माओवादीबाट बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष निर्वाचित हरि डल्लाकोटी एमाले प्रवेश

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र २१, २०७८ | १६:५१:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित पित्त बहादुर डल्लाकोटी हरि एमाले प्रवेश गरेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्षमा निर्वाचित हरि आज केपी ओली निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले अध्यक्ष ओलीले माला लगाएर एमाले प्रवेश गराएका हुन् । उनलाई एमाले सांसद भूमि त्रिपाठीले बालकोट पुर्याएका थिए ।

डल्लाकोटी किन लागे एमालेमा ?

चुनावअघि पार्टी अदलबदल गर्नेहरुलाई ईमान्दार नेता कार्यकर्ता ‘अवसरवादी’को संज्ञा दिन्छन् । माओवादीबाट निर्वाचित भएका डल्लाकोटी धादिङका इन्चार्ज शालिकराम जमकट्टेलका अत्यन्तै निकट व्यक्ति हुन् । त्यस्तै उनको निकटता एमालेका सांसद भूमि त्रिपाठीसँग पनि थियो । एमाले निकट व्यापारी सुरज बैद्य समलग्न भएर धादिङको बेनिघाट रोराङ गाउँपालिकामै चिनियाँ लगानी भएको ह्वासिन सिमेन्ट उद्योग बन्दैछ । सोही सिमेन्ट उद्योगलाई डल्लाकोटीले क्षेत्राधिकार बाहिर गएर सयौँ रोपनी जग्गा भाडामा दिएका थिए ।

यस विषयमा संसदीय समितिले समेत अवैध रहेको ठहर गरेको थियो । त्यति मात्रै होइन खानी तथा भूगर्भ विभागले दिनुपर्ने क्रसर उद्योग संचालनको लाइसेन्स समेत डल्लाकोटीले नै अवैध रुपमा दिएका थिए । यसमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको छ । ‘उनीमाथि विभिन्न निकायले छानबीन गरिरहेको छ । गाउँपालिका अध्यक्ष भएपछि काठमाडौंमा र मझिमटारमा बनाइएको महल नै शंकाष्पद छ । उनले अकुत सम्पत्ति कमाएका छन् । त्यही अभियोगमा भोलीको सरकारले छानबीन गर्नसक्छ भनेर उनी एमालेमा प्रवेश गरेका हुन्,’ उनी निकट एक कार्यकर्ता भन्छन्,‘अर्कोतिर गाउँपालिका अध्यक्षको टिकट पनि माओवादीले अर्कै व्यक्तिलाई दिने निर्णय गरेपछि यस्तो हुन गएको हो ।’

 

सम्बन्धित खबर