दियोपोस्ट सेयर गर्ने सम्पदा अधिकारकर्मीलाई समेत झूटो मुद्दामा फसाउने सुरेन्द्र भण्डारीको प्रयास विफल !

diyopost.com
दियो पोस्ट  सोमबार, बैशाख १२, २०७९ | ०:२२:५२

काठमाडौं । दियोपोस्ट डटकममा प्रकाशित समाचार सामाजिक संजालमा सेयर गरेको भन्दै झूटो मुद्दा लगाउने दुष्प्रयास असफल भएको छ ।

ललितपुरको ऐतिहासिक समय फल्चा निर्माणमा अवरोध गर्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले जिल्ला अदालत ललितपुरका सम्पदा अधिकारकर्मी पृथबिन्दु महर्जन र केशव पुरी विरुद्ध मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाई गर्दै ललितपुर जिल्ला अदालतले आज मुद्दा खारेज गरिदिएको हो । जिल्ला अदालतका न्यायाधीश ऋषीराम निरौलाको इजलाशले मुद्दा खारेज गरेको हो ।

महर्जन र पुरीको तर्फबाट वकालत गरिरहेका अधिवक्ता जुजुकाजी महर्जनका अनुसार गत फागुन ११ गतेको पेशीमा सक्कल प्रमाण झिकाउने आदेश दिएको थियो । अधिवक्ता महर्जनसहितको सम्पदा अधिकारकर्मीहरुले बहसका क्रममा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई मुद्दा लड्ने अधिकार दिइएको भएपनि अदालतमा अर्कै व्यक्तिलाई मुद्दा दर्ता गर्न पठाइएको विषयमा आवाज उठाएका थिए । जिल्ला अदालतले श्री लालीगुराँस सहकारीबाट सक्कल माइन्युट झिकाउने आदेश गरेको थियो । तर, भण्डारीले सक्कल माइन्युट दिनुको सट्टा पछिल्लो पेसी नै स्थगित गराएका थिए ।

आइतबार जिल्ला अदालतमा अघिल्लो आदेश बमोजिम भण्डारीले सक्कल कागजात पेश नगरेपछि मुद्दाको विषयमै प्रवेश नगरि मुद्दा खारेज भएको महर्जनले बताए ।

ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले समय फल्चाको जग्गा हडपेर भौतिक संरचना बनाएको विषयमा दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि सेयर गर्ने सर्वसाधरण विरुद्ध समेत भण्डारीले मुद्दा हालेका हुन् ।

सम्बन्धित खबर