संविधानको मर्म विपरित सशस्त्र प्रहरी महानिरिक्षकको पुजा पाठ : निशान, कोत र मौलो पुजा !

diyopost.com
दियो पोस्ट  शनिबार, चैत्र २६, २०७८ | १७:३२:३३

काठमाडौं, २६ चैत्र । नेपाल धर्म निरपेक्ष राष्ट्र हो । राज्य धर्मप्रति निरपेक्ष हुनुपर्छ भन्ने संविधानको भावना विपरित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत राज्यका अंगहरुले भने एक धर्मलाई मात्रै अंगिकार गरिरहेका छन् । प्रहरी संगठनका प्रमुखहरुले संविधानको भावना विपरित एउटै धर्मलाई मात्रै बढी महत्व दिइरहेका छन् ।

चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा चैत्र २६ गते सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा गरेको छ ।

बिहान ७ बजेर ३१ मिनेटको पुजाको संकल्प साइतमा गरिएको सो पुजामा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाएका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गरिएको सो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो ।
सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजामा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरिक्षक खनालले उक्त पुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार समेत प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपालले चैतेदशैंको अवसरमा परम्परागत रुपमा हरेक वर्ष निशान, कोत तथा मौलोपुजा गर्दै आएको छ ।

त्यसअबसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।

 

सम्बन्धित खबर