यी हुन् होटल मनाङमा मृत भेटिएका विदेशी नागरिक, मनाङ होटलको भूमिका शंकाष्पद !

diyopost.com
दियो पोस्ट  बुधबार, बैशाख ०७, २०७९ | २२:०७:०६

काठमाडौं । काठमाडौंको ठमेलस्थित होटल मनाङमा मृत भेटिएका विदेशी नागरिकको पहिचान खुलेको छ । मृतक व्यक्तिको नाम एमसी फिलिप्स रहेको पाइएको हो । आयरल्याण्ड घर भएका फिलिप ६ एप्रिलमा नेपाल आएका थिए । उनी हिजो मात्रै सगरमाथा आधार शिविर पुगेर फर्किएको महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी दुर्गा दाहालले जानकारी दिए ।

ठमेलकै एड्रेस होटलमा बास बसेपनि उनीहर राती घुमघामका लागि निस्किएका थिए । बाहिरै मदिरा सेवन गरेर होटल समेत चिन्न नसक्ने भएका कारण उनीहरु राती होटल मनाङमा पुगेको दाहालको भनाई छ ।

‘उनीहरु सिधै लिफ्टबाट माथि गएको देखिन्छ । सबैभन्दा माथि रुम समेत नदेखिएपछि ती नागरिक छतबाट लडेको हुनुपर्छ । हामी अनुसन्धानमै छौँ,’ दाहालले भने,‘एक जनालाई त नियन्त्रणमा लिएका छौँ ।’

उनका अनुसार सुरक्षा गार्डले रोक्दा समेत उनीहरु जवरजस्ती लिफ्ट चढेर होटलको माथि पुगेका थिए ।

तर, घटनाबारे मनाङ होटलका कर्मचारीलाई सम्पर्क गर्दा केही थाहा नभएको जानकारी दिए । होटलका मालिक भनिएका देवेन्द्र गिरीलाई पटक पटक सम्पर्क गर्दा उनले समेत फोन उठाएनन् । घटनाबारे विहान ८ बजे मात्रै प्रहरीले थाहा पाएको थियो । तर, हिजो बेलुका राती नै मदिरा सेवन गरेर होटलमा पुगेका ती नागरिक छतबाट खसेको समेत होटलका कर्मचारीले थाहा नपाउनु रहस्यमयी र शंकाष्पद रहेको छ ।

‘होटलमा सुरक्षागार्ड हुन्छ । त्यसमाथि २४ घण्टा खुल्ने ठमेल बजारको चलेको होटलमा यस्तो दुर्घटना भएको विषय भोली पल्ट विहान मात्रै प्रहरीमा आउनु शंकाष्पद छ,’ स्रोतले भन्यो,‘घटनाको छानबीनमा मनाङ होटल व्यवस्थापनलाई समेत ल्याउनुपर्छ ।’

 

ठूला बडाको उठबस हुने मनाङ होटलका मालिक यसअघि सुन तस्करीमा पक्राउ परेका राप्रपाका नेता भुजुङ गुरुङ थिए । गुरुङ पक्राउ परेपछि उक्त होटलको जिम्मा देवेन गिरीलाई दिइएको थियो । यो होटलमा प्रहरीकै पूर्व हाकिमहरुको लगानी रहेको चर्चा समेत हुने गर्छ । तर, त्यसको यथेष्ट प्रमाण भने फेला परेको छैन ।

सम्बन्धित खबर