इन्धनको ‘हाहाकार’ मच्चाएर एकै पटक १०–१५ रुपैयाँ मुल्य बढाउने ‘चलखेल’ !

diyopost.com
दियो पोस्ट  शुक्रबार, चैत्र १८, २०७८ | १८:५२:१२

काठमाडौं । नेपाल आयल निगममा ‘निकम्मा’ नेतृत्व आएसँगै व्यापारीहरुले सेटिङमा हड्ताल गर्न थालेका छन् । अत्यावश्यक वस्तुमाथि हड्ताल गर्न नपाइने कानुनी व्यवस्था विपरित राष्ट्रिय पेट्रोलियम व्यावसाय संस्थागत समन्वय समितिले शुक्रबार देखि नै लोड अनलोड ठप्प पारेका हुन् । स्रोतका अनुसार उनीहरुले अत्यावश्यक इन्धनको हाहाकार मच्चाएर एकै पटक प्रति लिटर १० देखि १५ रुपैयाँ मुल्य बढाउन माग गरेका छन् ।

उनीहरुको मागमा निगमका कार्यकारी निर्देशक उमेश थानी सकारात्मक रहेपनि व्यापारीसँग भेट्न भने पाएका छैनन् । थानी नेपाली कांग्रेस निकट नेता हुन् । हड्ताल गर्ने अधिकांश संस्थागत घटकहरु कांग्रेसकै नेता छन् । उनीहरुले इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन बृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका छन् । शुक्रबारदेखि भने इन्धन लोड÷अनलोड नै बन्द गरिएको हो ।

 

अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द–हडताल गर्न पाइँदैन । २०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा २५ वटा क्षेत्रमध्ये एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवासमेत उल्लेख गरिएको छ । राजपत्रमार्फत अत्यावश्यक सेवामा हडताल गर्न नपाइने सूचना प्रकाशित भए पनि त्यसको ठाडो उल्लंघन गर्दै व्यवसायीले बन्द गरिरहेका हुन् ।

सम्बन्धित खबर