सिद्धलेक ७ अमनटारबासीलाई उठिबास लगाउने ‘प्रेमनाथको चाल’ : अवैध खानीले बस्ती नै बगाउने जोखिम !

diyopost.com
दियो पोस्ट  बिहिबार, बैशाख ०१, २०७९ | १९:३७:२६

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ७ अमनटारमा संचालित बालुवाखानी संचालकहरुले स्थानियबासीमाथि चरम बद्मासी गरेको खुलेको छ । अमनटारमा संचालित हिलस्टोन माइन्स तथा खानी उद्योगले स्थानियबासीलाई जालसाँझी गरेर बालुवा तस्करी गर्दै आएपनि सरोकारवाला निकाय मौन छन् ।

गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल र वडाध्यक्ष लक्ष्मण खतिवडाको मिलेमतोमा मापदण्ड लत्याएर जालसाँझी पूर्वक संचालित खानीलाई उन्मुक्ति दिइएको हो ।

बालुवा खानी संचालनका लागि आवश्यक पर्ने मापदण्ड समेत नपुग्ने उक्त खानीलाई २०७५ साल भदौ १ गते नै गाउँपालिका अध्यक्ष सिलवालले संचालन अनुमति दिएको पाइएको छ । गाउँपालिकाले साधारण निर्माणमुखि खनिज पदार्थ उत्खनन्का लागि अनुमति दिएको कागजात फेला परेको छ । गाउँपालिकाका सुचना अधिकारी हरि पाटा मगरले उपलब्ध गराएको कागजात अनुसार भदौ १ मा दिएको अनुमति पत्रमा गाउँपालिकाले २२ बुँदे सर्तहरु पालना गरेर खानी संचालन गर्न भनेको थियो । तर, खानी संचालकहरुले कुनै पनि सर्त पालना नगरि धमाधम बालुवा उठाइरहेका छन् । गाउँपालिकामा पेश भएको कागजातमा खानी संचालकको रुपमा ज्ञानेन्द्र कार्कीको नाम उल्लेख भएपनि हाल अमनटारमा भने कांग्रेस कार्यकर्ता समेत रहेका कैलाश राईले मापदण्ड विपरित उत्खनन् गर्दै आएका छन् ।

सर्त नम्बर १ मा दैनिक ५७ घनमिटर भन्दा बढी बालुवा उत्खनन् गर्न नपाइने उल्लेख छ । तर, बालुवा तस्करहरुले दैनिक १ सय टिपभन्दा बढी बालुवा उत्खनन् गरिरहेको स्थानियबासी बताउँछन् । ‘यहाँ त सयौँ टिप बालुवा निकालिन्छ । अमनटारस्थित बस्तीभन्दामाथि बालुवा खानी भएका कारण स्क्याभेटर र डोजरले जमिन थिलथिलो पारिरएको छ । सर्तहरुमा उल्लेख भए अनुसार कुनैपनि पालना भएका छैनन्,’ स्थानियबासी भन्छन्,‘खानीका कारण हाम्रो बस्ती पुरै जोखिममा छ । यहाँको सरकारले यसरी मापदण्ड विपरित खानी चलेपनि कुनै सुनुवाई गरेको छैन ।’

सर्त नम्बर ४ अनुसार खानीले कामदारहरुलाई सुरक्षा सामग्री हेलमेट सेफ्टी बुट, चस्मा र पञ्जा लगायत बस्तु लगाउनेपर्ने हो । तर, त्यहाँ काम गर्ने मजदुरलाई कुनै पनि सुरक्षा सामग्री प्रदान गरिएको छैन । जिवन विमा गर्नुपर्ने सर्त भएपनि हालसम्म कसैको पनि जिवन विमा गरिएको छैन । गाउँपालिकाले समेत कामदारहरुको जिवन विमा गरेको विवरण पेश गरेपछि मात्रै खानी संचालन गर्न दिनुपर्ने भएतापनि उक्त विवरण विनै खानी संचालन गर्न दिएको छ ।
खानी क्षेत्र वरपर ५० वटा रुख विरुवा रोप्नुपर्ने सर्त भएपनि खानी संचालकहरुले नजिकै रहेको सामुदायीक बनलाई समेत क्षति पुर्याएका छन् । एउटा पनि रुख नरोपेको स्थानियबासी बताउँछन् ।

