मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै

diyopost.com
दियो पोस्ट  शुक्रबार, बैशाख ०२, २०७९ | १०:५९:११

महोत्तरी । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज (शुक्रबार) ‘जुडशीतल’ पर्व मनाइँदै छ । प्राचीन मिथिलामा मनाइने यो पर्व मधेशका जिल्लाका अतिरिक्त मित्रराष्ट्र भारतका मधुवनी, झञ्झारपुर, सीतामढी र शिवहरसहितका जिल्लामा पनि प्रचलनमा छ ।

विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति)मा ‘जुडशीतल’ पर्व मनाइन्छ । दुई दिन मनाइने पर्व पहिलो दिन (सङ्क्रान्तिका दिन) ‘सतुवाइन’ र भोलिपल्टलाई ‘जुडशीतल’ भनिन्छ । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वले महोत्तरीसहितका मधेश प्रदेशका प्राचीन मिथिला क्षेत्र उल्लासमय बनेका छन् ।

बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र खाइन्छन् । वैशाख सङ्क्रान्ति अर्थात् नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व सुरु हुन्छ ।

पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जौं, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, व्राह्मण र साधुलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन् । यसलाई बोलीचालीमा ‘सतुवाइन’ भनिन्छ ।

त्यसैगरी दोस्रो दिन आज घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै यो पर्व मनाइने चलन छ । परम्पराअनुसार आज घर–घरमा परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिएका छन् ।

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता बताउँछन् । यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यो पर्वको पहिलो दिन जौँ, चना (बदाम) को सातु खाने, ख्वाउने गरिन्छ । दोस्रो दिन आज घरघरमा मुँग, चनाको दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा रहेको छ । पर्वमा काँचो केराको तरुवाको खुबै प्रचलन छ ।

सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरू (मिथिलावासी) साथीसङ्गीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । दोस्रो दिन घरका परिवारजन आफ्नो खेतबारी डुल्छन् ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा यो पर्व कृषिसँग सम्बन्धित रहेको पाका मैथिल बताउँछन् । बढ्दो गर्मीबीच ‘शीतल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय भएको हुँदा यो पर्वलाई ‘जुडशीतल’ भनिएको मैथिल परम्परा र संस्कृतिका जानकार तथा साहित्य साधक महोत्तरीकै जलेश्वर–६ बखरीका बासिन्दा नेपाल सरकारका अवकाशप्राप्त उपसचिव महेश्वर राय बताउँछन् । पर्वमा सहकाल (अनुकूल वर्षा र मौसम, अनिकाल व्याधीको प्रकोप नहुने) को कामना गरिने हुँदा यसको मुख्य सन्देस कृषिसँग सम्बन्धित रहेको रायको भनाइ छ ।

पर्वका लागि सामानको जोहो गर्नेहरूको भीडले सबैजसो बजार एकाबिहानै भरिभराउ छन् । बजारमा तरुवा खाइने काँचो केरा, पर्वविशेषको खास तरकारी मुन्गा र जौँको सातु तथा दलहनको वेसन (पीठो) को खुबै बिक्री बढेको व्यापारीले बताएका छन् । त्यसैगरी दही पनि पर्वको खास परिकार मानिन्छ ।

खासमा दोस्रो दिन आज हिलो छ्याछ्याप गरेर खेलिने यो पर्व किशोर र युवावयका मैथिलको पर्खाइमा हुन्छ । पछिल्लो काल नयाँ वर्षमा ‘पिकनिक’ (वनभोज) जाने चलन बढ्दै जानुले किशोर र युवाका लागि यो पर्व थप रमाइलो बनेको छ । ‘जुडशीतल’ मिथिलाको सांस्कृतिक पर्व हो । कूलदेवताको पूजाअर्चना गरिने थोरै पर्वमध्ये यो पनि पर्ने पाका मैथिल बताउँछन् ।

सम्बन्धित खबर