काठमाडौं । वीर अस्पतालमा लामो समयदेखि रजगज जर्दै आएको रैथाने मडिकल माफियाका एजेन्टहरुले विभिन्न खरिदमा अनियमितता गर्दै आएका छन् । खासगरि शाखा अधिकृत डमरु दाहाल र पूर्व खरिद प्रमुख भगवती थपलियाको मिलेमतोमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता हुने गरेको आरोप छ ।
काभ्रेको रोशी गाउँपालिकाबाट भ्रष्टाचार आरोप लागेपछि काठमाडौं सरुवा भएका डमरुलाई मेडिकल माफियाले नै वीर अस्पतालको खरिद ईकाईमा सरुवा गरेर ल्याएको आरोप छ । लामो समय प्रशासनमा काम गरेकोे अनुभवको आधारमा खरिद ईकाईमा सरुवा हुने प्रचलन भएपनि उनी विभिन्न शक्ति केन्द्रको आडमा त्यहाँ नियुक्त भएका हुन् । उनले अस्पताल भित्र आफू अख्तियार, सामान्य प्रशासन देखि स्वास्थ्य मन्त्रालयसम्म पहुँच भएको व्यक्ति हुँ भन्दै उपकरण खरिदको फाइल कब्जा गरि आफू निकट व्यक्तिलाई ठेक्का दिन कोटेशन मगाउने गरेका छन् । उनकै कारण अस्पतालको नेतृत्व समेत विवादमा आउने गरेको छ । अस्पतालको मेडिकल, सर्जिकल, केमिकल, सरसफाई, माइक्रोस्कोप, छपाई लगायत टेन्डरमा दाहाल र बेरुजु शाखा प्रमुख भगवती थपलियाको मिलेमतोमा करोडौं अनियमितता हुने गरेको आरोप छ । पछिल्लो समय दाँत सम्बन्धी टेण्डर आह्वानमा समेत चरम अनियमितता भएको आरोप छ ।
टेण्डर आह्वान हुनुअघि नै दाहालले व्यापारीसँग बाहिर होटलमा भेटेर लागत अनुमान तयार पार्ने उनीहरुकै स्पेसिफिकेशन अनुसार महँगोमा टेण्डर आह्वान गर्ने गरेको आरोप छ । उनकै मिलेमतो वीर अस्पतालमा गुणस्तरहिन सामग्री भित्रिने गरेको आरोप छ । खरिदमा डा. अनिल श्रेष्ठको समेत समलग्नता छ ।
युरोलोजी विभागको ४ करोड रुपैयाँको खरिद प्रकरणमा मुछिएका डा. अनिल र दाहालले टेण्डर आह्वान हुनुअघि नै व्यापारीलाई भेटेर कमिशनको डिल गर्ने गरेको आरोप छ । युरो विभागका कर्मचारी अनुसार डा अनिल र भगवतिको मिलोमतोबाट यसअघि पनि २० वाटको लेजर मेसिन खरिद गरिएको थियो । सो खरिदमा अनिल र भगवतीले मोटो रकम कमिशन लिएको स्रोतको दाबी छ । कमसल सामग्री भएका कारण केही समयमै बिग्रिएको वीरका कर्मचारी बताउँछन् । जसका कारण अस्पतालले सेवा नै स्थगित गर्नुपरेको थियो । त्यो मेसिन अहिले नचल्ने अवस्थामा पुगेको आरोप छ । उक्त मेसिनले काम नगरेपछि अनिल र भगवतीकै मिलेमतोमा फेरी २० वाटको युरो लेजर खरिद गरिएको थियो । सो मेसिन पनि काम नलाग्ने अवस्थामा पुर्याइएको छ । त्यस्तै अर्को फ्लेक्जिबल युरेटेरोकोप खरिदमा समेत मिलेमतो गरिएको कर्मचारीहरु बताउँछन् ।
उक्त मेसिनले पनि अहिले काम गर्न छाडेको छ । डा. अनिलले कमजोर मेसिन ल्याउन कमिशनमा ठेक्का सेटिङ गर्ने र फेरी अर्को कमिशनको लागि आधार बनाउने गरेको आरोप छ । युरोडाइनामिक मेसिन, ओलिम्प्सको टावर लगायत आधादर्जन मेसिन खरिदमा पनि करोडौँ अनियमितता भएको वीरकै उच्च तहका कर्मचारी बताउँछन् । भगवतीले वीरमा गरेको भ्रष्टाचारको रकम हुण्डि मार्फत अष्ट्रेलिया पुर्याउने र अष्ट्रेलियाबाट उक्त रकमलाई ह्वाइट बनाएर नेपाल भित्र्याउने गरेको उनी निकट कर्मचारीहरु बताउँछन्द । उनले आफ्नी छोरीले खोलेको फ्रेसमिन्ट डेन्टल क्लिनिकमा समेत लगानी गरेको आरोप छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा दर्ता रहको यो कम्पनिमा लगानी नै शंकाष्पद रहेको उच्च स्रोतको भनाई छ । अनियमितताकै आरोपमा खरिद इकाईबाट हटाइएकी उनी मेडिकल माफियाकै योजनामा बेरुजु शाखामा आइपुगेको कर्मचारीहरुको गुनासो छ । उनको पालामा भएको अनियमितताको विषयमा हाल सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । ‘अहिले भगवतीलाई कागजात मिलाउन धौधौ परिरहेको छ । पुराना व्यापारीलाई बोलाउँदै यो मिलेन र त्यो मिलेन भन्दै आउनु भएको छ । घरि सतर्कता मिलाउनुपर्छ । घरि अख्तियार मिलाउनुपर्छ भन्दै पैसा उठाइरहनु भएको छ,’ भगवती कार्यरत शाखाकै एक कर्मचारीले भने ।