काठमाडौं । अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द–हडताल गर्न पाइँदैन । २०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा २५ वटा क्षेत्रमध्ये एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवासमेत उल्लेख गरिएको छ । राजपत्रमार्फत अत्यावश्यक सेवामा हडताल गर्न नपाइने सूचना प्रकाशित भए पनि त्यसको ठाडो गर्दै शुक्रबारदेखि हड्ताल शुरु भएको छ । राष्ट्रिय पेट्रोलियम व्यावसाय संस्थागत समन्वय समितिले शुक्रबार देखि नै लोड अनलोड ठप्प पारेका हुन् ।
हड्ताल गर्ने अधिकांश संस्थागत घटकहरु कांग्रेसकै नेता छन् । उनीहरुले इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन बृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका छन् । शुक्रबारदेखि भने इन्धन लोड/अनलोड नै बन्द गरिएको हो ।
राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका संयोजक समेत रहेका कुस प्रसाद मल्ली राजधानी ग्याँसका मालिक हुन् । नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष समेत रहेका मल्लीको राजधानी ग्याँसमा गृहमन्त्री बालकृष्ण खाँडकी पत्नि मन्जु खाँडको साझेदारी रहेको स्रोतको भनाई छ ।
त्यस्तै नेपाली कांग्रेकै तर्फबाट निर्वाचन समेत लडेका व्यक्ति हुन् विश्व अर्याल । उनी पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका निवर्तमान अध्यक्ष हुन् । उनी यो हड्तालको मूल कोरियोग्राफर भएको स्रोत बताउँछ ।
गृहमन्त्री आफ्नी पत्नि नै ग्याँस व्यावसायमा आवद्ध भएका कारण व्यापारीलाई पक्राउ गर्न सक्ने अवस्थामा छैनन् । ‘मञ्जुकै आडमा व्यापारीहरुले आश्रयको महशुस गरेका छन् । एक हिसाबले भन्दा गृहमन्त्रीको संरक्षण छ भन्ने देखिन्छ,’ स्रोत भन्छ,‘नत्र यातयात व्यावसायी रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दा प्रहरीले पक्राउ गर्न पुगेको थियो । पेट्रोल तथा ग्याँस व्यावसायीले हड्ताल गरेर हाहाकार मच्चाउँदा गृहमन्त्री कहाँ छन् ?
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको तीन दिने भ्रमणमा गएपछि कार्याबाहक प्रधानमन्त्री समेत खाँडलाई नै तोकिएको छ ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेल जिल्ला प्रशासन कार्यालय मार्फत समस्या समाधान गर्न निर्देशन भएको बताउँछन् । ‘उहाँहरुको आयल निगमसँग केही कन्सर्न छ । आज त विदा भयो । हामी भोली तिर हेर्छौं,’ पोखरेल भन्छन्,‘सिडिओ मार्फत नै यसको समाधान हुने हो ।’