काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ ज्योति प्रकाश पाण्डेमाथि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छानबीन थालेको छ । पाण्डेको खातामा स्रोत नखुलेको करोडौं रुपैयाँ देखिएपछि विभागले छानबीन थालेको हो । ‘उहाँमाथि छानबीन चलेको हो । उहाँको खातामा स्रोत नखुलेको अस्वभाविक रकम देखिएको छ,’ विभाग स्रोतले दियोपोस्टसँग भन्यो,‘छानबीनमा रहेको सबै विषय अहिले भन्नु उपयुक्त नहोला । तर, छानबीन भएको हो । त्यही आधारमा कसैलाई दोषी नै करार गरिहाल्न मिल्दैन ।’
यता पाण्डे भने आफूमाथि विभागले छानबीन थालेपछि शक्ति केन्द्रको दबावमा विभागलाई दबाव दिने कोशिसमा लागेका छन् । आगामी असार १ गतेदेखि नै अवकास पाउँनै लागेका पाण्डेमाथि विभागले छानबीन थालेको हो ।
दुई कार्यकालसम्म नेपाल ईन्भेष्टमेन्ट बैंकको सिइओ बनेका पाण्डेको खातामा अकुत सम्पत्ति रहेको उजुरीका आधारमा विभागले उनीमाथि छानबीन थालेको हो । पाण्डे विरुद्धविगत लामो समय अगाडी नै उजुरी परेपनि छानबीन हुन सकेको थिएन । तर, विभागको नेतृत्वमा प्रेम प्रसाद भट्टराई आएपछि छानबीनले तिब्रता पाएको हो ।
भट्टराईले सम्झौताहिन ढंगले उनीमाथि छानबीन गर्न विभागका अनुसन्धान अधिकृतलाई निर्देशन दिएको समेत स्रोतले जनाएको छ । पाण्डेमाथि भईरहेको छानबीन प्रगतिबारे प्रतिक्रिया लिन विभागका सुचना अधिकारी ऋषिराम पोखरेललाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
ममाथि छानबीन चलेको छैन : पाण्डे
यता बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे भने आफूलाई विभागले कुनै पनि छानबीन नगरेको बताउँछन् । ‘मैले बयान दिएको छैन । मलाई थाहा पनि छैन । म माथि किन छानबीन हुनुपर्ने हो मलाई थाहा पनि छैन,’ पाण्डेले भने,‘त्यस्तो कुनै छानबीन ममाथि भएको छैन ।’