काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको दल नेकपा एकीकृत समाजवादीले विवादित र आर्थिक अनियमितताको आरोपीलाई अछामको साँफेबगर नगरपालिकाको मेयरको उम्मेदवार बनाएको खुलाशा भएको छ ।
चाबहिलमा सिद्धार्थ सेभिङ एण्ड फाइनान्सको नाममा खोलिएको सिद्धार्थ सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा बुद्धरत्न शाहीको नाममा कीर्ते जालसाजी गरेको र ४६ लाख ६१ हजार दुई सय छ रुपैयाँ अनियमितता गरेको आरोप लागेपछि २०७४ सालको स्थानीय निर्वाचनमा उम्मेदवारी खोसिएका शिव बहादुर कुँवर (सिलोज)लाई नेकपा एकीकृत समाजवादीले अछामको साँफेबगर नगरपालिकाको मेयर पदमा उम्मेदवार बनाएको हो ।
कुँवरलाई एमालेले २०७४ सालमा उपमेयरमा उम्मेदवार बनाउने निर्णय गरेको थियो तर उनको बदमासीका बारेमा समाचार प्रकाशित भएपछि एमालेले उनलाई उम्मेदवार बन्न रोकेको थियो तर अहिले एमालेबाट चोइटिएर बनेको नेकपा एसलाई उम्मेदवारको खडेरी परेको बेला उनै कुँवरलाई एक तह बढुवा गरेर मेयर पदको उम्मेदवार बनाएको हो । कुँवर सिद्धार्थ सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष हुन् । उनी साँफेबगरस्थित जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।
उनले अध्यक्षका हैसियतले विद्यालयमा गरेको अनियमितताको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि कञ्चनपुरमा छानबिन चलिरहेको छ भने सहकारीमा भएको अनियमितता अदालतसम्मै पुगेको छ तर पनि त्यही व्यक्तिलाई मेयरको उम्मेदवार बनाउनुपर्ने बाध्यता नेकपा एसलाई किन परेको हो भन्ने कुरोचाहिँ खुल्नसकेको छैन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्ने बताइरहेको बेला कुँवरको उम्मेदवारी परीक्षाको विषय बन्नपुगेको छ ।