नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजितका छोराविरूद्ध पनि पुर्जी जारी

दियो पोस्ट  

इन्द्रजित राई

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा इन्द्रजितका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको हो।

मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट प्रहरीले इन्द्रजितलाई पक्राउ गरेको थियो।

उनलाई जिल्ला प्रहरी परिसर ललितपुरसँग समन्वय गरी पक्राउ गरेको हो। निरजलाई भने प्रहरीले फेला पारेको छैन।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार राईले नक्कली भुटानी शरणार्थी बनाउने कुराका लागि गृह मन्त्रालयमा सहजीकरण गरिदिएका थिए।

उनीविरूद्ध बयान तथा प्रमाणहरू पाएपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।