चितवनका एसपीमाथि कपडा तस्करसँग सेटिङ गरेको आरोप : राजश्वमा बुझाउनुपर्ने बरामद कपडा तस्करलाई !

diyopost.com
दियो पोस्ट  बुधबार, बैशाख १४, २०७९ | १४:२५:३१

काठमाडौं । नेपाल भारत नाकाबाट अवैध रुपमा भित्रिएको तस्करीको कपडा बरामद गरेपछि चितवन प्रहरीले सुटुक्क छाडेको पाइएको छ । तस्करीका बादशाह रुपमा चिनिने रुन्चे भनिने मदन गुप्ता र राजु थापा राजेन्द्र थापाहरुले तस्करी गरेर ल्याएको एक ट्रक कपडा आज विहानै चितवनको पर्सा प्रहरीले बरामद गरेको थियो ।

स्रोतका अनुसार प्रहरीले ना ६ ख ८९ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । तर, रुन्चे भनिने मदन गुप्ताले चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीलाई आर्थिक प्रभावमा पारेर केहीबेरमै ट्रक गुप्तालाई नै बुझाइदिएका थिए ।
अघिल्लो ट्रक पक्राउ परेपछि विरगन्जबाट आउँदै गरेको अन्य ट्रकका सामान अन्य स्थानमा गुप्ताले लुकाएका थिए । उक्त लुकाएको कपडा फेरी खोज्न जाँदा गुप्ताले प्रयोग गरेको गुण्डाको समुहले कपडा नै नदिएपछि तनाव भएको थियो । गुप्ताले प्रहरी प्रमुख एसपी अधिकारीलाई प्रयोग गरेर उक्त कपडा खोजी गर्न लगाएका थिए । ‘भिसिटिएस नै नगरि ल्याइएका ती कपडाहरु एसपी सापकै निर्देशनमा तस्करीका नाइके मदन गुप्तालाई बुझाइयो,’ चितवन प्रहरी स्रोतले दियोपोस्टसँग भन्यो,‘तस्करी गरेर ल्याइएको कपडाको नक्कली बिल देखाएर फिर्ता पठाइएको छ ।’

जबकी प्रहरीले आफै त्यस्तो अवैध वस्तु फेला पारे फिर्ता गर्न पाउँदैन । राजश्व अनुसन्धान विभागलाई बुझाउनुपर्ने हुन्छ ।

यता चितवन प्रहरी प्रमुखलाई बुधबार विहान बरामद भएको ट्रकको विषयमा प्रश्न गर्दा उनी सुचना कहाँबाट आएको भन्दै दियोपोस्टकर्मीमाथि प्रश्न गर्न थाले । उनले ट्रकबाट कपडा लुटिएको र उक्त लुटपाट घटनाबारे छानबीन चलिरहेको बताए ।

नेपाल भारतको विभिन्न नाकाबाट तस्करी गर्दै आएका मदन गुप्ताले भने आफ्नो सामान गुण्डाहरुल लुटेको बताए । ‘राजश्वको कर्मचारीको नाममा मेरो सामान लुटियो भन्ने आएको छ । म त अस्पतालमा छु । हामी त ट्रान्सपोर्टवाला हो । हामीले प्रहरीको सहारा लिँदैनौँ र,’ गुप्ताले दियोपोस्टसँग भने,‘मेरो कुनै पनि गाडी प्रहरीले नियन्त्रणमा लिएको छैन । हामीले व्यापारीको सामान ल्याएका हौँ ।’

 

 

सम्बन्धित खबर