बाँके जिल्ला अदालतको ऐतिहासिक आदेश : अन्तरजातीय विवाह गर्ने जोडीलाई संगै बस्ने व्यवस्था मिलाउनू !

diyopost.com
दियो पोस्ट  शनिबार, बैशाख ०३, २०७९ | १४:५९:३८

काठमाडौं । अन्तरजातीय प्रेम विवाहको घटनामा जिल्ला अदालत बाँकेले ऐतिहासिक आदेश दिएको छ । बाँके जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलले अन्तरजातीय विवाह गर्ने जोडीलाई संगै बस्ने व्यवस्था मिलाउन समेत जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको छ ।

बाँके घर भएकी अंजली शर्माले अमन सिंह नेपालीसँग भागी विवाह गरेकी थिइन् । शर्माकी आमा विद्या शर्माले आफ्नी छोरी बेपत्ता पारेको भन्दै अमन सिंह विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले अमन सिंहलाई पक्राउ गर्यो । अमनसँगै भागी विवाह गर्ने अंजली शर्मालाई भने साथी भन्ने संस्थामा राखेको थियो । प्रहरीद्वारा पक्राउ परेका अमनलाई व्यक्ति बेपत्ता पारेको कसुरमा म्याद थपका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको थियो । सोही मुद्दामा जिल्ला अदालतका न्यायाधीश पौडेलको इजलाशले मुद्दाको अनुसन्धानको नाममा अमन सिंह नेपालीलाई म्याद थप नगर्ने आदेश दिएको हो ।

‘जाहेरवाला विद्या शर्माले मेरो छोरी स्वेता भन्ने अञ्जली शर्मालाई अमन सिंह नेपालीले बेपत्ता पारेको भनी जाहेरी दिएकोमा अन्जली शर्मा नेपालीले आफू प्रतिवादी अमन सिंह नेपालीसँग प्रेम विवाह गरी गएको भनी सक्कल जन्मदर्ता सहित निवेदन दिएको र कागजसमेत गरेको पाइन्छ । निजले पेश गरेको जन्मदर्ता प्रमाणपत्रमा निजको जन्ममिति २०५८÷०६÷३१ देखिई निज बयस्क देखिएको छ । प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दासमेत आफू र जाहेरवालीकी छोरी प्रेम विवाह गरेको भनी लेखाएको पाइन्छ,’ आदेशमा भनिएको छ,‘यसरी जाहेरवालीले प्रतिवादीले मेरो छोरीलाई बेपत्ता पारेको भनी जाहेरी दिएकोमा पीडित स्वयंम उपस्थित भई आफूहरु प्रेम विवाह गरी भागेको भनी कागज गरेको र निज उमेर पुगेको देखिएको अवस्थामा प्रतिवादी अमनसिंह नेपालीलाई मुद्दाको अनुसन्धानको निमित्त हिरासतमा राखिरहन पर्ने अवस्था नदेखिँदा पत्र बमोजिम म्याद थप अनुमति दिन मिलेन । तसर्थ प्रतिवादीलाई हाजिर जमानीमा छाडी मुद्दाको थप अनुन्धान गर्नुपर्ने भए गरी कानुनबमोजिम गर्नू ।’

शुक्रबार पौडेलको इजलाशले दिएको आदेशमा अन्तरजातीय प्रेम जोडीलाई सँगै बस्ने व्यवस्था मिलाउनू समेत भनिएको छ ।

‘पीडित भनिएकी कुमारी अञ्जली शर्माले आफूलाई श्री जिल्ला प्रहरी कार्यालयले साथी संस्थाको संरक्षणमा पठाएकोमा अब मेरो पतिको साथमा बस्ने गरी जिल्ला प्रहरी कार्यालय बाँकेको नाममा आदेश जारी गरिपाउँ भनी निवेदन दिएको हुँदा निज कुमारी अञ्जली शर्मालाई अन्य कारण नभए प्रस्तुत मुद्दाको रोहबाट प्रतिवादी अमनसिंह नेपालीको साथमा बस्न आवश्यक व्यवस्था मिलाइदिनु भनी जिल्ला प्रहरी कार्यालय बाँकेको नाममा आदेश गरिदिएको छ । सोको जानकारी श्री जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइदिनू,’ आदेशमा भनिएको छ ।

 

आदेश तुरुन्त कार्यान्वयन भइसक्यो : डिएसपी मधुसुदन न्यौपाने

यता जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी डिएसपी मधुसुदन न्यौपाने जिल्ला अदालतको आदेश तुरुन्त कार्यान्वयन भइसकेको बताउँछन् । ‘उहाँलाई हिजै छाडिएको छ । सम्मानित अदालतको आदेश अनुसार भइसकेको छ’ उनले भने,‘अन्य बाँकी भए त्यो पनि कार्यान्वयन हुन्छ । सबै डाटा हेर्न पाएको छैन ।’

 

 

सम्बन्धित खबर