इन्धन क्षेत्रमा व्यापारीको हड्ताल तुहियो : निगमद्वारा व्यापारीसँग अनैतिक सम्झौता !

diyopost.com
दियो पोस्ट  आइतबार, चैत्र २०, २०७८ | ०:५८:४२

 

काठमाडौं । सत्ताको सेटिङमा नेपाली कांग्रेस निकट व्यावसायीले शुरु गरेको अत्यावश्यक बस्तु इन्धनको हड्ताल तुहिएको छ ।

निगमले व्यापारीहरुको राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिसँग ४ बुँदे सहमति गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्याय र समितिका प्रवक्ता विश्व प्रसाद अर्यालद्वारा संयुक्तरुपमा हस्ताक्षेरित विज्ञप्तिमा भोलीदेखि आन्दोलनको कार्यक्रम स्थगित गर्ने जनाइएको छ ।

यता निगमले व्यापारीहरुले राख्दै आएको कमिशन बढाउने मागमा ७ दिन भित्र निर्णय दिने जनाएको छ । तर, यसलाई कतिपयले अनैतिक सम्झौताको संज्ञा दिएका छन् ।

 

‘यो सम्झौता अनैतिक हो । यसरी व्यापारीलाई फाइदा हुने गरि निगमले सम्झौता गर्नु हुँदैन,’ स्रोतले भन्यो,‘निगमका सबै उच्च अधिकारी दिल्ली रहेको बेला भएको यो सम्झौताको आधार के हो ?’
आश्चर्य त के भने नेपाल आयल निगमले आफ्नो मुनाफा प्रतिलिटर ५० पैसा लिँदै आएको छ । निगममा देशभर करिब ९ सय जना कर्मचारी छन् । तर दैनिक लाखाैँ कमाउने पेट्राेल पम्प तथा ग्याँस उद्याेगहरुले पेट्राेलमा प्रतिलिटर ५ रुपैयाँ ७१ पैसा र ग्याँसमा प्रति सिलिन्डर ३ सय ८५  रुपैयाँ कमिशन लिँदै अाएका छन् ।

निगमले व्यावसायीको माग सम्बोधन गरे निगम थप धरासायी हुने र व्यापारीलाई मालामाल बनाउने संभावना रहेको आरोप छ ।

आयल निगमको नेतृत्व सम्हालेर आएका उमेश थानी यतिबेला भारत भ्रमणमा छन् । व्यापारीहरुले भनेको माग पुरा भए निगम धराशायी हुने बताइएको छ ।

अत्यावश्यक बस्तुका हड्ताल गर्नु आपराधिक क्रियाकलाप भएपनि राष्ट्रिय पेट्रोलियम व्यावसाय संस्थागत समन्वय समितिले विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आएको छ । तर, आन्दोलनको पुरा चरण समेत पार नगर्दै व्यापारीहरु सहमतिमा आएका छन् । यसले उनीहरुले सत्ताको सेटिङमा हड्ताल गरेको पुष्टि भएको छ ।

 

सम्बन्धित खबर