सम्झौताको ६ नम्बर बुँदा अनुसार साधारण निर्माणमुखि खानी उत्खनन् गर्दा सकेसम्म बढी रिकभरी हुनेगरि कार्य गर्ने र माइनिङ लस घटाउन प्रयास गर्ने, टप सोइल बालुवा मिसिएको ओभरवर्डन माटोलाई पर्खालले घेरी सुरक्षित गर्न पर्ने उल्लेख छ । तर, खानी संचालकहरुले उक्त सर्त पालना नगरि खानी चलाईरहेका छन् । खानीको मुलद्वारमा होर्डिङ बोर्ड समेत राख्नुपर्ने भनिएपनि हालसम्म बोर्ड समेत नदेखाई खुलमखुल्ला अवैध तस्करी गरिँदैछ । सर्वसाधरणलाई जोखिम हुने भएका कारण खानी क्षेत्रमा ५ फिट अग्लो तारबार लगाउनुपर्ने उल्लेख सर्त समेत उलंघन गरिएको छ । खानीले कति उत्खनन् गर्यो भन्ने रेकर्ड समेत गाउँपालिकासँग नरहेको स्रोतले जनाएको छ ।

त्रिशुली नजिकै संचालित उक्त खानीबाट ढुंगामाटो बगेर त्रिशुली नदिमा पुग्न सक्ने र खोला प्रदुषण हुन सक्ने भन्दै उद्योगबाट निष्काशन हुने ढुंगामाटोलाई आवश्यकता अनुसार चेकड्याम तथा सिल्टेशन पण्ड बनाई खोलामा मेसिन समेन नजाने गरि व्यवस्थापन गर्नुपर्ने सम्झौतको १४ नम्बर बुँदामा उल्लेख छ । तर, खानी संचालकहरुले उक्त सर्तको उलंघन गर्दा त्रिशुली नदिमा रातो माटोको बाढी नै मिसिएको स्थानीयबासी बताउँछन् ।

नजिकै रहेको सामुदायीक बनलाई क्षतीपुग्ने र विद्युत प्रशारण लाईनलाई समेत क्षेती पुर्याएर खानीले अवैध दोहन गरिरहेको एक स्थानियको भनाई छ ।

खानी संचालकहरुले आफ्नो जग्गामा मात्रै होइन त्यहाँकै स्थानियको जग्गामा समेत अवैध उत्खनन् गरिरहेका छन् । गाउँपालिकाले खानी क्षेत्र नजिकै बस्ती रहेको र निजि जग्गा समेत रहेकोले उक्त जग्गामा भुक्षय र पहिरोको जोखिम हुँदा हुँदै पनि खानी संचालन अनुमति दिएको छ । सम्झौताको १७ नम्बर बुँदामा खानी वरपर वन क्षेत्र, व्यक्तिको जग्गा र बस्ती रहेको कारण भुक्षय नहुने गरि बालुवाखानी संचालन गर्न भनिएको छ । यदि असर पुग्न गएमा खानी संचालकहरु नै जिम्मेवार हुनुपर्ने सर्तमा उल्लेख छ । तर, खानीकै कारण वस्ति नै जोखिममा परिसक्दा पनि गाउँपालिका मौन छ ।

सम्झौताको सर्त नम्बर १८ मा उद्योग संचालनका कारण खानी क्षेत्रको पहुँचमार्गमा रहेको घर बस्तीमा धुँवा धूलो हुने गरि सवारी साधन नचलाउने र पानी छर्कनुपर्ने भनिएको छ । तर, खानीको धुँवाधुलोका कारण बस्तीका स्थानियबासी गाउँनै छाड्नुपर्ने अवस्थामा छन् ।

त्रिशुली नदिमा खानीका कारण पुग्न सक्ने क्षति न्युनिकरण गर्न सिल्टिशन पोण्ड र चेक ड्याम बनाउनुपर्ने शर्तमा उल्लेख छ । तर, हालसम्म उल्लेखित शर्त अनुसार सिल्टिशन पोण्ड र चेक ड्यामहरु समेत नबनाइएको स्थानियबासी बताउँछन् ।

स्रोतका अनुसार गाउँपालिकाले उक्त खानीबाट निकासी विक्री कर असुली गर्दै आएको छ ।

‘हामी सिद्धलेक ७ अमनटारबासीलाई उठिबास लगाउन खोजिँदैछ । यसरी बस्ती नै उठाउनेगरि खानी संचालन गर्न गाउँपालिका अध्यक्षले किन अनुमति दिए त्यो त उहाँलाई थाहा होला,’ एक स्थानिय भन्छन्,‘ खानीले अन्याय गर्यो भनेर नाम खोलेर बोल्न समेत सकेका छैनौँ ।’

यता खानी संचालक कैलाश राई भने आफूहरुले प्रक्रिया पुर्याएरै खानी संचालन गरेको दाबी गर्छन् ।

सम्बन्धित खबर