घाइते खनियाँबास गाउँपालिका अध्यक्षको बयान : ‘बेलुका ८ बजेतिर पेस्तोल पड्कियो’

दियो पोस्ट  

धादिङ । वडाध्यक्षको टिकटको विषयलाई लिएर विवाद हुँदा नेपाली कांग्रेस धादिङको खनियाँबास गाउँपालिकामा विवाद उत्कर्षमा पुगेको छ । मंगलबार राती दुई पक्षबीचको विवादले उग्ररुप लिँदा गाउँपालिका अध्यक्ष समेत रहेका रणबहादुर तामाङमाथि आक्रमण भएको छ । आक्रमणबाट अध्यक्ष तामाङ घाइते भएका छन् । नेपाली कांग्रेसको पूर्व क्षेत्रिय सभापति राजु पाख्रिनको समुहले उनीमाथि आक्रमण गरेको हो । आक्रमणको पहिलो सुचना दियोपोस्टले ब्रेक गरेको थियो ।

 

घटनाबारे कांग्रेस नेता तथा खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले दियोपोस्टलाई टेलिफोनमै दिएको बयान अनुसार पाख्रिन समुहले वडाध्यक्षको टिकटको विषयमा विवाद भएपछि पस्तोल पड्काएको थियो । यस्तो छ रणबहादुर तामाङले दिएको बयान ।

राजु पाख्रिन भन्ने हाम्रो नेता हो । उहाँ पहिले क्षेत्र नम्बर १ को भूतपूर्व सभापति हो । उहाँले वितण्डा मच्चाउनु भयो । कांग्रेसको वडाध्यक्षको टिकटलाई लिएर विवाद शुरु भएको हो । ७ जना वडाध्यक्षको दाबेदार हुनुहुन्थ्यो । तर, उहाँले ६ जना कसैलाई पनि बनाउन नदिने लिला पाख्रिन भन्नेलाई मात्रै टिकट दिनुपर्छ भनेर अडान लिनु भयो । लिला उहाँको भाञ्जा पनि हो । त्यही विषयमा उहाँले वितण्डा मच्चाउनु भयो । हामीले बैठक स्थगित गरौँ भनेर बहिष्कार गरौँ भनेर आयौँ । हामी आएपछि उहाँले वडा सचिव र सभापतिलाई जबरजस्ती गरेर निर्णय गर्न लगाएछन् । उपसभापति र सचिवको रोहभरमा अरु कसैको सिग्नेचर बिना निर्णय गरिएछ । वडाध्यक्षमा पाख्रिनलाई नै सिफारिस गरिएछ । ठीकै उहाँहरुले जेसुकै गरोस् भनेर हामी चुपो लागेर बस्यौँ । ८ बजेतिर पेस्तोल पड्कीयो । त्यसपछि पनि हामी ठिकै छ भनेर बस्यौँ । हामी २५/ ३० जना खाई पिई बसेका थियौँ । वडाध्यक्ष पनि हुनुहुन्थ्यो । झार्लाङबाट २ जना भाईहरु आएका थिए । उनीहरुलाई भेट्न म गएको थिएँ । तल राजु पाख्रिन र धन बहादुर वाइवा बसेर केही छलफल गरिरहेका थिए । त्यसपछि हामीबीच केही भनाभन भयो । कसले पेस्तोल पड्काएको प्रमाण देखा भनेर हामीसँग राजु पाख्रिनले निहुँ खोज्यो । त्यसपछि ममाथि बाटुकोले प्रहार गरियो । मलाई चोट लागेको छ । म अहिले घरमै छौँ । हामी २५÷३० जना छौँ । भोली मैले मुद्दा हाल्छु । ममाथि आक्रमण हुनुभन्दा एक घण्टा अघि पेस्तोल पड्कीएको हो । म भोली पेस्तोल पड्काउनेहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरीमा दिनेछु । हामी पार्टी भित्र आतंक किन मच्चाउने ? गुण्डागर्दी प्रयोग गरेर हामीलाई पार्टी बनाउनु छैन ।