रामकुमारी झाँक्री भन्छिन्,‘आर्थिक संकटको हल्ला चलाएर बजारमा कृतिम अभाव सृजना गरियो’

diyopost.com
दियो पोस्ट  शनिबार, चैत्र २६, २०७८ | २०:३१:०६

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बबताएकी छिन्। उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताइन्।

शनिबार काठमाडौं विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको बताइन् ।

 

‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नु पर्ने अवस्था छैन,’ उनले भनिन् ।

मन्त्री झाँक्रीले सरकारका गम्भीर तथ्यांक र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेको समेत बताइन् । खाडी मुलुकमा भएको कच्चा तेलको मूल्य वृद्धि र रसिया युक्रेनबीचको युद्धका केही बाछिटाहरू नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिन आवश्यक नरहेको उनको भनाई छ ।

 

अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने बताइन् । काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष सरोज कुमार रेग्मीले बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको बताउँदै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गरे ।

सम्बन्धित खबर