नु उपयुक्त हुने उनले बताए ।

पीडितहरुका अनुसार हाल फरार भनिएका तिमिल्सिनाले रोशन मैनाली, सन्त शाही, कुन्दन अवाले, हरि तिमिल्सिना, मुनचुन बर्मा, लक्ष्मण केसीसहितका ३० जनाभन्दा बढी व्यक्तिहरुबाट रकम ठगेर फरार भएका छन् ।


सुरुमा दुईवटै पेट्रोल पम्प आफ्नै हो भनेर आफन्त र विभिन्न व्यक्तिहरुमार्फत प्रभाव पारेर आफूहरुलाई ठगेको र यसरी ठगिनेमा फरार रहेका तिमिल्सिनाकै आफन्त समेत परेको पीडितहरुले बताएका छन् ।

यसैबीच केही पीडितहरुले भने महर्जन र चौलागाई स्वयंले नै तिमिल्सिनालाई काठमाडौंमा नै कहीँ राखेर चेक बाउन्स नगर्न बैंकलाई पत्राचार गर्न लगाएका हुनसक्नेमा समेत आंशका व्यक्त गरेका छन् ।