इन्धनमा हड्ताल शुरु : पेट्रोल, डिजेल ग्याँस लगायत अत्यावश्यक बस्तुको कृतिम अभाव !

diyopost.com
दियो पोस्ट  शुक्रबार, चैत्र १८, २०७८ | १७:३६:२३

काठमाडौं । नेपाल आयल निगमको नेतृत्वमा ‘निकम्मा’ व्यक्ति नियुक्ती भएसँगै व्यापारीहरुले अमानवीय रुपमा अत्यावश्यक बस्तुमा हड्ताल शुरु गरेका छन् । केहीदिन अघि प्रधानमन्त्री देउवाको ठाडो आदेशमा निगमको कार्यकारी निर्देशकमा कांग्रेस कार्यकर्ता उमेश प्रसाद थानी नियुक्त भएका थिए । उनको नियुक्तीसँगै खुसीयाली मनाएको कांग्रेस निकट पेट्रोल तथा इन्धन सम्बद्ध व्यापारीहरुले इन्धनको कमिशन बढाउन माग गर्दै हड्ताल शुरु गरेका हुन् ।
राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प पारेका हुन् ।

इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका उनीहरुले शुक्रबार डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरेपछि सर्वसाधरण समस्यामा परेका छन् । यसले गर्दा पम्पहरुबाट इन्धन पाउन समस्या भएको छ ।

अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द–हडताल गर्न पाइँदैन । २०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा २५ वटा क्षेत्रमध्ये एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवासमेत उल्लेख गरिएको छ । राजपत्रमार्फत अत्यावश्यक सेवामा हडताल गर्न नपाइने सूचना प्रकाशित भए पनि त्यसको ठाडो उल्लंघन गर्दै व्यवसायीले बन्द गरिरहेका हुन् ।

व्यावसायीहरुले अत्यावश्यक क्षेत्रमा गरेको हड्तालका कारण देशभरका पेट्रोल पम्पमा पुगेका सर्वसाधरण इन्धन नपाएर समस्यामा परेका छन् ।

 

 

सम्बन्धित खबर