सशस्त्रका आइजीपी खनालद्वारा ‘राष्ट्रघात’ : भारतीय सिमाका १४ बार्डर पोष्ट हटाइयो !

diyopost.com
दियो पोस्ट  आइतबार, चैत्र २७, २०७८ | १५:४७:२१

काठमाडौं । सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले नीतिगत राष्ट्रघात गरेको खुलाशा भएको छ । सीमा सुरक्षाको एकलौटी जिम्मेवारी पाएको सशस्त्र प्रहरी बललाई उनले सिमा सुरक्षाबाटै कटौती गरेका हुन् । भारतीय पक्षको स्वार्थ अनुसार खनालले बोर्डर आउट पोष्ट हटाएर नीतिगत रुपमा राष्ट्रघात गरेको आरोप छ ।
खनालले नेपाल भारत सिमामा रहेको १४ वटा बोर्डर आउट पोष्ट र हाइ वे सुरक्षा पोष्ट हटाएका छन् ।

विप्लव नेतृत्वको नेकपालाई कारक बनाएर खनालले नेपाल भारत सिमामा रहेका बोर्डर पोष्ट हटाएका हुन् । आईजीपी खनालले गृह मन्त्रालयका सहसचिवस्तरसम्मै सेटिङ मिलाएर उक्त निर्णय गराएको आरोप छ । नक्कली राष्ट्रवादको मुखुण्डो लगाएर नेपाली समाजमा राष्ट्रवादको शंखनाद गर्दै शासन गरेको नेकपाको झण्डै दुई तिहाइ बहुमतको केपी ओली सरकारको पालामा सीमा सुरक्षा बललाई निर्णय गरेर पहाडी जिल्लामा खटाइएको थियो ।

 

जब कि त्यही क्षेत्रको सीमापारि भारततर्फ तीन किलोमिटरको दूरीमा भारतीय सीमा सुरक्षा बल तैनाथ गरिएका छन् । तर नेपालतर्फबाट सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएपछि भारतीय पक्षले एकलौटीरुपमा जे गरे पनि हुने अवस्था सिर्जना भएको छ । श्रीमतीलाई अमेरिकी बसोबासको चाँजोपाँजो मिलाएर राखेका महानिरीक्षक खनाल अवकाशपछि नेपाल छाड्ने सुरसारमा छन् । यसरी विदेशी अस्थायी बसोबासको मेसो मिलाएका व्यक्तिहरुलाई नेपालको कुनै पनि क्षेत्रमा उच्च पदमा नियुक्ति दिँदा निम्तिने दुष्परिणाममध्येकै यो एउटा उदाहरण हो । ओली सरकारले चुच्चे नक्सा छापेर कालापानी क्षेत्र समेत राखी गरेको बेलामा सबैभन्दा राष्ट्रवादी बनेर उफ्रिनेमध्येका एक हुन् आईजीपी खनाल । तर उनले दार्चुलाको छाङरुमा बीओपी स्थापना गर्न सरकारले गरेको निर्णय पाँच महिनासम्म कार्यान्वयन नगरेको पक्षमा कुनै पनि निकायले सोधपुछ समेत गरेको पाइएको छैन ।

 

महानिरीक्षक खनालले भारतीय पक्षलाई खुसी पार्न मनमौजी काम गर्न सजिलो बनाउन दक्षिणतर्फको बीओपीबाट सशस्त्र प्रहरी बललाई हटाउने निर्णय गराएका थिए । त्यसो गर्दा नेपालतर्फको सीमामा सुरक्षाकर्मीविहीन हुने अवस्था आयो र आईजीपी खनालले विदेशी पक्षलाई लगाएको त्यो गुण नै नेपालको लागि राष्ट्रघात बन्नपुगेको छ ।

स्मरणीय के छ भने नेपाल र भारतबीच खुल्ला सीमा छ । त्यहाँ नेपाली सुरक्षाकर्मी नहुँदा भारतको एकलौटी भएको छ । नेपालको सीमा सुरक्षा हेर्ने सशस्त्र सीमा क्षेत्रको आफ्नो बीओपी हटाएपछि त्यसलाई राष्ट्रवादी कदम भनी प्रचार गर्न उनले केही सुराकी खटाएका छन्। दक्षिणतर्फ हेर्ने सुराकीले खनालको कामप्रति औँला उठाउनेलाई उल्टै भारतीय दलाल भनेर खेदो खन्ने गरेको छ भने खनालले उत्तरतर्फको सूचनाको लागि खटाएको सुराकीमार्फत चीनलाई सूचना बेच्ने गरिएको छ ।

 

ठाउँ हेरी फरक फरक कुरा बोल्ने आईजीपी खनाल त्यस्ता सूचना बेच्ने बेचाउनेहरुसँग पनि सुपरिचित छन् र त्यही गिरोहसँगको सहकार्यमा आफूलाई महान् राष्ट्रवादी भनाउँदै आएका छन् । आईजीपी खनालले १४ वटा बीओपी हटाएपछि सशस्त्र प्रहरीभित्रै विवाद भएको थियो तर उनले त्यसलाई पनि दबाएर राखेका छन् । विवादपछि आठवटा बीओपीचाहिँ पुनस्र्थापित भइसकेका छन् ।

सम्बन्धित खबर