नागढुंगा सुरुङमार्गका कारण खानेपानीको मुहान सुकेपछि स्थानिय आन्दोलित, आयोजना कार्यालय तोडफोड !

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र २८, २०७८ | १५:४७:११

काठमाडौं । काठमाडौंको नागढुंगा शुरुङमार्ग निर्माण आयोजना कार्यालयमा स्थानियबासीले नाराबाजी गरेका छन् । नागढुंगाबासीले शुरुङमार्गका कारण स्थानियबासीले पानी पिउन नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

 


आन्दोलनकारीले आयोजना कार्यालयमा ढुंगामुढा गरेका थिए । स्थानियको ढुंगा प्रहारबाट आयोजना कार्यालयको ढोका तोडफोड भएको छ भने कर्मचारीको भागभाग भएको छ । ‘पहिले हामीलाई खानेपानी दिने गरि सम्झौता भएको थियो । तर, आयोजनाले हाम्रो मागलाई बेवास्ता गर्दै आएपछि हामीले विरोध गरेका हौँ,’ एक स्थानियले भने,‘अब हामीले प्रतिरोध गर्नुको विकल्प छैन । आयोजनाका कारण हामीले पानी पिउन पाएनौँ ।’

 


आन्दोलनको नेतृत्व वडाध्यक्ष गोपी सुर्खेतीले गरेका छन् । उनका अनुसार चन्द्रागिरी नगरपालिका वडा नम्बर १ को ९० प्रतिशत खानेपानी मुहान सुकेको छ । ‘२ वर्षअघि मेरै संयोजकत्वमा बनेको समितिले ज्ञापन पत्र बुझाएको हो । यो वडाको ९० प्रतिशत मुहान र इनार सुकेको छ । शुरुङ जति अगाडी गयो वरिपरिको मुहान सुक्ने रहेछ । अहिले हामी काकाकुलको अवस्थामा पुगेका छौँ,’ उनले भने,‘राष्ट्रिय गौरवको आयोजना भनेर प्रभावित क्षेत्रका जनतालाई काकाकुल बनाउन पाइँदैन । हामीले परापुर्वकालदेखि जसरी खानेपानी उपभोग गर्दै आएका थियौँ त्यो पाउन पर्यो ।’

 

सम्बन्धित खबर